शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

कृषिउपजको मूल्य निर्धारण तथा बजार सुनिश्चितताको माग

शनिबार, माघ २८ २०७९
कृषिउपजको मूल्य निर्धारण तथा बजार सुनिश्चितताको माग

कृषि क्षेत्रको विकासका लागि किसानलाई आवश्यक मल, बीउबिजन आदि समयमै उपलब्ध गराउनु र उत्पादित वस्तुको बजारको ग्यारेण्टी गर्नु राज्यको प्रमुख दायित्व भएको अध्यक्ष बाँस्कोटाको भनाइ थियो।

काठमाडौं-  अखिल नेपाल किसान महासंघले तत्काल स्वदेशी कृषि वस्तुको उचित मूल्य निर्धारण गरी बजारको सुनिश्चितता गर्न माग गरेको छ।

महासंघले शुक्रबार आयोजना गरेको पत्रकारसँगको छलफलमा  महासंघका अध्यक्ष बलराम बास्कोटाले उत्पादनको समुचित बजार र मूल्य नपाउँदा किसान ऋणमा डुब्दै जाने र विचौलिया तथा व्यापारी मोटाउने अवस्था रहेको बताउँदै खाद्य सम्प्रभुताको कार्यान्वयनमार्फत कृषि पेसालाई मर्यादित, आय र रोजगारीमूलक बनाउन सरकार संवेदनशील हुनुपर्ने बताए। 

कृषिमा आधारित अर्थतन्त्र रहेको हाम्रो देशमा बहुसङ्ख्यक जनता कृषिमा संलग्न रहेको उल्लेख गर्दै उनले भने, 'कृषि उत्पादनले संरक्षण नपाउँदा एकातिर कृषि पेसाप्रतिको विकर्षण बढ्दो छ भने अर्कोतिर व्यावसायिक किसानले उत्पादित वस्तुको उचित मूल्य नपाएको अवस्था छ।'

कृषि क्षेत्रको विकासका लागि किसानलाई आवश्यक मल, बीउबिजन आदि समयमै उपलब्ध गराउनु र उत्पादित वस्तुको बजारको ग्यारेण्टी गर्नु राज्यको प्रमुख दायित्व भएको अध्यक्ष बाँस्कोटाको भनाइ थियो।

महासंघका महासचिव प्रमेश पोखरेलले नेपाली किसानको आन्दोलनबाट स्थापित खाद्य सम्प्रभुताको अधिकार भनेको किसानको समृद्धि र कृषि क्षेत्रको रुपान्तरणसँग जोडिएको बताउँदै किसानले आफ्ना उपज सडकमा फ्याँकेर गरेको आन्दोलनबाट सरकार गम्भीर भएर उनीहरुलाई तत्काल बाह्य बजारबाट सुरक्षित गर्नुपर्नेमा जोड दिए। 

किसान संघ संगठनको साझा संस्थाका रुपमा स्थापित उक्त महासंघले मल, बीउ, सिँचाइलगायत समस्याको समाधान गर्न सरकारलाई ध्यानाकर्षण गर्दै आएको छ भने किसानले उत्पादन गरेको वस्तु सडकमा फ्याँक्नुपर्ने अवस्थाप्रति दुःख व्यक्त गरेको छ। महासंघद्वारा ‘स्वदेशी कृषि उत्पादनको प्रवद्र्धन गर  कृषि क्षेत्रलाई खुला बजारबाट सुरक्षित गर’ भन्ने नाराका साथ देशभर विभिन्न अभियान सञ्चालन गरेको जनाइएको छ। रासस


प्रकाशित : शनिबार, माघ २८ २०७९०८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend