शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

बन्दीपुरमा ‘रैथाने बाली र मकै प्रवर्द्धन’ कार्यक्रम

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २७ २०७९
बन्दीपुरमा ‘रैथाने बाली र मकै प्रवर्द्धन’ कार्यक्रम

नेपालका प्रमुख रैथाने बालीमा छिर्केमिर्के सिमी, मार्सीधान, पोखरेली जेठो बुढो, घैयाधान, जोरायल बासमती, दर्माली, गुडुरा, गौरियालगायत पर्छन्।

तनहुँ- बन्दीपुर गाउँपालिकाले रैथाने बाली र मकै प्रवर्द्धन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ। रैथाने बालीको संरक्षण तथा मकै प्रवर्द्धनका लागि कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस किसिमको कार्यक्रम ल्याएको हो।  

आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको ससर्त अनुदानअन्तर्गत वार्षिक स्वीकृत कार्यक्रमअनुसार कृषकसँग आवेदन माग गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। उनका अनुसार रैथाने बालीका लागि १० लाख र मकै प्रवर्द्धनका लागि २० लाख २० हजार गरी कूल ३० लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

गाउँपालिकाभित्र कृषि व्यवसाय एवं सहकारीसम्बन्धी कृषक समूह, कृषि सहकारी संस्था, उद्यमी कृषकलाई आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए। 

कार्यालयमा आवेदन दिँदा संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, निजी फर्मका लागि गत आवसम्म कर बुझाएको प्रमाण, जग्गाको क्षेत्रफल संयुक्त वा हकभोग खुल्ने प्रमाण, प्रतिबद्धता पत्र र आयोजनामा सहभागीका लागि समूह सहकारीको निर्णय पेस गर्नुपर्ने व्यवस्था रहेको छ। 

रैथाने बाली र मकै प्रवर्द्धनका लागि प्रतिब्लक एक सय रोपनी क्षेत्रफल हुनुपर्ने प्रावधान रहेको छ। उनले भने, 'यस कार्यक्रमले उत्पादनमा वृद्वि हुनाका साथै बाली संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ।' रैथाने बालीमा विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसम सुक्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका हुन्छन्। जुन गुणहरू बाली प्रजनन तथा सुधारका लागि महत्वपूर्ण मानिन्छन्। यसका साथै, देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित मानिन्छन्।

रैथाने बाली कुनै ठाउँ विशेषको स्थानीय हावापानीमा पाइन्छ। नेपालका प्रमुख रैथाने बालीमा छिर्केमिर्के सिमी, मार्सीधान, पोखरेली जेठो बुढो, घैयाधान, जोरायल बासमती, दर्माली, गुडुरा, गौरियालगायत पर्छन्। जिल्लामा मुख्य गरी कोदो, मकै फापर, चिनो, भागो, नेपाले भट्ट, सेतो भट्ट, घैयाधान, तीतेफापर कागुनो, गहुँ, उवा, जौ, लट्टेजस्ता रैथाने बालीका रुपमा लिइन्छ। रासस


प्रकाशित : शुक्रबार, माघ २७ २०७९१३:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend