बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्न योजना आयोगसँग परिसंघको छलफल 

बुधबार, माघ २५ २०७९
अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्न योजना आयोगसँग परिसंघको छलफल 

काठमाडौं- नेपाल उद्योग परिसंघले राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग वर्तमान अर्थतन्त्रका चुनौती, समाधानका उपाय, साना तथा मझौला उद्योग एवं निर्माण उद्योगहरुको समस्याको विषयमा छलफल गरेको छ। 

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि थप प्रभावकारी कदमहरु चालिनुपर्ने बताएका छन्।  

क्षेत्रगत रुपमा २० देखि ८० प्रतिशतसम्म मागमा संकुचन आएको र त्यसले उद्योग तथा निर्माण क्षेत्रमा समेत ठूलो धक्का पुगेको अग्रवालले बताए। विकास निर्माणका परियोजनाहरु समयमै र तोकिएकै लागतमा सम्पन्न गराउनुपर्नेमा जोड दिदै उनले त्यसका लागि ‘लो विडिङ’ मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने बताए।

यसैगरी विद्युत खरिद सम्झौता (पीपीए) खुला गर्न, शक्तिखोर तथा मयूरधापलगायत संचालनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा निर्माण तथा संचालन गर्न निजी क्षेत्रलाई अनुमती दिन पनि उनले आग्रह गरे।

परिसंघले चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा समेत उपाध्यक्ष श्रेष्ठसमक्ष पेश गरेको छ। परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्नेतर्फ नै सरकार केन्द्रित रहेको बताए। उनले आन्तरिक उत्पादन तथा रोजगारी बढाउन आवश्यक ठाउँमा ‘इन्टरभेन्सन’ गर्ने बताए। अर्थतन्त्रमा सुधार ल्याउन राजश्व चुहावट नियन्त्रण र औपचारिक माध्यमबाट बढी रेमिट्यान्स भित्र्याउनुपर्ने आवश्यकता देखिएको उनले बताए। अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्दै निजी क्षेत्रलाई नै अर्थतन्त्रको मेरुदण्डका रुपमा अगाडि बढाउनुपर्ने बताए। 

परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ गभर्निङ्ग काउन्सिल सदस्य योगेश्वरलाल श्रेष्ठ, महानिर्देशक दीपकराज जोशीले पनि अर्थतन्त्र सुधारका विषयमा सुझाव दिए। 


प्रकाशित : बुधबार, माघ २५ २०७९१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend