बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हिमपातका कारण दुई विदेशीसहित १० पर्यटक मेरापिक क्षेत्रमा फसे

बुधबार, कात्तिक ३ २०७८
हिमपातका कारण दुई विदेशीसहित १० पर्यटक मेरापिक क्षेत्रमा फसे

हाइक्याम्पमा एक विदेशी पर्यटक, पूर्ण थापा मगरसहित नाम नखुलेका दुई र बेस क्याम्पमा नाम नखुलेका थप दुईजना अलपत्र परेका हुन्। उनीहरु एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरमार्फत मेरापिक आरोहणमा गएका थिए।

सोलुखुम्बु- निरन्तरको वर्षातसँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा दुई विदेशीसहित १० जना पर्यटक मेरापिक क्षेत्रमा फसेका छन्।

जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्ने मेरापिक आरोहण गरेर फर्कने क्रममा मङ्गलबार दिउँसोदेखि उनीहरु हिउँमा फसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख कबित कटवालका अनुसार निरन्तर परेको पानी तथा हिमपातका कारण पाँच हजार ७०० मिटरको मेराला ओडारमा चार, हाइक्याम्पमा चार र पाँच हजार ३०० मिटरको बेसक्याम्पमा दुईजना आरोही फसेका हुन्।

प्राप्त जानकारीअनुसार मेरालामा फसेका चारमध्ये एक बेलायती नागरिक स्टु सियनसहित सोलुखुम्बुका आरोही गाइडहरु पासाङ छिरिङ, छेतेन शेर्पा र पासाङ शेर्पा रहेका छन्। त्यस्तै, हाइक्याम्पमा एक विदेशी पर्यटक, पूर्ण थापा मगरसहित नाम नखुलेका दुई र बेस क्याम्पमा नाम नखुलेका थप दुईजना अलपत्र परेका हुन्। उनीहरु एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरमार्फत मेरापिक आरोहणमा गएका थिए। मौसम प्रतिकूलका बीच पनि उनीहरुको उद्धारका लागि महाकुलुङको खारेबाट सातजना क्लाइम्बिङ गाइड मेराला ओडारमा पुगेका छन्।

एडभेन्चर भिक्टोरी सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार मेराला ओडारमा चारजना बसेको भए पनि उद्धारमा पुगेकाहरुले तीनजनालाई जटिल अवस्थामा भेटेको बताए। हाइक्याम्प र बेसक्याम्पमा रहेकासँग सञ्चित खानेकुरा भए पनि मेराला ओडारमा फसेकाहरुसँग कुनै पनि खानेकुरा नहुँदा समस्या भएको उनको भनाइ छ।

'मेराला ओडारमा भेटिएका तीनजनाको अवस्था जटिल छ भन्ने खबर आयो', कार्कीले भने, 'हिजोदेखि हेलिकप्टर तयारी अवस्थामा राखेर बसियो तर मौसम प्रतिकूल हुँदा समस्या भयो, अहिले पनि म नागरिक उड्डयन प्राधिकरणको कार्यालय काठमाडौँमै छु।' मौसम अनुकूल हुनसाथ उद्धारका लागि हेलिकप्टर पठाइने बताइएको छ। 


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८०९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend