बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नयाँपुल-घान्द्रुक सडक पहिराले अवरुद्ध, बाटोमै रोकिए पर्यटक

बुधबार, कात्तिक ३ २०७८
नयाँपुल-घान्द्रुक सडक पहिराले अवरुद्ध, बाटोमै रोकिए पर्यटक

सडक बन्द भएपछि पोखरादेखि घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविरसम्म जाने पर्यटक बीचबाटोमै रोकिएका हुन्। 

कास्की- जिल्लाको पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिका-११ घान्द्रुक जाने सडक पहिराले अवरुद्ध हुँदा पर्यटक बाटोमै रोकिएका छन्।

अन्नपूर्ण-१० को सादिखोलामा गए राति १० बजे पहिरो गएपछि नयाँपुल-घान्द्रुक सडक अवरुद्ध हुँदा यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। सडक बन्द भएपछि पोखरादेखि घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविरसम्म जाने पर्यटक बीचबाटोमै रोकिएका हुन्। 

उहाँका अनुसार सडक अवरुद्ध भएपछि पोखरा हुँदै घान्द्रुक जाने सवारी साधनलाई बिरेठाँटीमै रोकिएको र घान्द्रुकबाट पोखरा फर्किनेलाई समेत सडक नखुल्दासम्म उतै रहन सूचना जारी गरिएको छ। प्रहरीले पहिरो हटाउन केही समय लाग्ने जनाएको छ। दसैैँको घटस्थापना सुरु भएपछि पर्यटकीय गन्तव्य घान्द्रुक जाने आन्तरिक पर्यटक बढेका थिए। कोरोनाका कारण लामो समय सुनसान बनेको घान्द्रुकमा अहिले आन्तरिक पर्यटक भरिभराउ भएको पर्यटन व्यवसायी किसम गुरुङले बताए।

घान्द्रुक अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर(एविसी) पदमार्गको मुख्य प्रवेशस्थल हो। आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पुग्ने गरेका छन्। घान्द्रुकबाट छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ्रे आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ। 


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८०५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend