बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

समान काम तर असमान ज्याला 

मंगलबार, माघ २४ २०७९
समान काम तर असमान ज्याला 

कैलाली- कैलालीको जोशीपुर गाउँपालिकाकी मञ्जु चौधरी लगातार चार वर्षदेखि स्थानीय पालिकामा रोजगारीका लागि फारम भर्छिन्। तर काम कहिल्यै पाउन सकिनन्। बेरोजगार भएकै कारण उनी जोशीपुरबाट साइकल चलाउँदै कामको खोजीमा टीकापुर पुग्छिन्।

टीकापुर बजारमा घर निर्माण भइरहेका ठाउँमा इँटा बोक्ने, माटो, बालुवा, ढुंगा बोक्ने काम गर्छिन तर दिनभरिको ज्याला साढे चार सयमात्र पाउछिन। 'चार वर्षदेखि घर निर्माणमा खटेका मिस्त्रीसँगै सबै काम गर्छु,' उनी भन्छिन्, '१२ किलोमिटर दैनिक साइकल चलाएर आउँछु, दिनभरि आठ घण्टा बढी काम गर्छु। बेलुका थकानसँगै ४सय ५० रुपैयाँ लिएर घर फर्कन्छु।'

उनीले काम नगरे पेट भर्न समस्या हुने, गरौँ भने निकै श्रम खर्चनु परिरहेको बताइन्। 'अहिले त जवान छु। सकेको गरेर पेट पालेको छु,' उनले भनिन्, 'हाम्रो ज्याला बढाइदिएको भए पनि हुन्थ्यो। हामीलाई सजिलो काम स्थानीयस्तरमै पाए पनि हुन्थ्यो। यसरी कडा श्रम गरेर जीवन कति दिन चलाउन सकिएला?'

घर निर्माण गर्ने ठाउँमै ज्यालादारी गर्ने कृष्णा चौधरी पनि मिस्त्रीको सहयोगीका रूपमा काम गर्छिन्। उनीले कहिले आठ, कहिले नौ घण्टा बढी काम गर्नुपर्छ तर पाउने पारिश्रमिक त्यही चार सय ५० रुपैयाँ नै हो। दिनभरि माटो, ढुंगा र बालुवामा खेल्दा हात काटिने, चोटपटक लाग्ने डर हुन्छ। 'बाध्यता छ, काम नगरी घर चल्दैन, काम गर्दा जोखिम बढी हुन्छ', उनीले भनिन्, 'हिजो हात काटियो, इँटा खसेर खुट्टामा पनि चोट लागेको छ। हात फुट्ने, चोट लाग्नेजस्ता कुरा सामान्य भइसके।'

उनीहरूसँगै घर चिन्ने काम गर्ने पप्पु दासले भने दैनिक आठ सय ज्याला पाउँछन्। उनले आठ वर्षदेखि यही काम गरिरहेका छन्। उनले भने आफ्नो काम कडा हुने र ज्याला महिला र पुरुषको फरक-फरक रहेको बताए। 'मैले घर चिन्ने काम गर्छु, मेरो काम कडा हुन्छ त्यसैले मेरो ज्याला अलि बढी हुन्छ', उनले भने, 'महिलाहरू सहयोगीको काम गर्ने भएकाले उहाँहरूको ज्याला कम हुन्छ।'

महिला र पुरुष कामदारमा पनि विभेद छ। महिला कामदारले चार सय ५० देखि बढीमा ६ सय रुपैयाँसम्म ज्याला पाएका छन्। तर त्यही काम गर्दा पुरुष कामदारले भने  पाँच सय ५० देखि  एक हजार दुई सय रुपैयाँसम्म पाउँछन्। 'महिलालाई तीन खालको ज्याला दिइन्छ। सामान्य काम गर्नेलाई चार सय ५०, मसला बनाउन जानेकालाई  पाँच सय र मिस्त्री काम जानेकालाई त्यसभन्दा बढी ६ सय रुपैयाँसम्म दिने गरेका छौँ', डकर्मी व्यवसायी संगठन टीकापुरका अध्यक्ष देवदास मुन्सीले भने, 'पुरुषको ज्याला  पाँच सय ५० देखि एक हजार दुई सय रुपैयाँसम्म छ। सामान्य काम गर्नेले पाँच सय ५० पाउँछन्, मिस्त्रीको भने  सात सयदेखि एक हजार दुई सय रुपैयाँसम्म छ।' उनका अनुसार धेरै ज्याला पाउने मिस्त्रीले घरको नक्सा हेर्नसमेत जानेका हुन्छन्।

सहरी क्षेत्र होस् या ग्रामीण क्षेत्रमा हरेक वर्ष नयाँ घर निर्माण हुन्छन्। नयाँ घर निर्माण हुँदा काम गर्ने डकर्मी तथा मजदूर खटाइने गरिन्छ। विगतमा कच्ची काठले घर बनाउने, टायल तथा खरले छाउने गरिन्थ्यो तर आजभोलि अधिकांशका घर पक्की बन्छन्।

पक्की बनाउन नसक्नेले पनि घरको छाना जस्तापाता लगाउने गर्छन्। जस्तापाता लगाउन नसक्नेलाई जनता आवासमार्फत सरकारले बनाइदिनेसमेत गरेको छ। यसरी घर बनाउँदा मिस्त्री तथा मजदूर चाहिन्छन्। यसरी मजदूरी गर्नेमा महिला र पुरुषबीच ज्यालामा विभेद गर्न नहुने महिला अधिकारकर्मी निर्मला कडायतको माग छ।

'एउटै काम गर्ने पुरुष पाँच सय ५० रुपैयाँ ज्याला पाउँछ, त्यही काम गर्ने महिलालाई चार सय ५० रुपैयाँ मात्र दिनु विभेद हो', उनले भनिन्, 'मिस्त्री काम जानेका महिलाले पनि ज्याला राम्रो पाउन सकेको देखिँदैन। यसमा स्थानीय सरकारले अनुगमन गर्न आवश्यक छ।'

सरकारले बराबरी कामको बराबरी ज्याला दिन भने पनि कार्यान्वयनको अवस्था कमजोर छ। बाध्यता भएकाहरू कमै ज्याला दिए पनि काम गर्ने भएकाले यसरी बाध्यतामा काम गर्नेका विषयमा गम्भीर भएर सरकारले ज्यालामा भएको विभेद अन्त्य गर्न आवश्यक रहेको सरोकारवाला बताउँछन्। रासस


प्रकाशित : मंगलबार, माघ २४ २०७९०४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend