शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २३ २०७९
तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी

तोरीखेतीका लागि पकेट क्षेत्र मानिएका स्थानीय तहहरू कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोटमा तोरी उत्पादन बढ्ने देखिएको हो।

नवलपरासी- पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ। यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताए।

विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी आए पनि यस वर्ष उत्पादन बढ्ने भएपछि तोरीखेती गर्ने किसानसमेत खुसी भएका छन्। उनका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय ८५ हेक्टर जमिनमा तोरीखेती गरिएकामा एक हजार दुई सय ८५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान छ। गत वर्ष जिल्लामा एक हजार एक सय ३५ हेक्टर जमिनमा एक हजार दुई सय ३७ मेट्रिक टन तोरी उत्पादन भएको थियो।

तोरीखेतीका लागि पकेट क्षेत्र मानिएका स्थानीय तहहरू कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोटमा तोरी उत्पादन बढ्ने देखिएको हो। विषेशगरेर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा हिउँदे खेतीका रूपमा गरिने गहुँखेती गैँडालगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम केही वर्षयता बढेसँगै किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन्।

पछिल्लो समय तेलको मूल्य दोब्बरको हाराहारीमा वृद्धि भएसँगै किसानले घरायासी प्रयोगका लागि तोरीखेती गर्न लागेका सूचना अधिकारी पौडेलले बताए। तेलसँगै किसानले उत्पादन गरेको तोरीको मूल्य पनि बढेको र वन्यजन्तुले पनि कम क्षति पुर्‍याउने भएकाले तोरीखेती गर्ने किसानको सङ्ख्या बढेको सूचना अधिकारी पौडेल बताउँछन्।

जिल्लामा तोरीसँगै यस वर्ष अर्को तेलहन बाली सस्र्युँको उत्पादन पनि बढ्ने देखिएको छ। यस वर्ष जिल्लामा एक हजार दुई सय ६० हेक्टर जमिनमा एक हजार सात सय १५ मेट्रिक टन सर्स्युं उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताए। उनका अनुसार गत वर्ष जिल्लामा एक हजार दुई सय ७० हेक्टर जमिनमा एक हजार सात सय आठ मेट्रिक टन सर्स्युं उत्पादन भएको थियो।

कृषि ज्ञान केन्द्रलगायत जिल्लाका स्थानीय तहले किसानका लागि प्राविधिक सहयोगको व्यवस्था गरेका तथा सिँचाइ, मल र बीउको सहज उपलब्धता तथा रोगको प्रकोप घटेको र मौसमले साथ दिएका कारणले तोरीलगायतका तेलहन बालीको उत्पादन बढेको हो। रासस


प्रकाशित : सोमबार, माघ २३ २०७९०५:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend