शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

वडाले जग्गा लिजमा लिएर किसानलाई दिने

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ २१ २०७९
वडाले जग्गा लिजमा लिएर किसानलाई दिने

किसानलाई त्यो जग्गामा फलफूल तथा तरकारी खेती गर्नुपर्नेछ। उत्पादन भएको तरकारी बजारीकरण गर्ने जिम्मा पनि वडाले नै लिने छ।

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका-११ ले वडाका गरिब परिवारलाई लिजमा जग्गा दिने भएको छ। छ महिनासम्म खाना नपुग्ने गरिब घरपरिवार पहिचान गरी प्रत्येक परिवारलाई पाँच कट्ठाका दरले जग्गा दिने भएको छ। 

वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० बिघा जग्गा लिजमा लिएर किसानलाई उत्पादनका लागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताए। 'हाम्रो वडामा अधिकांश खेती किसानी गरेर जीवन निर्वाह गर्ने समुदाय छ', उनले भने, 'उहाँहरुको जीवन निर्वाहकालागि हामीले यो योजना अघि बढाएका हौँ।' 

त्यसका लागि सूचनासमेत प्रकाशन गरिएको छ। फागुन महिनासम्म सूचना आह्वान गरिएको र त्यसपछि गरिब घरपरिवार तथा बेरोजगारको मूल्याङ्कन गरेर जग्गा दिने उनको भनाइ छ। 'हामीले प्रत्येकलाई पाँच कट्ठा जग्गा दिने छौँ', अध्यक्ष रावतले भने, 'त्योबापत कुनै रकम पनि लिइनेछैन।'

किसानलाई त्यो जग्गामा फलफूल तथा तरकारी खेती गर्नुपर्नेछ। उत्पादन भएको तरकारी बजारीकरण गर्ने जिम्मा पनि वडाले नै लिने छ।

उत्पादन भएको तरकारी बजारीकरणमा पनि उत्तिकै समस्या रहने गरेको भन्दै त्यसलाई बजारीकरणमा पनि वडाले नै जिम्मा लिने उनले बताए। बीउ, मलमा पनि सहयोग गर्ने उनले बताए। त्यहाँ करिब २० बिघा क्षेत्रफलमा सिँचाइ गर्न जलाशय निर्माण भएको र त्यसलाई लिफ्टमार्फत खेतमा पुर्‍याउने तयारी छ। करिब ३० लाखमा त्यहाँ जलाशय निर्माण गरिएको हो।  

वडाले किसानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। केही समय अघि उत्पादित कृषिजन्य वस्तु घोडामार्फत बजार लैजाने व्यवसायीलाई प्रोत्साहनस्वरुप १० हजार उपलब्ध गराइएको थियो। त्यस्तै भैँसीपालन व्यवसायीलाई पनि प्रोत्साहन गर्ने तयारी रहेको वडाध्यक्ष रावतले बताए। व्यावसायिकरुपमा भैँसीपालन व्यवसाय गरेकालाई दानाका लागि सहयोग गर्ने उनले  बताए। रासस


प्रकाशित : शनिबार, माघ २१ २०७९०४:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend