बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लक्ष्मी समूह दुईपांग्रेको व्यापारमा प्रवेश, ल्यायो हिरो इलेक्ट्रिक

बुधबार, कात्तिक ३ २०७८
लक्ष्मी समूह दुईपांग्रेको व्यापारमा प्रवेश, ल्यायो हिरो इलेक्ट्रिक

लक्ष्मी समूह अन्तर्गतको नयाँ कम्पनी लक्ष्मी इ-मोबिलिटीले भारतीय कम्पनी हिरो इलेक्ट्रिकले उत्पादन गरेका विद्युतीय स्कुटर नेपाल ल्याएर परीक्षण गरिरहेको छ।

काठमाडौं- पोखराबाट दुग्द्यजन्य पदार्थबाट व्यवसाय सुरु गरेको लक्ष्मी समूह लामो सयमदेखि सवारी साधनको व्यवसायमा छ। सुरुमा पोखरामा हुन्डाईको सोरुम सञ्चालन गरेको यो समूह सन् २००९/१० मा हुन्डाईको आधिकारिक बिक्रेता बनेको थियो।

त्यसयता लक्ष्मी समूह सवारी बिक्रीमा आक्रामक हुँदै आएको छ। प्यासेन्जर कार हुँदै निर्माण उपकरण तथा कमर्सियल गाडीको बिक्री गर्दै आएको लक्ष्मी समूह दुईपांग्रे सवारीको बजारमा पनि प्रवेश गरेको छ। पछिल्लो समय सवारीसाधनको आधिकारिक बिक्रेता बन्नु व्यवसायिक घरानाको प्रतिष्ठाको विषयजस्तै बनिसकेको छ। 

चर्चित कार, मोटरसाइकल, ठूला सवारीसाधन तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता बन्दा राम्रो मुनाफा हुने र लगानीको जोखिम ज्यादै न्यून हुने भएको घरानाहरुको आँखा यो क्षेत्रमा तेजिलो हुँदै आएको छ। त्यस्तै तेज पछिल्लो पटक लक्ष्मी समूहले दुईपांग्रे सवारीमा लगाएको छ। अबको भविष्य विद्युतीय सवारीमा भएकाले यो समूहले विद्युतीय स्कुटरको आयात गरेको हो। 

लक्ष्मी समूह अन्तर्गतको नयाँ कम्पनी लक्ष्मी इ-मोबिलिटीले भारतीय कम्पनी हिरो इलेक्ट्रिकले उत्पादन गरेका विद्युतीय स्कुटर नेपाल ल्याएर परीक्षण गरिरहेको छ। समूहले दुईपांग्रे व्यापारका लागि नयाँ कम्पनी स्थापना गरेर हिरो इलेक्ट्रिकका स्कुटर ल्याएर परीक्षण थालेको हो। 

परीक्षण सफल भएसँगै कम्पनीले डिलर नेटवर्क बनाउने र काठमाडौंमा सोरुम खोल्ने तयारी गरिरहेको छ। नेपाली बाटो अनुसार स्कुटरको रेन्ज, क्षमता नपुगे हिरो इलेक्ट्रिकलाई आग्रह गरेर परिमार्जन गरि ल्याउने योजना कम्पनीले बनाएको छ। 

‘हिरो इलेक्ट्रिकका स्कुटर नेपाल भित्रिएका हुन्,’ लक्ष्मी इ-मोबिलिटीका दीपेन्द्रलाल कर्णले बिजनेस न्युजसँग भने, ‘यो के कसो भन्ने बारेमा मैले अहिले धेरै भन्न मिल्दैन।’    

‘हिरो इलेक्ट्रिकसँग आधिकारिक बिक्रेताको सम्झौता भइसकेको छ। पहिलो चरणमा केही स्कुटर ल्याएर नेपालको बाटोमा परीक्षण गरिरहेका छौँ,’ लक्ष्मी इ-मोबिलिटी सम्बध एक कर्मचारीले बिजनेस न्युजसँग भने, ‘परीक्षण पछि परिमार्नज गर्नुपर्ने भए कम्पनीलाई आग्रह गरेर हामीले भने अनुसारको स्पेसिफिकेशन राखेर स्कुटर आयात गर्ने तयारी छ।’ 

लक्ष्मी सूमहले यो सबै तयारी पूरा गरेर हिरो इलेक्ट्रिकका स्कुटर बिक्रीका लागि बजारमा ल्याउन ४ देखि ५ महिना लाग्ने अनुमान गरेको छ। नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय स्कुटर उपलब्ध रहेका छन्। 

लक्ष्मी इ-मोबिलिटीले हिरो इलेक्ट्रिकका तीन मोडल नेपाल ल्याएर परीक्षण गरिरहेको छ। पहिलो चरणमा नेपाल भित्र्याएका तीन मोडलका ३५ वटा विद्युतीय स्कुटरहरु टेकूस्थित भेइकल फिटनेस टेस्ट सेन्टरबाट परीक्षण स्वीकृति पाएको कम्पनीले जनाएको छ। 

Nyx db.png

हिरो इलेक्ट्रिकका अप्टिमा एचएक्स डुवल ब्याट्री, फोटोन एचएक्स र एनवाईएक्स एचएक्स डुवल ब्याट्रीसहितका मोडल लक्ष्मी इ-मोबिलिटीले भित्र्याएको हो। हिरो इलेक्ट्रिक फोटोन एचएक्सको भारतीय बजारमा ७४ हजार २ सय ४० भारु मूल्य रहेको छ। त्यस्तै अप्टिमा एचएक्स डुवल ब्याट्रीको ६५ हजार ६ सय ४० भारु र एनवाईएक्स एचएक्स डुवल ब्याट्रीको ६७ हजार ५ सय ४० भारु रहेको छ। यी स्कुटरको नेपाली बजार मूल्य कति पर्छ भन्ने कुरा केही समयपछि टुंगो लाग्ने कम्पनीले जनाएको छ। 

Optima hx.png

लक्ष्मी समूह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका कार, लक्ष्मी प्रिमियले बीएमडब्लूका कार र लक्ष्मी कमर्सियलले एसएमएल इसुजुका ट्रक/बस तथा हेवी इक्युपमेन्ट बिक्री गर्दै आएको छ। त्यस्तै यो समूहले लुब्रिकेन्ट तथा टायरसमेत बिक्री गरिरहेको छ। 

Photon hx.png


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८०२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend