बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वर्षा र बाढीले तनहुँमा धान उत्पादन २० प्रतिशत घट्ने

मंगलबार, कात्तिक २ २०७८
वर्षा र बाढीले तनहुँमा धान उत्पादन २० प्रतिशत घट्ने

शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा पनि वर्षाले धानबालीमा क्षति पुर्‍याएको छ। नगरपालिकाका कृषि शाखाप्रमुख नवराज पण्डितले काटेर राखेको साढे चार सय रोपनीको धान पानीले बिगारेको जानकारी दिए।

तनहुँ- केही दिनदेखि परेको वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा धानबालीमा क्षति पुगेको छ। वर्षाले काटेर राखेको धान नष्ट बनाएको छ भने काट्न बाँकी रहेको धान डुबाएको कृषकले बताएका छन्।

व्यास नगरपालिका-११ पोल्याङका किसान राजेन्द्र पौडेलले काटेर थन्क्याउन बाँकी रहेको धान पानीले क्षति पुर्‍याएको जानकारी दिए। चार रोपनी क्षेत्रफलमा लगाइएको धानमध्ये डेढ रोपनीको धान काटेर भित्र्याउन बाँकी रहेको बेला पानीले क्षति बनाएको बताए। 

'एक रोपनीको धान झाटेर थन्क्याइसके, बाँकी डेढ रोपनीको काटेर मात्रै राखेको थिएँ, पानीले बिगार्‍यो,' उनले भने। कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको नयाँ प्रजातिको धान भएकाले छिटो पाकेको उनले बताए। 'यहाँ अरू कृषकको धान पाकेको छैन, मैले नयाँ प्रजातिको धान लगाएको थिएँ छिटो पाक्दो रहेछ,' उनले भने। पौडेलका अनुसार काट्न बाँकी रहेको धान भने खेतमै रहेको छ। 

शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा पनि वर्षाले धानबालीमा क्षति पुर्‍याएको छ। नगरपालिकाका कृषि शाखाप्रमुख नवराज पण्डितले काटेर राखेको साढे चार सय रोपनीको धान पानीले बिगारेको जानकारी दिए। 'काटेर खेतमै छाडिएको धान पानीले बिगारेको छ, घाम लागेर सुक्यो भने काम आउला,' उनले भने, 'सुकेपछि उठाउँदा झर्ने सम्भावना पनि हुन्छ।'

दुई दिनको वर्षाले जिल्लाका अधिकांश ठाउँमा धान बिगारेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार जिल्लाको व्यास, शुक्लागण्डकी, म्याग्दे, आँबुखैरेनी लगायतका धानखेतमा वर्षाले नोक्सान गरेको छ। 'यो वर्ष करिब २०/२५ प्रतिशत धान उत्पादन घट्ने अनुमान छ,' उनले भने। 

केन्द्रका अनुसार जिल्लामा ११ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। त्यसमध्ये दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैतेधान हुने गरेको छ । गत वर्ष एक लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ। जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्रहरु धान खेतीका लागि प्रख्यात मानिन्छन्। 


प्रकाशित : मंगलबार, कात्तिक २ २०७८११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend