शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

कर्णालीमा हिमपात, किसानलाई राहत

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १० २०७९
कर्णालीमा हिमपात, किसानलाई राहत
फाइल तस्बिर

तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ। यस्तै, जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटका उच्च भेगमासमेत हिउँपात भएको छ।

जुम्ला- जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा भारी हिमपात भएसँगै यहाँका किसानलाई राहत भएको छ। यो वर्षको हिउँदमा जुम्लामा पहिलो पटक आज बिहान ५ बजेबाट हिमपात भएको चन्दननाथ नगरपालिकाका सुनिता पाण्डेले बताइन्। 

दक्षिणी र पश्चिमी वायुको प्रभावका कारण कर्णालीलगायत पश्चिम नेपालभर वर्षात भएको छ। हिउँ पर्न थालेपछिको जुम्लाको जनजीवन कष्टकर बनेको छ। जिल्लाको उच्च ठाउँमा दुई देखि तीन फिटसम्म हिउँ जमेको छ। 

यहाँको तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ। यस्तै, जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटका उच्च भेगमासमेत हिउँपात भएको छ। हिउँ परेपछि सदरमुकाम खलङ्गाको बजार बन्द भएको छ। यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन्। 

जनजीवन कष्टकर भएपनि हिमपातका कारण हिउँदे बालीलाई भने राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीको भनाइ छ। स्याउका नयाँ बिरुवा लगाउने समयमा हिउँ परेकोले किसानलाई फाइदा भएको कार्यालयको भनाइ छ। 

हिउँ पोखरी बनाएका किसानलाई हिउँ सङ्कलन गर्न र नयाँ बाली लगाउन उपयुक्त हुने सिञ्जा गाउँपालिका कृषि शाखाका प्रविधिक दलवीर वडले बताए। हिमपातपछि जुम्लालगायत कर्णालीको हवाई  विमानस्थल बन्द भएको छ। 

धावनमार्गमै हिउँ जमेपछि आज बिहान कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुम्लाले जनाएको छ। जिल्लाबाट चल्ने लामो तथा छोटो दुरीका यातायातकासाधन चल्न सकेका छैनन्। हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावर र  विद्युत् सेवा समय समयमा अवरोध भइरहेको छ। रासस


प्रकाशित : मंगलबार, माघ १० २०७९०८:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend