बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चामल उत्पादन गर्ने तीन उद्योगमा सवा अर्बभन्दा बढीको लगानी प्रतिबद्धता

बुधबार, पुस २७ २०७९
चामल उत्पादन गर्ने तीन उद्योगमा सवा अर्बभन्दा बढीको लगानी प्रतिबद्धता

काठमाडौं- नेपालमा धानको उत्पादनमा खासै सुधार नआए पनि चामल उद्योगमा भने लगानीकर्ताको आकर्षण देखिएको छ। चालु आर्थिक वर्षको साढे पाँच महिनामै तीनवटा चामल उत्पादन उद्योगमा लगानी प्रतिबद्धता आएको छ।

उद्योग विभागका अनुसार साढे पाँच महिनामै १ अर्ब २९ करोड १३ लाख ७५ हजार रुपैयाँको लगानी प्रतिबद्धतासँगै तीनवटा चामल उत्पादन उद्योग दर्ता भएको छ। जसमा २० करोडको लगानीमा रुपन्देहीमा राइजिङ्ग सन एग्रो इन्डष्ट्रिज प्रालि दर्ता भएको छ। उद्योगमा सतप्रतिशत नेपाली लगानी रहनेछ। उद्योगमा ८३ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। उद्योगले वार्षिक ४६ सय मेट्रिक टन चामल उत्पादन गर्ने लक्ष्य लिएको छ। साथै उद्योगले चामलबाटै बने विभिन्न बस्तु उत्पादन गर्ने लक्ष्य लिएको छ।

यसैगरी ६२ करोड रुपैयाँको लगानीमा बाँकेको नेपालगञ्जमा  वार्षिक ३० हजार मेट्रिक टन भन्दा बढी चामल उत्पादन गर्ने गरी  ग्लोबल फुड पार्क प्रालि दर्ता भएको छ। उद्योगको दर्ता विवरणमा  १ सय ४० जनाले रोजगारी पाउने उल्लेख छ।

यसैगरी रुपन्देहीमै ४९ करोड १३ लाख ७५ हजार रुपैयाँको लगानीमा वार्षिक ४० हजार मेट्रिक टन चाम उत्पादन गर्ने गरी जयहरि एग्रो प्रालि दर्ता भएको छ। उद्योगमा ३९ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ।

गत आर्थिक वर्षमा भने ८ वटा चामल उत्पादन गर्ने गरी उद्योग दर्ता भएको थियो।  गत वर्ष साढे   ४ अर्बको लगानी प्रतिवद्धतासँगै ८ वटा उद्योग दर्ता भएका थिए। उद्योगमा आकर्षण देखिएपनि चाम खपतमा भने कमी आएको छ। चामलको बजार माग भने पछिल्लो सम‍य ४० प्रतिशतले घटेको विभिन्न सर्वेक्षणले देखाएको छ।

हाल नेपालमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.८ टन छ। वर्षको करिब २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुन्छ। अपुग धान चामल छिमेकी मुलुकबाट करिब ५० अर्ब बराबर आयात हुन्छ। आयातको ग्राफ वर्षैपिच्छे बढ्दै गएको छ। आयातलाई प्रतिस्थापन नगरेसम्म आर्थिक सूचनाहरूलाई सुधार गर्न सकिँदैन। अबको अभियान भनेको उत्पादकत्वलाई बढाएर आयातलाई प्रतिस्थापन गर्नु नै अन्तिम विकल्प भए पनि उत्पादनभन्दा पनि प्रशोधनमा मात्र सबैको चासो देखिएको छ।


प्रकाशित : बुधबार, पुस २७ २०७९०५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend