शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

जुम्लामा रैथाने कागुनोको माग बढ्दो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २६ २०७९
जुम्लामा रैथाने कागुनोको माग बढ्दो

जुम्ला- जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ। यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो। जिल्लाका किसानले विस्तारै सो खेती गर्न छाडेको तिला गाउँपालिका किसान बिमला नेपालीले बताइन्। 

कागुनोको उत्पादन कम भए पनि माग बढेको जुम्ला सदरमुकाम खलङ्गामा रहेको रारालिही अर्ग्यानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए। किसानले ल्याएको कागुनोको चामल अत्यधिक बिक्री हुने गरेको छ। कागुनोको चामलको माग पूरा गर्न नसकिएको यहाँका अर्ग्यानिक पसलका सञ्चालक बताउँछन्।

'गतवर्ष पनि माग राम्रपनि माग हुने गरेको थियो तर यो वर्ष व्यवसायीहरु किसानका घरमै पुगेर खरिद गरी बिक्री गरिरहेका छन्', उनले भने।

कर्णाली राजमार्ग हुँदै रारा घुम्न आउने पर्यटकले कागुनोको चामल खोजीखोजी लिने गरेको चन्दननाथ अर्गानिक पसलका कर्मचारी लक्ष्मी कुमाइले बताइन्। विदेशी पर्यटकले समेत कागुनोको चामल लैजाने गरेका छन्। 

चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाका प्रबन्धक ऋषिराम पाण्डेले भने, 'कागुनो कुट्ने मेसिन उपलब्ध नहुँदा किसानले समस्या हुने गरेको छ।  बाहिरी जिल्लाबाट आन्तरिक पर्यटनको प्रमुख रोजाइँ कागुनो चामल छ।' कागुनोको भात, यसलाई पिसेर पिठो बनाइ रोटी तथा ढिँडो बनाइ खान मिल्ने चन्दनाथ सहकारीका प्रबन्धक पाण्डेले जानकारी दिए। 

कागुनो समुद्री सहतदेखि दुई हजार मिटरमाथिको उचाइसम्म उत्पादन हुन्छ। उन्नत जातको कागुनोको विकास गर्न स्थानीय कागुनोका जातहरु सङ्कलन गरी उत्कृष्ट जातको पहिचान गर्न अनुसन्धान भइरहेको कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले जनाएको छ। कागुनो प्रायः फागुनमा मकैसँगै छरिने र छिटो पाक्ने अन्नमा पर्छ। 

जुम्लामा १५ हेक्टरमा कागुनो खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिए। जिल्लाका स्थानीय तहले पनि कागुनो खेतीलाई संरक्षण गर्नेका लागि कुनै कार्यक्रम लागू नगरेको यहाँका किसान बताउँछन्। रासस


प्रकाशित : मंगलबार, पुस २६ २०७९०७:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend