शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १७ २०७९
अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु

काठमाडौं- संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले आइतबार उक्त कार्यक्रमको शुभारम्भ गरेको छ।

कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो। कोदोजन्य बालीमा कोदोका अतिरिक्त चिनो, कागुनो, जुनेलो, बाजरा र साँवा पर्छ। खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्न बालीका रुपमा कोदोलाई लिइँदै आएको छ। 

भारतको प्रस्तावमा ६५ भन्दा बढी एसियाली र अफ्रिकी मुलुकको समर्थनमा राष्ट्रसङ्घले यो वर्षलाई कोदोजन्य वर्षका रुपमा मनाउने निर्णय गरेको हो। ‘खाद्यपोषण सुरक्षा र वातावरण तथा ग्रामीण रुपान्तरणको कोदोजन्य बाली’ भन्ने मूल नाराका साथ नेपालमा पनि यस वर्ष कोदो बाली वर्ष मनाउन लागिएको हो।

कृषि विभागद्वारा आइतबार ललितपुरमा आयोजित कार्यक्रम विभागका महानिर्देशक रेवतीरमण पोखरेलले लामो समयसम्म नकुहिने र नबिग्रने कोदो खाद्य सुरक्षाका हिसाबले निकै महत्वपूर्ण रहेको बताए।

मन्त्रालयका अनुसार आव २०७४/७५ मुलुकमा तीन लाख १३ हजार नौ सय ८७ मेट्रिक टन कोदो उत्पादन भएको थियो। देशको कूल खाद्यान्न बालीको क्षेत्रफलको ७ दशमलव ७ प्रतिशत हिस्सा ओगट्दै आएको छ। नेपालको तराईदेखि समुद्र सतहदेखि तीन हजार एक सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो खेती गरिन्छ।

मुलुकको ७७ जिल्लामा कोदो खेती गरिने भए पनि खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुङ्गा र गोरखाका धेरै क्षेत्रफलमा कोदो खेती हुने गरेको छ। विश्वमा कोदोजन्य बाली उत्पादनमा भारत पहिलो नम्बरमा छ भने नेपालको स्थान १३ औँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा नेपालले करिब रु चार करोड बराबरको कोदो आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

कोदोको उत्पादन कम वर्षा र कम उर्वर भूमिमा पनि हुने भएकाले सिञ्चित र असिञ्चित दुवै खाले भू-भागमा लगाइने महत्वपूर्ण बाली हो।

परम्परागतरुपमा खासगरी ढिँडो, रोटी र रक्सीमा प्रयोग हुने कोदो सहरबाहिर ग्रामीण भेगमा भने कडा परिश्रम गर्ने श्रमजीवीको पहिलो रोजाइको खाना हो। पछिल्लो समय कोदोको ढिँडो तारे होटलको मेनुमा महत्वपूर्ण सूचीमा पर्दै आएको छ।

सरकारले कोदोजन्य उत्पादन प्रवर्द्धन गर्न मुलुकका एक सय ३३ भन्दा बढी पालिकालाई लक्षित गरी वार्षिक २२ करोड रकम विनियोजन गर्दै आएको छ। मधुमेह, रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र पखालाका रोगीका लागि पनि कोदो राम्रो खाना मानिन्छ। पौष्टिक खाद्य तत्वका हिसाबले कोदो अन्य खाद्यबालीभन्दा धेरै गुणकारी मानिँदै आएको छ। कोदोजन्य खाद्यबालीको विकासमा क्रियाशील चन्द्रकान्त चौधरी, शुभबहादुर घलान, तिलक ढकाल र सुमन दाहाललगायतले कोदोका परिकारलाई विविधीकरण गर्दै राष्ट्रिय गौरवका आयोजनाका रुपमा अघि बढाइनुपर्ने तर्क प्रस्तुत गरे।

मुलुकमा अरुण, भदौरे, चरिकोटे, चुल्ठे, च्याल्से, चाल्ठे, डल्ले, सेतो दुधे, झुप्पे, कलोबुङे, कात्तिकैलगायत ५० भन्दा बढी जातका स्थानीय तथा उन्नत जातका ओख्ले, डल्ले, काभ्रे, सैलुङ कोदो लगाउने गरिएको छ। अरू खाद्य बालीका तुलनामा कोदोमा कम रोग लाग्ने विज्ञहरु बताउँछन्। मुसा, बाँदर र मृगलगायत जङ्गली जनावरबाट बाली जोगाउन निकै चुनौती रहेको कृषकको गुनासो छ।

पछिल्लो समय कोदोका मोःमोः सबैको रोजाइमा पर्दै आएको छ। रोपेको चारदेखि पाँच महिनामा बाली भित्र्याउन तयार हुने कोदोको मुलुकमा औसत उत्पादनप्रति हेक्टर १ एक दशमलव १ मेट्रिक टन रहेको विभागले जनाएको छ। पछिल्लो समय कोदो गाउँ र सहरलाई जोड्ने महत्वपूर्ण खाद्यवस्तु र परिकार बनेको छ। रासस


प्रकाशित : आइतबार, पुस १७ २०७९११:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend