शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

‘चक्लेटी’ स्वादको चिया

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २० २०७९
‘चक्लेटी’ स्वादको चिया

नेपालमा चियाखेती हुन थालेको डेढ शताब्दी भइसकेको छ। विसं १९२० मा कर्णेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको बिरुवा इलाममा रोपेपछि नेपालमा चियाखेतीको सुरुआत भएको मानिन्छ। 

मंगलबारे-  हामीले चियालाई कसरी बुझेका छौं? कतिले चियालाई दूध लगाएको र दूध नलगाएको चिया भनेर मात्र बुझेका हुनसक्छौँ। केहीले दूध नलगाएको चियामा कागतीसहितको चियासमेत बुझेका हुनसक्छौँ तर चियाका धेरै स्वाद छन्। चियाबाट अनेक स्वाद लिन सकिने चियाका पारखी तथा चिया उद्योगीको भनाइ छ। इलाममा उत्पादन भएको चिया स्वादिष्ट भएकै कारण विदेशसमेत निर्यात भइरहेको छ। 

स्वाद र सन्तुष्टिका लागि लिइने चिया अधिकांश नेपालीले बिहान उठ्ने बित्तिकै पिउने गरेको पाइन्छ। साथै अतिथि सत्कार तथा पाहुनालाई समेत घरमा आउँदा चियाले नै स्वागत गर्ने गरिएको छ। त्यस्तै पाहुना लाग्न बाहिर जाँदा कोसेलीसमेत चिया नै बोकेर जाने चलन छ। 

पछिल्लो समय चियाको स्वादसँगै मूल्यसमेत निकै महँगो हुँदै गएको छ। सरदर चार सयदेखि ४० हजारसम्म प्रतिकिलो चिया बिक्री वितरण हुने गरेको किसान तथा उद्योगीको भनाइ छ। हाते चिया बजारमा सस्तो मूल्यमा बिक्री वितरण हुन्छ। हाते चिया किसानले घरमा नै बनाउने गरेका छन्। यो चिया विशेष गरेर दूधसँग मिसाएर पिउने गरिन्छ तर ग्रीन टी, ब्ल्याक टी, सिल्भर टीलगायतका उत्पादन उद्योगबाट मात्र हुने गरेको छ। विदेशमा समेत राम्रो मूल्यमा निर्यात हुने यी चिया मेसिनबाट मात्र बनाउन सम्भव छ। 

इलाम देउमाईका किसान तथा उद्योगी बबिन श्रेष्ठले नयाँअर्थात् चक्लेटी चिया बनाउँदै आएका छन्। उनले चियालाई केही फरक स्वादमा निकाल्ने कोसिस गरेको बताउँछन्।  यो चिया विशेषगरी भुटिएको वा खारिएको चियाजस्तै लाग्छ तर प्रशोधन गरिएको चियाको नयाँ स्वाद भएकाले उनी आफैँले चक्लेटी चिया नाम दिएका छन्।

अन्य चियाभन्दा केही फरक गरी बनाइएको चियालाई चक्लेटी चिया नाम दिइएको उनको भनाइ छ। देउमाई नगरपालिका–४ मा रहेको हिमशिखर चिया प्रशोधन उद्योगमार्फत उनले चक्लेटी चिया उत्पादन गर्दै आएका छन्। विशेष गरेर सो उद्योगमा उत्पादन भएको चिया रसिया जाने गरेको छ। करिब चार हजार प्रतिकिलो उद्योगमा नै आएर सो देशका व्यापारी तथा नागरिकले चिया लैजाने गरेको उद्योगी श्रेष्ठको भनाइ छ।  उनले केही वर्ष अघिदेखि सो उद्योगमा उक्त चिया प्रशोधन गर्दै आएका छन्।

स्वादमा फरक भएका कारण पनि चिया पारखीले यसलाई मन पराउने गरेको उनले बताए। यो चिया कोरोनाकालको लकडाउन समयमा बाहेक सधैँ रसिया नै जाने गरेको छ। नेपालमा खासै बेच्न नपरेको उनको भनाइ छ। रसियाका लागि व्यापारी तथा चिया पारखी आफैँ आएर लजाने हुँदा मागअनुसार मात्रसमेत बनाइने गरेको छ। यो पनि सिल्भर र गोल्ड गरेर दुई प्रकारका चिया पाइन्छ। 

हुन त ग्रीन टी पनि सिल्भर र गोल्डेन गरेर दुई प्रकारका स्वादमा पाइन्छ तर यो चिया विदेशी प्रायः सबै देशका नागरिकले मन पराउने गरेको उनको भनाइ छ। इलाममा चियाका धेरै परिकार निर्माण हुन्छन्। ‘येल्लो टी’, ‘ह्वााइट टी’, ‘सिल्भर टी’, ‘ग्रिन टी’, ‘स्पेशल ग्रिन’ र यिनमा पनि सिल्भर र गोल्ड गरेर चिया निर्माण हुन्छन्। यी चियाको स्वादसँगै मूल्यसमेत फरक पर्ने गरेको छ। 

सामान्य चिया बेच्न भारतकै भर पर्नुपर्ने समस्या छ तर विशेष प्रकारको चिया खरिदमा विभिन्न मुलुकबाट व्यापारी आउने गरेका छन्। राम्रो मूल्यसहित राम्रो चिया तेस्रो मुलुक निर्यात भइरहेको छ। नेपालको चिया निर्यातका लागि आफ्नै लोगोसमेत छ तर साना उद्योगले लोगो पहुँचवालाको लागि मात्र भएको दुःखेसो गर्दै आएका छन्। 

नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ। नेपालमा चियाखेती हुन थालेको डेढ शताब्दी भइसकेको छ। विसं १९२० मा कर्णेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको बिरुवा इलाममा रोपेपछि नेपालमा चियाखेतीको सुरुआत भएको मानिन्छ। 

त्यस अगाडि चिया रोपण भएको कुनै जानकारी छैन। कर्णेल थापा जङ्गबहादुर राणाका ज्वाइँ थिए। उच्च ओहदाका चिनियाँ व्यक्तिबाट उपहार प्राप्त भएको चियाको बिरुवा जङ्गबहादुरको आदेशमा इलामका तत्कालीन बडाहाकिम तथा कर्णेल गजराजलाई भएपछि सो चिया रोपिएको बताइएको छ। नेपालमा सोपश्चात् चियाखेतीको औपचारिक सुरुआत भएको मानिन्छ। रासस


प्रकाशित : मंगलबार, मंसिर २० २०७९१२:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend