बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बडवाइजर बियरको उत्पादन क्षमता दोब्बर बढाउँदै जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज

आइतबार, मंसिर १८ २०७९
बडवाइजर बियरको उत्पादन क्षमता दोब्बर बढाउँदै जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज

जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजले सुरुमा आफ्नै घरेलु ब्रान्डका वियर उत्पादन सुरु गरेको थियो। विदेशी स्थापित ब्रान्ड बडवाइजर उत्पादनका लागि सुरुमा ३ अर्ब लगानीमा काराखाना स्थापना गरेको थियो। 

काठमाडौं- मदिरा उत्पादनमा नाम कमाएको जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राज ब्रुअरीले बडवाइजर बियरको उत्पादन नेपाली बजारमा विस्तार गर्ने भएको छ। 

विभिन्न प्रकारका मदिरासँगै बियर पनि उत्पादन गरिरहेको यो कम्पनीले क्षमता विस्तारका लागि उद्योग विभागबाट अनुमति पाएसँगै उत्पादन क्षमता पनि बढाउने भएको हो। 

बजारमा बढेको माग र भविष्यको सम्भावनालाई मध्येनजर गर्दै कम्पनीले बियर उत्पादन क्षमता बढाउने भएको हो। 

गोल्डेन ओक, रूस्लान, ग्र्यान्ड मास्टर, रोयल ट्रेजर, ब्लु डायमन्ड लगायत ह्विस्की, भोड्काका साथै नमस्ते, माउन्टेन आइस बियर उत्पादन गर्दै आएको यो कम्पनीले विदेशी ब्रान्डका बियरमा अमेरिकी बडवाइजर र चर्चित जर्मन बियर ब्रान्ड वार्सटाइनर पनि उत्पादन गरिरहेको छ। 

बडवाइजर बियरले नेपाली बजारमा छोटो समयमै लोकप्रियता हासिल गरेपछि कम्पनीले उत्पादन क्षमता बढाउने भएको हो।  बियरको उत्पादन क्षमता विस्तारका लागि सबैभन्दा पहिला उद्योग विभागबाट क्षमता बढाउने अनुमति लिनुपर्छ। यो कम्पनीले पहिले नेपालमा वर्षमा १ करोड ५० लाख हेक्टोलिटर (एक सय लिटर बराबर १ हेक्टोलिटर) उत्पादन क्षमता तथा अनुमति थियो। 

अब भने कम्पनीले वार्षिक ७ करोड ५० लाख हेक्टोलिटर बियर उत्पादनको अनुमति पाएको छ। नेपालकै सबैभन्दा ठूलो बियर ब्रान्ड टुबोर्ग उत्पादक गोरखा ब्रुअरीको अनुमति प्राप्त क्षमता पनि यत्ति नै छ। 

जाउलाखेल समूहले बडवाइजरको उत्पादन क्षमताको अनुमति ७ करोड ५० लाख हेक्टोलिटरको पाएपनि तत्कालका लागि त्यसको आधा क्षमता उपयोग गर्ने भएको छ। अहिलेसम्म वार्षिक १ करोड ५० लाख हेक्टोलिटर उत्पादन गरिरहेको कम्पनीले अबदेखि भने यसलाई ३ करोड हेक्टोलिटर बनाउने भएको छ। 

सरकारबाट अनुमति पाएपछि उत्पादन क्षमता विस्तारका लागि तयारी अघि बढिसकेको जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका ग्रुप एक्जिक्युटिभ डाइरेक्टर सशीन जोशीले जानकारी दिए। 

बजारको मागअनुसार क्षमता विस्तार गर्दै जाने गरी नियाकीय अनुमति प्राप्त भएको र पहिलो चरणमा अहिलेको क्षमतालाई दोब्बर बनाइने उनले बताए। 

जर्मन ब्रान्ड वार्सटाइनरलाई सुरुमा भित्र्याएको कम्पनीले पछि बडवाइजर भित्र्याएको थियो। सुरुमा बडवाइजरका लागि ३ अर्ब लगानी गरेको समूहले फेरि क्षमता विस्तार गर्न भने ५० करोड लगानी आवश्यक हुने अनुमान गरेको छ।  

पछिल्लो समय नेपाली बजारमा बियरको खपत बढिरहेको छ। स्थापित ब्रान्ड तथा कम्पनीबीच लगानी थप तथा क्षमता विस्तारको तीव्र होड नै छ। मदिरा उत्पादनमा माहिर कहलिएको जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज पनि बियरमा आक्रामक ढंगले अघि बढिरहेको छ। 

यो समूहले ल्याएको पछिल्लो बियर बडवाइजरले प्रिमियम बजारमा राम्रै हिस्सा लिन सफल भएको छ। नेपाली बियर बजारकाे अधिकांश हिस्सा स्ट्रङ बियर भएकाले कम्पनीले त्यो सेग्मेन्टको 'बडवाइजर म्याग्नम' पनि उत्पादन शुरु गरिसकेको छ। 

नेपाली बजारमा वर्षेनी १ करोड ६० लाख केस बियर उत्पादन तथा वितरण हुने गरेको अनुमान छ। यसमा सबैभ्दा धेरै गोरखा ब्रुअरीले ४६ प्रतिशत बजार हिस्सा लिएको छ। त्यस्तै चौधरी समूह अन्तर्गतको नेपाल आइस लगायतका बियरको हिस्ता १६ प्रतिशत छ। अर्ना बियरको १० प्रतिशत छ भने बडवाइजरको ७ प्रतशित बजार हिस्सा पुगेको अनुमान छ।


प्रकाशित : आइतबार, मंसिर १८ २०७९०५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend