शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

गुल्मीमा धान उत्पादनमा कमी आयो

आइतबार, मंसिर ११ २०७९
गुल्मीमा धान उत्पादनमा कमी आयो

जिल्लामा चैते धान तीन सय ४१ हेक्टरमा र वर्षे धान आठ हजार छ सय ७० हेक्टरमा गरी कुल नौ हजार ११ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ।

गुल्मी- गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ। गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण धेरै पोकटो भएको पाइएको छ। धान पाक्ने बेलामा पनि पानी पर्दा धान झरेको कारण यस वर्ष धानखेतीमा कमी आएको केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए। गत वर्षभन्दा यस वर्ष वर्षे धान उत्पादनमा १४ प्रतिशतले कमी आएको उनले बताए। 

जिल्लामा चैते धान तीन सय ४१ हेक्टरमा र वर्षे धान आठ हजार छ सय ७० हेक्टरमा गरी कुल नौ हजार ११ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ। गत वर्ष चैते र वर्षे गरी २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएको थियो। यो वर्ष उत्पादन घटेर २३ हजार सात सय १८ मेट्रिक टन उत्पादन भएको बताइएको छ। 

जिल्लामा सबैभन्दा बढी धानखेती हुने फाँटमा इस्माको चौरासी, सत्यवतीको जोहा, कालीगण्डकीको अर्वेनी, कनौटा, छापचौर, सत्यवतीको जुहाङ्ग खैरेनी, अस्लेवा, चन्द्रकोट गाउँपालिकाको मजुवा, रुपाकोटलगायतका स्थान रहेका छन्।

त्यसैगरी मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडिघाट खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदाने गाउँपालिकाको सिर्सेनी, धुर्कोट गाउँपालिकाको पनाहाखोला र छल्दी खोलाका फाँट, गुल्मी दरबारको गरमटारी, खज्याङ्ग र घोडाहा फाँट, छत्रकोटको खज्र्याङ्ग, मनबाग, उल्लीखोला, टाहाटिमलगायतका स्थानमा धेरै मात्रमा धानको उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी युवराज ढकालले जानकारी दिए। 

मसिना बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर एवं मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ। गुल्मीमा गत वर्ष पाँच करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो।

एक जनाले सरदर बर्सेनि एक सय ३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार पाँच सय मेट्रिक टन चामल आवश्यक रहेको कृषि ज्ञान केन्द्रका प्रमुख भण्डारीले बताए। जिल्लामा हंशराज, आँपझोते, झोप्री, काठे, झिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोदे, बडियारे, थापचिनी, गुडुरो, रातो मार्सी, मार्सी जातका धान उत्पादन हुँदै आएको छ।
 
उन्नत र हाइब्रिड जातका धानभन्दा स्थानीय जातको धान उत्पादन कृषकको रोजाइमा पर्ने गरेको छ। स्थानीय धानको भात खाँदा भोक नलाग्ने र कतिपय बास्नादार पनि हुने हुँदा यहाँका किसान आफैँले यी बीउलाई निरन्तरता दिइरहेका छन्।  सो केन्द्रले स्थानीय बीउ संरक्षण गर्नाका लागि आवश्यक पर्दा किसानलाई बीउसमेत वितरण गर्दै आएको छ। रासस


प्रकाशित : आइतबार, मंसिर ११ २०७९०४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend