बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगानीकर्तामा छैन उत्साह, घट्यो उद्योग दर्ता 

शनिबार, मंसिर १० २०७९
लगानीकर्तामा छैन उत्साह, घट्यो उद्योग दर्ता 

उद्योग दर्ताको संख्या मात्र होइन उद्योगको आकार वा उनीहरूले गर्नसक्ने लगानी सक्षमता पनि यो अवधिमा घटेको छ। 

काठमाडौं- उद्योगी व्यवसायीहरूमा लगानीको उत्साह घटेको पाइएको छ। पछिल्लो एक वर्षदेखि तरलता अभाव खस्किँदो वैदेशिक मुद्राको भण्डारण जस्ता कारणले गर्दा व्यवसायीहरूमा लगानीको उत्साह घटेको छ। 

भएकै उद्योग व्यवसाय राम्रोसँग नचलीरहेको समयमा नयाँ उद्योग व्यवसायको योजना उद्योगी व्यवसायीले सारिरहेका छन्। यसको प्रभाव नयाँ उद्योग दर्ताको तथ्यांकमा देखिएको छ। 

उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ४ महिनामा १०२ उद्योग दर्ता भएका छन्। गत वर्षको यही अवधिमा ११६ वटा उद्योग दर्ता भएका थिए। 

कोरोना महामारीको गहिरो प्रभावबाट माथि नउठेको गत वर्षको तुलनामा यो वर्ष व्यवसायीको आत्मविश्वास झन खस्किएको यो तथ्यांकले देखाएको छ।

उद्योग दर्ताको संख्या मात्र होइन उद्योगको आकार वा उनीहरूले गर्नसक्ने लगानी सक्षमता पनि यो अवधिमा घटेको छ। 

विभागका अनुसार यो वर्षको चार महिनामा दर्ता भएका उद्योगले १ खर्ब ८ अर्ब लगानी गर्नसक्ने प्रतिबद्धता गरेका छन्। लगानीको प्रतिबद्धताको ठूलो हिस्सा जलविद्युत क्षेत्रको हो। ठूलो लगानी हुने जलविद्युत क्षेत्रका २३ उद्योगले ७६ अर्ब ४९ करोड लगानी गर्ने प्रस्ताव गरेका छन्। त्यस्तै १५ वटा होटलले १२ अर्ब २२ करोड लगानीको प्रतिबद्धतता गरेका छन्। 

यो लगानी प्रतिबद्धता पनि वर्षको तुलनामा २६ अर्बले न्यून हो। गत वर्षको यही अवधिमा १ खर्ब ३४ अर्ब लगानी गर्ने प्रतिबद्धता गरेका थिए। 

गएको आर्थिक वर्षको पछिल्लो ९ महिना चरम दबाबमा रहेको अर्थतन्त्रमा पछिल्लो समय केही क्षेत्रका उद्योग उत्पादन बन्द गर्ने अवस्थामा पुगेका छन्। विशेषगरी निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो उत्पादन कि धेरै कटौति गरेका छन् कि निश्चित युनिट बन्द गरेका छन्। 

हरेक क्षेत्रमा बजारमा माग घट्दा त्यसको प्रभाव भएकै व्यवसाय सञ्चालनमा परेको छ। यस्तोमा नयाँ उद्योग व्यवसायको सुरुवात कठिन हुन्छ। 


प्रकाशित : शनिबार, मंसिर १० २०७९०७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend