बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

श्रम मन्त्रालयले भन्यो : विचौलियाको पछि नलाग्नूस्

बुधबार, कात्तिक ३० २०७९
श्रम मन्त्रालयले भन्यो : विचौलियाको पछि नलाग्नूस्

मन्त्रालयका सहप्रवक्ता डा थानेश्वर भुसालले सेवा प्रवाह हुने निकायबाट अनलाइन माध्यमबाट नै सबै प्रकारका सेवा आ-आफ्नो स्थानबाट प्राप्त गर्न सबै सेवाग्राहीमा अनुरोध गरे।

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै विचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ।  

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत प्राप्त हुने सेवाका लागि भौतिक रुपमा कार्यालयमा उपस्थित भइ भीडभाड गर्ने र अनावश्यक समस्या सिर्जना गर्ने काममा संलग्न नहुन तथा सेवा प्रवाहका क्रममा विचौलिया वा अन्य कुनै व्यक्तिको प्रभावमा नपर्न आग्रह गरेको हो। 

मन्त्रालयका सहप्रवक्ता डा थानेश्वर भुसालले सेवा प्रवाह हुने निकायबाट अनलाइन माध्यमबाट नै सबै प्रकारका सेवा आ-आफ्नो स्थानबाट प्राप्त गर्न सबै सेवाग्राहीमा अनुरोध गरे। हाल सेवाग्राहीको नाममा विचौलिया कार्यस्थलमा प्रवेश गरी कर्मचारीलाई कार्यसम्पादनमा असर गर्ने, विधि र प्रक्रिया नमिलेका काम गर्न अनेकन दबाब दिने, प्रलोभनमा पार्न प्रयत्न गर्ने र आफ्नो निहित स्वार्थ पूरा नहुँदा कार्यालयको काम कारबाहीप्रति नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेको  मन्त्रालयले जनाएको छ। 

वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट प्रवाह गरिने सबै सेवा अनलाइन प्रणालीमा आबद्ध गरिएको उनले जानकारी दिए। सरकारले यी निकायबाट सेवा प्राप्त गर्न स्वदेश तथा विदेशमा रहेका सेवाग्राही विभाग वा कार्यालयमा भौतिक रुपमा उपस्थित हुन नपर्ने गरी व्यवस्था मिलाएको छ। कानूनबमोजिम लाग्ने दस्तुर अनलाइन प्रणालीबाटै भुक्तानी गर्ने व्यवस्था गरिएको छ। 

वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट हुने सेवा प्रवाहको मन्त्रालयस्तरबाट निरन्तर प्रणालीमार्फत तथा स्थलगतरुपमा अनुगमन भइरहेको सहप्रवक्ता भुसालले जानकारी दिए। मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा विभागीय प्रमुखसमेतको उपस्थितिमा सेवा प्रवाह र गुनासो सम्बोधन सम्बन्धमा सघनरुपमा छलफल गरी सोको निराकरण गर्ने व्यवस्था गरिएको उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, कात्तिक ३० २०७९०९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend