शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

सुन्तला उत्पादन घट्दा किसान चिन्तित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २४ २०७९
सुन्तला उत्पादन घट्दा किसान चिन्तित

तनहुँ- जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका-२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ।

अत्यधिक वर्षा र असिनाका कारण बगँैचामा लगाएको सुन्तला कुहिने र झर्ने समस्याले गर्दा उत्पादन घटेको हो। गत वर्ष यो गाउँबाट रु दुई करोडको सुन्तला बिक्री गरे पनि यस वर्ष उत्पादन घट्ने अनुमान गरिएको कृषक विश्वबहादुर अधिकारीले बताए। 

उनले गत वर्ष ५५ लाख रुपैयाँको सुन्तला बिक्री गरेको र यस वर्ष ५० प्रतिशत पनि सुन्तला बिक्री गर्न नसकिएको बताए। यस वर्ष बोटमा सुन्तलाको दाना राम्रोसँग नलागेपछि किसान निरास भएका हुन्। सुन्तला पाक्ने सिजनमा बगैँचामा लटरम्म फल्ने गरे पनि यसपटक भने उत्पादनमा आधा कमी आएको किसान निर्मल अधिकारीले जानकारी दिए।  

उनले गत वर्ष ३० लाख रुपैयाँको सुन्तला बिक्री गरेका थिए। उनले भने, 'यसपटक छ÷सात लाखको पनि कारोवार गर्न नसक्ने देखिएको छ।' यसपटक पानीले गर्दा सुन्तलाको उत्पादन राम्रो नभएका कारण त्यसक्षेत्रका किसान चिन्तित भएको उनले बताए। उमाचोकमा करिब ४० जना कृषकले सुन्तलाखेती गर्दै आएका छन्। 

केही कृषकले सुन्तला बिक्री गरेको र केही किसानको सुन्तला नपाकेका कारण बगैँचामै रहेको किसानहरु बताउँछन्। गतवर्ष त्यस क्षेत्रका प्रत्येक कृषकले पाँचदेखि ८५ लाख रुपैयाँसम्म आम्दानी गरेका थिए।

यस वर्षको सुन्तला उत्पादनले उनीहरुमा निरासा छाएको बताइएको छ। जिल्लाको अन्य स्थानमा सुन्तला उत्पादन राम्रो भए पनि उमाचोक पकेट सुन्तला उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कूलप्रसाद तिवारीले बताए। रासस


प्रकाशित : बिहीबार , कात्तिक २४ २०७९०९:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend