बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बुद्ध एयरले काठमाडौं-पोखरा जाने विदेशीसँग लिने हवाई भाडा १ सय डलर घटायो

शनिबार, असोज २३ २०७८
बुद्ध एयरले काठमाडौं-पोखरा जाने विदेशीसँग लिने हवाई भाडा १ सय डलर घटायो

पोखरा जान नेपाली यात्रुलाई पनि ५ हजार ३५ रुपैयाँ अधिकतम भाडा रहेको छ। ‘अब ६५ डलर लिएर विदेशीलाई पोखरा उडाउँछाैँ’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने।

काठमाडौं- बुद्ध एयरले काठमाडौं-पोखरा रुटमा विदेशीसँग लिने हवाई भाडा १ सय डलरले घटाएको छ। विगतमा काठमाडौं-पोखरा रुटमा एयरलाइन्स कम्पनीहरूले १ सय २३ डलर देखि १ सय ६५ डलरसम्म लिने गरेका थिए। 

विवाद भएपछि एयरलाइन्स कम्पनीहरूले एकरुपमा १ सय २३ डलर लिन थालेका थिए। बुद्ध एयरले अहिले घटाएर अब ६५ डलर मात्रै विदेशीसँग हवाई भाडा लिने भएको छ। 

पोखरा जान नेपाली यात्रुलाई पनि ५ हजार ३५ रुपैयाँ अधिकतम भाडा रहेको छ। ‘अब ६५ डलर लिएर विदेशीलाई पोखरा उडाउँछाैँ’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने।

पोखरा मात्रै नभएर अन्य क्षेत्रको उडानमा पनि यसरी नै भाडा घटाउँदै जाने तयारी रहेको बस्नेतले बताए। विगतमा १ सय ६५ डलरसम्म पोखरा सेक्टरमा भाडा लिने गरिएको समेत बस्नेत बताउँछन्।

मुंग्लिन-पोखराको १ सय किलोमिटर सडक विस्तार सरकारले सुरु गरेको छ। सो बाटोमा निर्माणको अवरोधले विदेशीलाई समस्या पर्ने भएकोले पनि थोरै प्याकेजमा नेपाल आउने पर्यटकलाई सजिलो पार्न पनि भाडा घटाएको बस्नेतले जानकारी दिए।

विगतमा मुग्लिन-नारायणगढ सडक खन्ड निर्माणमा ६ वर्ष लगाउँदा यात्रुले सास्ती व्योहोर्नु परेको बताउँदै त्यसबाट समेत नयाँ पाठ सिकेर बुद्धको यो निर्णयले विदेशीलाई पनि सहज हुने उनको दावी छ। बुद्धको निर्णयले यती एयरलाइन्सलाई भने कही समस्या पर्ने देखिएको छ। यती एयरलाइन्सले काठमाडौं-पोखरा सेक्टरमा अधिकांश विदेशी यात्रु बोक्ने गरेको छ। 

कोभिड-१९ पछि नेपाल आउने विदेशीहरूलाई केन्द्रित गरेर भाडा घटाएको समेत उनले बताए। विगतमा डलर भाडालाई लिएर विवाद समेत हुने गरेको तर डलर नै नलिने भन्दा पनि घटाएर लिने नीति लिएको समेत उनले जानकारी दिए। 

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा रहेका नेपाली र विदेशी नागरिकबीचको विभेदपूर्ण हवाई भाडा हटाउने प्रस्ताव अगाडि सारेका थिए। एयरलाइन्स कम्पनीहरूले भने भाडा हटाउन नसकिने तर भाडा केही घटाउन सकिने बताउँदै आएका थिए। मुख्यगरी दुर्गम क्षेत्रको उडानमा एयरलाइन्स कम्पनीहरूले विदेशीसँग अत्याधिक रुपमा डलर भाडा असुल गर्दै आएका छन्। 

डलर फेयरमा सुगम र दुर्गम छुट्टाउने हो भने अहिले आन्तरिक उडानको क्षेत्रमा प्रतिस्पर्धामा रहेका ४ वटा एयरलाएन्स मात्रै चेपुवामा पर्ने छ। त्यसमा तीन वटा एयरलाइन्सलाई मात्रै सहज हुने निश्चित छ। सुगमको हकमा डलर फेयर घटेको अवस्थामा आन्तरिक हवाई यात्रा महँगो हुने अनुमानसमेत गरिएको छ।

कुन गन्तव्यको डलर फेयर कति?

काठमाडौं- पोखरा       १२३ 
काठमाडौं- भद्रपुर     १३९ 
काठमाडौं- भरतपुर     ११० 
काठमाडौं- विराटनगर     ११५ 
काठमाडौं- भैरहवा   ११३
काठमाडौं- धनगढी     २२२
काठमाडौं- जनकपुर     १२०
काठमाडौं- नेपालगञ्ज   १५३
काठमाडौं-माउन्टेन फ्लाइट   १९४
काठमाडौं- सिमरा     १०३
काठमाडौं- राजविराज     ११३
काठमाडौं- सुर्खेत       १८८
काठमाडौं- तुम्लिङटार       १३९
काठमाडौं- लुक्ला     १७९

 


प्रकाशित : शनिबार, असोज २३ २०७८०२:२१
  • सम्बन्धित विषय:

  • # budha air


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend