शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

धानको समर्थन मूल्य तोकियो, मोटा धानमा २१५ र मध्यम धानमा २२६ रुपैयाँ बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २३ २०७९
धानको समर्थन मूल्य तोकियो, मोटा धानमा २१५ र मध्यम धानमा २२६ रुपैयाँ बढ्यो

न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि ३३ करोड विनियोजन गरेको छ।

काठमाडौं- सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धान प्रतिक्विन्टल ३ हजार ३ सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालु आर्थिक वर्षमा धान खरिदका लागि तोकिएको समर्थन मूल्य मोटा धानमा प्रतिक्विन्टल २ सय १५ र मध्यम धानमा प्रतिक्विन्टल २ सय २६ ले बढी हो। गत आर्थिक वर्षमा सरकारले मोटा धानका लागि प्रतिक्विन्टल २ हजार ७ सय ५२ र मध्यम धानका लागि २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले न्यूनतम समर्थन मूल्यअनुसार धान खरिद गर्नेछ। चालु आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिद गर्ने सरकारी लक्ष्य छ। 

त्यसैगरी, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि ३३ करोड विनियोजन गरेको छ। यद्यपि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि भने यो व्यवस्था लागु हुनेछैन। 

हाल स्वीकृत कार्यविधिअनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई प्रतिक्विन्टल १ सय १२ खर्चसमेत उपलब्ध गराइने व्यवस्था रहेको छ। गत वर्ष यो कार्यक्रमअनुसार करिब नौ हजार मेट्रिक टन धान खरिद भएको कृषि मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक २३ २०७९११:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend