शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

संसारकै धनी एलन मस्कले ट्‍वीटर किन्छु भनेयता टेस्लाको सेयर ३५ प्रतिशत घट्यो

मंगलबार, कात्तिक २२ २०७९
संसारकै धनी एलन मस्कले ट्‍वीटर किन्छु भनेयता टेस्लाको सेयर ३५ प्रतिशत घट्यो

एलन मस्कले २०२२ को अप्रिल २५ मा ट्वीटर किन्ने सहमति जनाएका थिए। अप्रिल २५ मा टेस्लाको प्रतिकित्ता सेयर मूल्य ३ सय ३२.६७ अमेरिकी डलर थियो। तर नोभेम्बर ४ मा टेस्लाको प्रतिकित्ता सेयर मूल्य जम्मा २ सय ७.४७ डलरमा आइपुगेको हो। 

काठमाडौं- संसारकै धनी व्यक्ति एलन मस्क कुनै न कुनै रुपमा चर्चामा छाइरहेका छन्। संसारकै शक्तिशाली विद्युतीय कार कम्पनी र स्पेस एक्सका मालिक मस्क विभिन्न कारणले चर्चामा छन्। 

पछिल्लो समय उनी ट्वीटर किन्ने र त्यो किनेपछि कर्मचारी कटौतीदेखि ब्युटिक खातावालासँग मानिक पैसा लिने कुराले संसारभर उनी बारे कुरा भइरहेको छ। तर ट्वीर किन्ने कुराबाट जति चर्चा पाइरहेका छन् त्योभन्दा बढी क्षति उनले टेस्लाको सेयरबाट बेहोरिरहेका छन्। 

मस्कले सामाजिक सञ्चाल ट्वीटर किन्ने बताएयता उनको ‘ड्रिम प्रोजेक्ट’ टेस्लाको सेयर मूल्य ३५ प्रतिशतले घटिसकेको छ। गएको शुक्रबार एकै दिन टेस्लाको सेयर मूल्य ३.६ प्रतिशत घटेको हो। 

एलन मस्कले २०२२ को अप्रिल २५ मा ट्वीटर किन्ने सहमति जनाएका थिए। अप्रिल २५ मा टेस्लाको प्रतिकित्ता सेयर मूल्य ३ सय ३२.६७ अमेरिकी डलर थियो। तर नोभेम्बर ४ मा टेस्लाको प्रतिकित्ता सेयर मूल्य जम्मा २ सय ७.४७ डलरमा आइपुगेको हो। 

अहिले मस्कले ट्वीटरको पूर्णस्वामित्व लिइसकेको छन्। मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटरको पूर्णस्वामित्व लिएका हुन्। योसँगै उनले आफूलाई ‘चिफ ट्वीटर’का रुपमा चिनाएका छन्। स्वामित्व लिएसँगै मस्कले ट्वीटरका तत्कालिन सीईओसहित केही उच्च पदस्थ कर्मचारीलाई केही दिनमै हटाएका थिए। त्यतिबेला ट्वीटरका सीईओ भारतीय मूलका पराग अग्रवाल थिए। 

त्यस्तै गएको साता मस्कले ट्वीटरका ३ हजारभन्दा बढी कर्मचारीलाई बिदा गरिसकेका छन्। ट्वीटरको व्यवस्थापन सम्हाल्न मस्कले ५० जना टेस्लाका कर्मचारीलाई स्वामित्व लिएलगत्तै पठाएका थिए। ट्वीटरमा मुख्य गरि टेस्लाको सफ्टवेर इन्जिनियर र अटोपाइटल डिभिजनका कर्मचारी पठाइएको थियो। 

टेस्लाले मोडल थ्रीभन्दा सस्ता विद्युती कार ल्याउने बताएको छ। त्यस्तै मस्कले आफ्नो लक्ष्य भनेको टेस्लाले विश्वभर दैनिक ४० हजार कार उत्पादन गर्ने क्षमता बनाउनु रहेको बताएका छन्। यो उनले टेस्लाको घट्दो सेयर मूल्यमा ब्रेक लगाउनका लागि भनिरहेको अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको छ। 

अमेरिकी अन्य कार उत्पादक कम्पनीहरुको पनि अप्रिलयता सेयर मूल्य घटिरहेको छ। तर उनीहरुको प्रतिकित्ता अधिकतम गिरावट भनेको ११ प्रतिशतमात्र रहेको छ। ती कम्पनीहरुको गिरावटको तुलनामा टेस्लाको तीन गुणा बढी रहेको छ। 

टेस्लाले हाल अमेरिका, चीन, जर्मनीमा रहेका आफ्नो गिगा फ्याक्ट्रीबाट विभिन्न मोडलका विद्युतीय कार उत्पादन गर्दै आएको छ। टेस्लाका विद्युतीय कार संसारभर सर्वाधिक रुचाइएको विद्युतीय कारमा पर्छ। 


प्रकाशित : मंगलबार, कात्तिक २२ २०७९०१:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend