बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फलामे वस्तुको निर्यातमा उछाल, ३ महिनामा ५ गुणाले बढ्यो 

चिया र तयारी पोशाकको निर्यातमा पनि उच्च वृद्धि 

सोमबार, कात्तिक २१ २०७९
फलामे वस्तुको निर्यातमा उछाल, ३ महिनामा ५ गुणाले बढ्यो 

फलामे डन्डीको निर्यात पनि सुरु भएकाले स्टिलको निर्यात आगामी दिनमा बढ्नसक्ने व्यवसायीको विश्वास छ। 

काठमाडौं- चालु आर्थिक वर्षको तीन महिनामै दुई अर्ब रुपैयाँभन्दा बढीको फलाम तथा स्टिलजन्य वस्तुको निर्यात भएको छ। 

तीन महिनाको व्यापार तथ्यांकअनुसार साउनदेखि असोजसम्म नेपालबाट स्टिल तथा फलामजन्य वस्तुको निर्यात २ अर्ब २७ करोड ४१ लाख रुपैयाँको भएको छ। 

भारतीय बजारमा निर्यात हुने यस्ता वस्तु अघिल्लो वर्षको यही अवधिमा जम्मा ३६ करोड रुपैयाँको थियो। यो वर्ष भने यस्ता वस्तुको निर्यातमा उछाल आएको छ। 

स्टिल तथा फलामजन्य वस्तुमा नेपालबाट विशेषगरी जस्ता पाता, फलामे तार, पाइपको निर्यात हुन्छ। हुलास, आरती तथा जगदम्बा जस्ता कम्पनीले निर्यात गर्दै आएका छन्। 

यो वर्षको तीन महिनामा आयात तथा निर्यात घटेको छ। तथ्यांक अनुसार यो वर्षको तीन महिनामा गत वर्षको तुलनामा ३५ प्रतिशतले निर्यात घटेको छ। नेपालबाट निर्यात हुने अधिकांश प्रमुख वस्तुको निर्यात घट्दा पनि फालम तथा स्टिलजन्य वस्तुको निर्यात बढेको छ। 

स्टिल उद्योगलाई सरकारले संरक्षण गर्ने नीति लिएकाले पनि निर्यातमा प्रभाव देखिन थालेको व्यवसायीहरूले बताएका छन्। यो वर्षको बजेटबाट वार्षिक १० करोड माथिको बिजुली खपत गर्ने कम्पनीलाई सहुलियत दिने लगायतका घोषणा कार्यान्वयन भएमा अझै निर्यात बढ्ने व्यवसायीको दाबी छ। 

फलामे डन्डीको निर्यात पनि सुरु भएकाले स्टिलको निर्यात आगामी दिनमा बढ्नसक्ने व्यवसायीको विश्वास छ। 

यो वर्षको तीन महिनामा तयारी पोशाकको निर्यातमा पनि वृद्धि भएको छ। व्यापार तथ्यांक अनुसार ३१ प्रतिशतले तयारी पोशाकको निर्यात बढेको छ। यो वर्षको तीन महिनामा २ अर्ब ३८ करोड रुपैयाँको तयारी पोशाक निर्यात भएको छ। यो गत वर्षको तुलनामा ३१.३४ प्रतिशतले बढी हो। 

यो वर्ष चियाको निर्यात पनि ३० प्रतिशतले बढेको छ। गत वर्षको तीन महिनामा १ अर्बको चिया निर्यात भएकोमा यो वर्ष १ अर्ब ३१ करोको चिया निर्यात भएको छ। चियासँगै जुस, अदुवाको पनि निर्यात बढेको छ। 


प्रकाशित : सोमबार, कात्तिक २१ २०७९०४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend