शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

मूल्य नपाउँदा दूधको उत्पादन घटाउँदै किसान

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १४ २०७९
मूल्य नपाउँदा दूधको उत्पादन घटाउँदै किसान

बलेवा- गोठमा उन्नत जातका दश वटा गाई छन्। बिहानबेलुका दानापानी र दिउँसोको समयमा पर्याप्त घाँस दिनसके माउ गाईले दिनमा दुई पटकको दरले चारदेखि छ लिटर दूध दिन्छन्। सहकारीमार्फत् दूध बिक्री हुने भएकाले बजारको समस्या त किसानलाई छैन् तर मूल्य वृद्धिको मारले थिचेको छ।

दुईवर्ष पहिले ४० लिटरसम्म दूध बेचेका बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराका विकास पौडेललाई आजभोलि गाईलाई दानापानी दिनै मन लाग्दैन। दानापानीको भरमा घटबढ हुने दूध धेरै उत्पादन गर्दा पनि मूल्य उठ्दैन्। बजार मूल्य र किसानले पाउने दूधको मूल्यमा आधाभन्दा फरक छ। 

विकासले सरदरमा एक लिटर दूधको ५३ देखि ५५ रुपैयाँ पार्नुहुन्छ। तर त्यही दूध बजारमा एक सय २० रुपैयाँमा बिक्री हुन्छ। दुईवर्ष पहिले दूधको मूल्य  ५० रुपैयाँसम्म पर्थ्यो र पनि किसानको दुःख उठ्थ्यो। अहिले बजारमा महँङगिएको दाना चोकरको मूल्य जस्तै दूधको मूल्य नबढेका कारण किसान पशुपालनमा निरुत्साहित हुन थालेका हुन्। यो समस्या विकासको मात्रै होइन, कुश्मीशेराका अन्य किसानको पनि समस्या हो।

जसको असर दुई वर्ष पहिले दैनिक चार सय लिटर दूध उत्पादन गर्ने जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा परेको छ। अहिले सहकारीले दिनमा दुई सय ५० लिटर दूध मात्रै उत्पादन हुन्छ। 'बिक्री भएको दूधको पैसासमेत समयमा नआउने समस्या छ, दाना चोकर समयमा पुर्‍याउनै कठिन हुने', पौडेलले भने 'व्यावसायिक गाई पालेर पनि आम्दानी गर्न सकिन्छ तर महँगी र दूधको मूल्य वृद्धि समान हिसाबले हुनुपर्छ।'

वैदेशिक रोजगारीबाट फर्किएर उत्साहका साथ गाईपालनमा सहभागी भएका विकाससँगै सोही गाउँका गुरुप्रसाद, बाबुराम शर्मालगायतका युवाले पछिल्लो समय व्यावसायिक रुपमा पालिएका गाईको सङ्ख्या घटाउने र अन्य व्यवसायको खोजी गर्न थालेका छन्। 'बिहान तीन लिटर दिएको गाईले बेलुका पनि त्यतिनै दिन्छ, दाना चोकर प्रशस्त दिए त्यही गाईको दूध पाँच लिटर आउँथ्यो', पौडेलले भनेे 'दुई वर्ष पहिले एक हजार छ सय पर्ने दानाको बोरा अहिले दुई हजार दुई सय भएको छ।' महँगीको मार थेग्न नसकेका कारण आफूहरुले उत्पादन घटाउनु परेको उनीहरुको भनाइ छ। किसानले तीन वर्षको अन्तरमा बढेको दूधको मूल्यबाट आशा राखेका थिए तर दूधको मूल्य नबढ्दै बढेको दाना चोकरको मूल्यले किसानको आशा निराशामा परिणत भएको छ।

'दूधको मूल्य बढाउने विषयमा अन्य उपायको पनि खोजी गर्नुपर्छ भन्ने लागेको छ', कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका, १२ का सचिव रुद्रनाथ शर्माले भनेे,'उपभोक्ता र उत्पादक किसानबीचको अन्तर घटाउँदा दूधको मूल्य किसानले पाउँछन्।' बिचौलिया र ढुवानीका खर्चका कारणले पनि किसानले दूधको उचित मूल्य पाउँदैनन्।

बगलुङको दक्षिण क्षेत्रमा उत्पादन भएको अधिकांश दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ । छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा बजार र पोखरा बजारमा यहाँको दूध बिक्री हुन्छ। टाढाटाढा ढुवानी गरेर दूध पुर्‍याउँदा खर्च बढ्ने गरेको छ। हिउँदको समयमाभन्दा किसानले वर्षाको समयमा मूल्यमा थप मार व्यहोर्ने गरेका छन्। भेटेरीनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र बागलुङका अनुसार बागलुङ दूधमा आत्मनिर्भर जिल्ला हो। तर पछिल्लो समय बढ्दो बसाइँसराइ, व्यावसायिक किसानमा आएको वितृष्णा, बजार मूल्यमा हुने घटबढ र पशुधनमा हुने क्षतिका कारण उत्पादन घट्ने चिन्ता बढ्न थालेको छ। रासस


प्रकाशित : सोमबार, कात्तिक १४ २०७९०८:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend