बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पहाडका बसाइँ सरे, तराईकाले पहाड झरेर खेती गरे

शुक्रबार, कात्तिक ४ २०७९
पहाडका बसाइँ सरे, तराईकाले पहाड झरेर खेती गरे

मोहितले मौसम अनुसारका विभिन्न खेती गर्दै आएका छन्। अहिलेको मौसमअनुसार यतिबेला धान भित्र्याउने समय हो। मोहितलाई अहिले धान भित्र्याउन भ्याइनभ्याइ छ।

रेसुंगा- पछिल्लो समय पहाडबाट बसाइँसराइ गरेर तराई झर्नेको सङ्ख्या निरन्तर बढिरहेको छ। खासगरी श्रीमानले विदेशमा कमाउने र विस्तारै परिवार विलासी जीवन बिताउनका लागि तराई झर्ने क्रमले ग्रामीण भेग सुनसान बन्दै गइरहेका छन्। 

तीव्र गतिमा भइरहेको बसाइँसराइले गर्दा ग्रामीण भेगका खेतबारी बाँझो जमिनका रूपमा परिणत हुँदै गएका छन्। कृषिमा नोक्सान देखेर पहाडमा खेतबारी बाँझो राखेर तराई झर्नेह बढिरहँदा तराईका एक घरपरिवार भने पहाडी जिल्ला गुल्मीमा आएर कृषि गरी उदाहरण प्रस्तुत गरेका छन्। 

कपिलवस्तुको सुद्धोधन गाउँपालिका-५ का मोहित कुमाल उमेरले ४० वर्ष पुगे। उनका श्रीमतीसँगै गुल्मीको इस्मा गाउँपालिका-६ धनार्जीमा खेतीपाती गर्दै आएका छन्। 'पहाडका बसाइसराइँ गरेर तराईमा झरिरहँदा खाली खेतबारीमा हामीले कृषि गर्ने सोचेर यहाँ आएका हौँ', मोहितले भने, 'तराईमा भन्दा हामीलाई यहाँ नाफा छ, थोरै लगानीमा धेरै आम्दानी भइरहेको छ।' उनले कम लगानीबाट बढी फाइदा भएकाले आफू निकै सन्तुष्ट रहेकोसमेत बताए। 

मोहितले मौसम अनुसारका विभिन्न खेती गर्दै आएका छन्। अहिलेको मौसमअनुसार यतिबेला धान भित्र्याउने समय हो। मोहितलाई अहिले धान भित्र्याउन भ्याइनभ्याइ छ। उनले धनार्जी फाँटको १९ रोपनी जग्गामा गरेको खेतीबाट २५ मुरी धान उत्पादन गरेका हुन्। एक मौसमको खेतीबाट मात्र मोहितले एक लाख कमाउने बताए।  

उनका अनुसार धान मुरीको चार हजार रुपैयाँका दरले विक्री हुने गर्दछ। यस मौसम बाहेक अन्य समयमा मोहितले गहुँ र तरकारीहरू रोप्ने गर्नुहुन्छ। उनले स्थानीय ठाकुर भुसालको खेतमा कृषि गरिरहनुभएको छ। उनले बाह्रै महिना खेतबारी खाली नराखेर खेती गरी मनग्य आम्दानी गरिरहेका छन्। 

तराईबाट झरेर पहाडमा कृषि गर्नुभएका मोहितले १८ जनालाई मौसमी रोजगार समेत दिएका छन्। धान खेतीको लागि रोप्दा, गोड्दा, काट्दा र ठट्याउँदा गरी औसतमा वार्षिक नौ जनाले रोजगार समेत पाएको उनले बताए। त्यस्तै धान खेतीबाहेकको अन्य खेतीमा पनि औसतमा नौ जनाले गरी कुल १८ जनाले रोजगार पाएका छन्। 'मैले र परिवारले मात्र काम नसकेर यहाँका स्थानीयलाई रोजगार पाएका छन्', उनले भने।

अठार वर्षसम्म बुटवलको एक पसलमा काम गरेको मोहितले काम गरुन्जेल मात्र जीविकोपार्जन भएको बताउँछन्। 'मैले लामो समय पसलमा काम गरें, कमाएको पैसा कमाउञ्जेल मात्र भयो', मोहितले भने, 'पहाडमा झरेर कृषि गरेपछि केही बचत पनि गरेको छु।' उनले पहाडमा जग्गाजमिन बाँझोर राख्नुको सट्टा केही न केही कृषि उद्यम गरेका चौतफी फाइदा पुग्ने बताए।     

मोहित कुमाल मंसिरदेखि वैशाखसम्मको छ महिना इट्टा बनाउन ब्यस्त हुने गर्छन्। यो समय इट्टा पोल्न मिल्ने समय हो। बाँकी छ महिना इट्टा विक्री गर्ने समय हो। कुमालको पहलमा स्थानीयवासी ठाकुर भुसालको धनार्जी इँटा उद्योग पनि सोही स्थान धनार्जीमा रहेको छ।

यहाँबाट एक नम्बरी इँटा प्रतिवटा १८ र २ नम्बरी इँटा प्रतिगोटा १७ रुपैयाँका दरले बिक्री हुन्छ। मोहितका अनुसार यो समयमा डेढ लाख इँटा बिक्री भए। कुल २६ लाख २५ हजार बराबरका इँटा बिक्री भएको इँटा उद्योगका रेखदेख गरेका मोहितले जानकारी दिए। 

केही मात्रामा इँटा बिके पनि खासगरी उत्पादन अनुसार इट्टा विक्री नभएको मोहितले गुनासो गरे। इट्टा उद्योगमा अहिले तीन लाख इँटा बिक्री नभएका छन्। यसको मूल्य ५२ लाख ५० हजार बराबर हुन्छ। 'हामीसँग धेरै मात्रामा इँटा बिक्री नभएर यत्तिकै रहेका छन्', मोहितले भने, 'यहाँ इँटा उत्पादन हुन्छ, तर कमिशनका लागि तराईबाट इँटा आइरहेका छन्।' 

सरकारी निकायलाई कमिसनको लोभ र निजीहरुलाई गुणस्तरहीन हुन्छ कि भन्ने डरले इँटा बिक्री नभएको कुुमालले बताए। तराईबाट ल्याएरभन्दा यहीको माटोबाट बनेको इँटा प्रयोग गरेमा ग्रामीण भेगको उद्योगलाई पनि टेवा पुग्ने उनको अपेक्षा छ। धनार्जी इँटाको प्रयोग गर्न मोहितले आग्रह गरे। 'निजीभन्दा पनि सरकारी कार्यालयले पहिले ग्रामीण भेगको इँटाको प्रयोग गरेमा निजीलाई विश्वास पुग्ने छ', उनले भने। सहरको इँटाभन्दा गुणस्तरको तुलनामा केही कम नभएको उनको भनाइ छ। 

तराईबाट पहाड झरेर खेती गरेका मोहितले सबै नेपालीले कृषिमा ध्यान दिन जरुरी रहेको बताए। अन्य जागिरबाट आफ्नो जीविकोपार्जन काम गर्नसम्म मात्र हुने भएकाले कृषिले बचत पनि हुने उनको भनाइ छ। विलासी जीवन जीउनुको सट्टा नेपाली माटोमा केही न केही गर्न उनले सुझाएका छन्। संघीयतापछि गाउँगाउँमा आएको विकासका कारण पनि ग्रामीण भेगको बसाइँसराइ रोकिएको छैन। उनीहरुले नीति तथा कार्यक्रममा पनि बसाइँसराइ रोक्ने कुनै ठोस कार्यक्रम ल्याउन सकेका छैनन्। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ४ २०७९०६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend