मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

कञ्चनपुरका घरबासमा आउन थाले पाहुना

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १ २०७९
images
कञ्चनपुरका घरबासमा आउन थाले पाहुना
images
images

कञ्चनपुर- पछिल्लो समय कञ्चनपुरका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ। कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले पर्यटकहरू भरिभराउ छन्। यहाँको भीमदत्त नगरपालिका-१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि अहिले यहाँ रहेका १६ वटा घरबास भरिभराउ रहेको सञ्चालक चेतराम रानाले बताए।

images
images
images

'कोरोना महामारीले गर्दा दुई वर्ष बन्द नै भए अहिले पाहुना आउन थालेका छन्', उनले भने, 'अहिले त अग्रिम बुकिङ हुने गरेका छन्।' उनले अहिले पोखरालगायतका ठाउँबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको रोजाइ घरबास हुने गरेको बताए। 'होटलमा महँगो र होहल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्छन्', उनले भने, 'अहिले पोखराबाट विद्यार्थीहरू आएका छन्, सबै पाहुनाघर भरिभराउ छन्।'

images
images

अर्का स्थानीय बाबुराम रानाले घरबासमा पाहुनाको भीडभाड हुन थालेको बताए। 'कोरोनाले त सुनसान भएको हो अहिले पाहुनाहरू बढ्न थालेका छन्', उनले भने, 'पाहुना आउने समय पनि यही हो।' विशेषगरी चाडपर्वको बेला र फागनुमा पाहुनाहरू बढी आउने गरेको उनले बताए। 

images
images

पर्यटक बढेसँगै आयआर्जनमा समेत वृद्धि हुन थालेको रानाले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा घरबास सञ्चालनमा आएपछि यहाँका स्थानीयको आय स्तरमा समेत वृद्धि हुन थालेको चेतराम रानाले बताए। 'राना थारू बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेको छ', उनले भने, 'शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेका छन्।'

घरबास सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणसँगसँगै प्रचारप्रसारसमेत भएको रानाले बताए। 'यहाँ आउने पाहुनाको मागबमोजिम हामीहरूले खानाका परिकारदेखि नाचगान देखाउँछौँ', उनले भने, 'यसले हाम्रो संस्कृतिको पनि संरक्षण भएको छ र आयस्तरमा समेत टेवा पुगेको छ।' 

पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन्। राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार विसं २०७५ मा  दुई सय ६६ विदेशीले भ्रमण गरेका छन् भने एक सय ९३ जना सार्क मुलुकका नागरिकले भ्रमण गरेका छन्। त्यसैगरी विसं २०७६ मा सार्क मुलुकका तीन सय आठ जनाले भ्रमण गरेका छन् भने तीन सय ५० विदेशीले भ्रमण गरेका छन्। विसं २०७८ मा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ। एक हजार छ सय ५१ विदेशीले भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन्। त्यसैगरी २६ हजार तीन सय ८२ स्वदेशीले शुक्लाफाँटा भ्रमण गरेका छन्। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहताले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य रहेको बताए। 'शुक्लाफाँटाको फाँटमा देखिने बाह्रसिङ्गाको झुण्ड पर्यटकको आकर्षण हो', उनले भने, 'यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ।' शुक्लाफाँटा छेउमै रहेको रानाथारू समुदायको घरबासमा आउने आगन्तुकका लागि परम्परागत पहिरनमा रानाथारू नृत्य र खानाका परिकारले स्वागत गर्ने गरेका छन्। रासस


प्रकाशित : मंगलबार, कात्तिक १ २०७९०४:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend