सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कार आयातसमेत रोकिँदा मदिरा प्रतिबन्ध फुकाउने लबिङमा बेलायती राजदूतावास

बिहीबार , असोज २७ २०७९
कार आयातसमेत रोकिँदा मदिरा प्रतिबन्ध फुकाउने लबिङमा बेलायती राजदूतावास

'मदिरा आयातमा बेलायतको लविङ हुनु स्वभाविक नै छ। नेपालले आयात गर्ने तयारी मदिराको ६० प्रतिशतभन्दा बढी मदिरा बेलायतबाट नै आयात हुन्छ।'

काठमाडौं- विदेशी मुद्रा सञ्चितिमा चाप बढ्दै गएपछि सरकारले गत बैशाख १३ गतेदेखि मदिरालगायत १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। अहिले मदिरा, कारलगायत चार वस्तुमा लागेको प्रतिबन्ध अर्को निर्णय नभए शुक्रबारसम्म कायम छ।

सरकारले अन्तिक पटक भदौ १४ गते खेल्ने तास, कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरू, सबै प्रकारका खेलौनाहरू, चुरोट तथा सूर्तिजन्य वस्तु, हिरा (औधोगिक कच्चा पदार्थबाहेक) र ३२ इन्चमाथिका रङ्गिन टेलिभिजनमा भने आयात प्रतिबन्ध खुलाएको थियो। तर सबै प्रकारका तयारी मदिरा ३ सय डलरमाथिका स्मार्ट फोनहरू, जिप/कार/भ्यानहरू र १५० सीसी माथिका मोटरसाइकल आयातमा लगाएको प्रतिबन्ध भने असोज २८ गतेसम्म लागि लम्ब्यायो।

अहिले आयात प्रतिबन्ध लगाइएका वस्तुमा फुकुवा हुने वा नहुने विषयले बजारमा चर्चा पाउन थालेको छ। तर असोज १४ मै कार तथा मदिरा खुलाउन तीब्र लबिङ भएको थियो। कार आयात खुलाउन नेपाली आयातकर्ताहरू लागिपरेका थिए। केही समयका लागि आयात खोल्दा व्यवसायीले चाहिनेभन्दा बढी एलसी खोल्ने आशंका राष्ट्र बैंकले गरेपछि वाणिज्य मन्त्रालय तथा अर्थ मन्त्रायलले खोल्न नसकिने जिकिर पेश गर्‍यो। 

यता मदिरा खुलाउन नेपाली व्यवसायीको भन्दा बढी बेलायती दूताावास लागि गरेको तथ्य फेला परेको छ। मदिराको आयात प्रतिबन्ध असोज १४ देखि नै फुकुवा गराउन बेलायती राजदूतावास नै लागिपरेको एक व्यवसायीले बताए। 'राजदूतावासले नै मदिरा आयात फुकुवा गर्न प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मलाई भेटेर दबाब दिएको हामीलाई नै जानकारी छ, ती व्यवसायीले भने, 'भदौ १४ मै त्यति धेरै दबाब खेपेर आयात नखुलाएको सरकारले असोज २८ पछि के हुन्छ त्यति बेलासम्मको विकास क्रम रोचक नै हुनेछ।'

राजदूतावास नै सक्रिय भएर भदौ १४ मै मदिरा आयातको प्रतिबन्ध फुकुवा गर्न लबिङ भएको थियो। तर मदिराको आयात प्रतिबन्ध फुकुवा गरी अन्य वस्तुको आयात प्रतिबन्ध निरन्तर रहँदा नकारात्मक असर पर्ने संकेत पाएपछि राजदूतावासकै लबिङ हुँदा पनि तत्कालीन समयमा सरकार निर्णय लिनबाट पछि हटेको थियो। तर फेरि अहिले असोज २८ को समय सकिनै लाग्दा मदिराको आयात प्रतिबन्ध फुकुवा गर्ने लबिङ जारी छ।

मदिरा आयातबाट सीमित व्यवसायीलाई मात्र फाइदा हुनुका साथै यसको आयातबाट रोजगारीसमेत सृजना हुँदैन। तर कार आयात गर्दा व्यवसाय चल्नेदेखि हजारौँको रोजगारी पनि सुनिश्चित हुन्छ। कार आयात नखुल्दा शाेरुम बन्द गर्नुपर्ने र हजारौँको रोजगारी संकटमा पर्ने गरेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले बताउँदै आएको छ। व्यवसायीको यो दबाब थेग्न नसक्ने अवस्थाका कारण पनि राजदूतावासको दबाबकै बीच देउवा सरकार मदिराको मात्र आयात खोल्नबाट पछि हटेको हो। 

मदिरा आयातमा बेलायतको लबिङ हुनु स्वभाविक नै छ। नेपालले आयात गर्ने तयारी मदिराको ६० प्रतिशतभन्दा बढी मदिरा बेलायतबाट नै आयात हुन्छ। साथै नेपालमै उत्पादन हुने ह्विस्कीको कच्चा पदार्थ पनि बेलायतबाट नै आउँछ।

अहिले बेलायती पक्षले विश्व व्यापार संघठन (डब्लूटीओ)को विषयसमेत उठाउन थालेको छ। एक उच्च स्रोतका अनुसार बेलायतले आफ्नो देशबाट निर्यात हुने सामानमा नेपालले प्रतिबन्ध निरन्तर गरिरहने हो भने नेपालबाट निकासी हुने सामानमा पनि प्रतिबन्ध लगाउने चेतावनी दिन थालेको छ।

बेलायती मदिरा आयात प्रतिबन्ध रहिरहँदा बेलायतले डब्लूटीओको प्रावधान प्रयोग गरेर नेपालबाट बेलायततर्फ हुने निर्यातमै प्रतिबन्ध लगाउने बारे घुमाउरो चेतावनी आउन थालेको उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले बिजनेस न्युजसँग भने। 

कति आउँछ बेलायतबाट तयारी मदिरा?

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा बेलायतबाट मात्रै ५ लाख १ हजार लिटरभन्दा बढी तयारी मदिरा नेपाल आएको थियो। जसमा सबैभन्दा बढी ३० यूपीको ह्विस्की मात्रै ३ लाख ८६ हजार ३ सय ४५ लिटर आएको थियो।यसैगरी २५ यूपीको ह्विस्की ९९ हजार ५ सय २० लिटर आएको थियो।

सम्रगमा गत आर्थिक वर्षमा मात्रै बेलायतबाट १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ बराबरको तयारी मदिरा आएको थियो। यसबाट सरकारले करिब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो।


प्रकाशित : बिहीबार , असोज २७ २०७९०४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend