शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अर्थशास्त्री वाग्लेलाई रोक्न बालुवाटारको परेड, तनहुँका प्रदीपदेखि पश्चिमका नैनसिंहसम्म रातारात काठमाडाैंकाे मैदानमा

आइतबार, असोज २३ २०७९
अर्थशास्त्री वाग्लेलाई रोक्न बालुवाटारको परेड, तनहुँका प्रदीपदेखि पश्चिमका नैनसिंहसम्म रातारात काठमाडाैंकाे मैदानमा

काठमाडौं- अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई अन्तत: नेपाली कांग्रेसले चुनाव लड्नबाट बञ्चित गरेको छ। निर्वाचन लड्ने तयारीका लागि वाग्ले यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिएर नेपाल फर्किएका थिए। 

अमेरिकाको न्यूयोर्कस्थित प्रधान कार्यालयमै बसेर काम गर्नेगरी गतवर्षको असारमा नियुक्त भएका वाग्ले कांग्रेस शीर्ष नेताहरूसँग परामर्श गरेर अमेरिका गएका थिए। कांग्रेस नेताकै सल्लाहमै नेपाल फर्किएका वाग्लेलाई अन्ततः कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनाव नलड्ने पक्का भएको छ। 

भावी अर्थमन्त्रीको रुपमा हेरिएका वाग्लेलाई कांग्रेस सभापति शेरबहादुर देउवाकै जोडबलमा उम्मेद्‍वार हुनबाट रोकिएको हो। वाग्लेले काठमाडौं, गोरखा र चितवन जहाँबाट पनि चुनाव लड्न तयार भएको जानकारी दिएका थिए। तर वाग्लेलाई उम्मेद्‍वारबाट रोक्न काठमाडौं ५ मा प्रदीप पौडेल ल्याइयो भने काठमाडौं ४ मा नैनसिंह महरलाई समेत बालुवाटारले अगाडि सारिदियो। जसले वाग्लेलाई चुनाव उठाउन शेखर कोइराला समूह असफल भएको छ। 

वाग्लेले प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १, काठमाडौं क्षेत्र नम्बर ५ वा चितवन क्षेत्र नम्बर १ मध्ये जहाँबाट टिकट दिएपनि चुनाव लड्ने नेतृत्वलाई जनाउ दिएका थिए। चितवन क्षेत्र नम्बर १ मा आफ्नै समकक्षी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले चाहना राखेपछि काठमाडौं ५ बाट चुनाव लड्ने पार्टी सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बताएका थिए। 

सभापति देउवा निकट पौडेल आयोगको उपाध्यक्षबाट राजीनामा बुझाएर चितवनमा उम्मेद्‍वारी दिन गइसकेका छन्। पौडेलको भिडन्त एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग हुनेछ। 

काठमाडौं ५ बाट टिकट दिनका लागि सबै नेता तयार भएपनि अन्तिम समयमा कांग्रेस नेता रामचन्द्र पौडेलको जोडबलमा तनहुँबाट प्रदीप पौडेललाई काठमाडौं ५ मा उम्मेद्‍वार बनाउने निर्णय गरियो। 

वाग्लेलाई टिकट दिनका लागि महामन्त्रीद्वय थापा र शर्मासहित नेता डा. शेखर कोइराला पनि सक्रिय थिए। काठमाडौं ५ मा सभापति शेर बहादुर देउवाले प्रदीप पौडेल अगाडि सारेपछि काठमाडौं ४ मा वाग्लेलाई उठाउने रणनीति शेखर समूहले बनाएको थियो। जसका लागि शनिबार मध्यरातमा गगन थापालाई सर्लाही ४ पठाउने निर्णय भयो। थापा पनि सर्लाही जान तयार भए। राति नै सर्लाहीबाट कांग्रेस नेता अमरेश कुमार सिंह पनि गगनलाई चुनाव लड्न दिन तयार भएका थिए। 

तर आइतबार बिहान सभापति देउवाले काठमाडौं ४ मा सूदूरपश्चिमका युवा नेता नैनसिंह महरलाई उठाउने निर्णय गगन थापालाई सुनाए। थापाले सभापति देउवाको निर्णयमा प्रतिकार गर्दै वाग्लेबाहेक अन्यलाई काठमाडौं ४ नछाड्ने त्यहाँ आफै चुनाव लड्ने निर्णय सुनाए। स्पष्ट अडानपछि पुनः काठमाडौं ४ मा गगन थापा नै उम्मेद्‍वार भए। यता वाग्ले भने उम्मेद्‍वार हुनबाट बञ्चित भए।


प्रकाशित : आइतबार, असोज २३ २०७९०९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend