काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चाडबाडका समयमा बन्द रहेका तातोपानी, केरुङ, कोरालालगायतका चिनिया नाका खोल्ने कार्यमा सहयोग गर्न नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्शुलाई आग्रह गरेका छन्।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले विगतमा भएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुङ–काठमाडौँ) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजना पुनःसञ्चालनका लागि आग्रह गरेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।
भेटका अवसरमा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशकाबीचमा भएका सरसहयोग र घनिष्ठ सम्बन्धको चर्चा भएको थियो।
आगामी दिनमा आपसीहितका विषयमा काम गर्ने, संसदीय सहयोग आदानप्रदान गर्ने र उच्चस्तरीय भ्रमण गर्ने विषयमा छलफल भएको थियो। राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले विगतका उच्चस्तरीय भ्रमण र दुवै पक्षबीच भएका समझदारीको स्मरण गर्दै दुई देशको सम्बन्ध सदियौँदेखि हिमाल जस्तै अटल र नदी जस्तै निर्मल रहेको बताएका थिए।
उनले चीन नेपालको महत्वपूर्ण विकास साझेदार रहेकाले नेपालको समृद्धिमा पुर्याएको योगदानका लागि धन्यवाद दिएका थिए। यस्तै उनले एक चीन नीतिको नेपाल पक्षमा रहेको र सुरक्षा चासोमा नेपाल प्रतिबद्ध रहेको जनाए।
चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लीले अध्यक्ष तिमिल्सिनाले उठाएको विषयको समर्थन गर्दै सीमानाकामा देखिएको अवरोध खोल्नेलगायत अन्य काममा सहजीकरण गरिने आश्वासन दिएका थिए। रासस