शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

विद्युतीय कारमात्र बनाउनेगरी मोट्रेक्ससँग परियोजना विकास सम्झौता अन्तिम चरणमा 

आइतबार, भदौ २६ २०७९
विद्युतीय कारमात्र बनाउनेगरी मोट्रेक्ससँग परियोजना विकास सम्झौता अन्तिम चरणमा 

मोट्रेक्सले लगानी घोषणा गर्दै लगानी बोर्डमा प्रस्ताव पेश गर्दा पेट्रोलियम कार बनाउने उल्लेख थियो। तर सरकारले विश्व परिवेशमै विद्युतीय सवारी नै अबको विकल्पका रुपमा आएको भन्दै मोट्रेक्सलाई विद्युतीय कारमात्र बनाउन दिने निर्णय गरिसकेको छ। 

काठमाडौं- कोरियाली कम्पनी मोट्रेक्ससँग नेपालमा कार एसेम्बल प्लान्ट स्थापना गर्ने छलफल अन्तिम चरणमा पुगेको लगानी बोर्डले जनाएको छ। आइतबार लगानी बोर्डमा भएको एक कार्यक्रममा लगानी बोर्डका उपसचिव रमेश अधिकारीले एसेम्बल प्लान्टसम्‍बन्धी छलफल निष्कर्षतर्फ पुगेको बताएका हुन्। 

मोट्रेक्सले चारवर्षअघि नेपालमा कार एसेम्बल गर्ने घोषणा गरेको थियो। साढे १० अर्ब रुपैयाँ लगानीमा कार एसेम्बल गर्ने भन्दै लगानी बोर्डमा मोट्रेक्स कम्पनीले प्रस्ताव गरेको थियो। कार एसेम्बल गर्ने प्रस्ताव गरेको मोट्रेक्सले कुनै प्रक्रिया अघि नबढाएपछि लगानी बोर्डले पछिल्लो समय ताकेता गरेको थियो। 

लगानी बोर्डको उक्त सक्रियतापछि मोट्रेक्स छलफलमा आएको हो। मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमा कार बनाउन आवश्यक जमिन, नियम/कानून, सहजीकरणलगायत विषयमा लगानी बोर्डसँग छलफल सुरु भएको छ। 

यी विषयमा प्रारम्भिक सहमति भएपनि परियोजना कार्यान्वयन सम्झौता (पीआईए) नै गरिने लगानी बोर्डले जनाएको छ। ‘मोट्रेक्ससँग पीआईएबारे छलफल चरिरहेको र यो अन्तिम चरणमा रहेको छ,’ उपसचिव अधिकारीले भने, ‘आशा गरौँ छलफल सकारात्मक रुपमै टुंगिनेछ र मोट्रेक्सले एसेम्बल प्लान्ट लगाउने काम थाल्ने छ।’ 

मोट्रेक्सले लगानी घोषणा गर्दै लगानी बोर्डमा प्रस्ताव पेश गर्दा पेट्रोलियम कार बनाउने उल्लेख थियो। तर सरकारले विश्व परिवेशमै विद्युतीय सवारी नै अबको विकल्पका रुपमा आएको भन्दै मोट्रेक्सलाई विद्युतीय कारमात्र बनाउन दिने निर्णय गरिसकेको छ। 

मोट्रेक्सले २०७५ चैतमा नेपालमा सवारी एसेम्बल उद्योग खोल्ने प्रस्ताव गरेको थियो। लगानी बोर्डको ३५औँ बैठकले उक्त प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको थियो। योसँगै बोर्डसँग मोट्रेक्सले २०७६ मंसिर २५ गते प्रारम्भिक सम्झौता गरेको थियो। बोर्डको ४६औँ बैठकले भेहिकल म्यानुफ्याचरिङ एसेम्ब्ली प्लान्टका लागि स्वीकृति दिने निर्णय गरेको थियो। ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लगानी बोर्डले स्वीकृत गर्ने व्यवस्था रहेको छ। 

मोट्रेक्सले नेपालमै कार एसेम्बल गर्ने घोषणा गरेलगत्तै नेपालमा विभिन्न कम्पनीको आधिकारिक बिक्रेताका रुपमा कार आयात गर्दै आएका व्यवसायीले समेत एसेम्बल प्लान्ट स्थापना गर्ने भन्दै उद्योग दर्ता गर्नेको लर्को नै लागेको थियो। मोट्रेक्सको घोषणाअघि दुई पांग्रे सवारी एसेम्बल गर्ने उद्योग दर्ता भएपनि चार पांग्रे सवारी एसेम्बल गर्ने उद्योग दर्ता भएको थिएन। त्यसयता हालसम्म दर्जनभन्दा बढी ४ पांग्रे सवारी एसेम्बल गर्नेभन्दै उद्योग दर्ता भइसकेका छन्। 

मागअनुसारको सेवा सुविधा नेपाल सरकारले दिए प्लान्ट लगाउन तयार रहेको बताएको मोट्रेक्सले सञ्चालनमा आएको पहिलो वर्ष ५ हजार ८२०, दोस्रो वर्ष ९ हजार ५३०, तेस्रो वर्ष १५ हजार ८० र चौथो वर्षबाट वार्षिक २० हजार वटा सवारीसाधन उत्पादन दाबी पेश गरेको थियो।

कम्पनीले परियोजना सुरु भएको पाँचौ वर्ष र उत्पादन थालेको चौथो वर्षबाट परियोजना ब्रेक इभनमा जाने प्रस्तावमा उल्लेख गरेको छ। 

मोट्रेक्स आफैँले भने सवारी उत्पादन गर्दैन। तर अहिलेको समयमा सबै वस्तु एउटै कम्पनीले उत्पादन गर्नुपर्छ भन्ने छैन। नेपालमा सवारी एसेम्बल गर्छु भनेर आएको मोट्रेक्सले एसेम्बलका लागि आवश्यक पर्ने प्रविधि तथा सामान अन्य कम्पनीसँग साझेदारीमा खरिद गरेर ल्याउन सक्छ। यद्यपी मोट्रेक्सले लगानी घोषणा गरेको चार वर्षसम्म कुनै प्रक्रियाअघि नबढाउनुले कार बनाउँछ भन्ने कुरामा संशय पैदा गरेको छ। 

मोट्रेक्सले सुरुमा गरेको प्रस्तावअनुसार सन् २०२१ सम्ममा गाडी उत्पादन गरिसक्ने थियो। तर २०२२ को अगस्टसम्म आइपुग्दा विस्तृत अध्ययनको त कुरै छाडौँ एसेम्बल उद्योग कहाँ राख्नेसम्म टुंगो लागेको छैन। यही कुरालाई मध्यनजर गर्दै लगानी बोर्डले मोट्रेक्सलाई छलफलमा आउन दबाब दिएको हो। 

मोट्रेक्सले राखेको सर्तअनुसार भने नेपालमा तत्काल अन्त कम्पनीले एसेम्बल प्लान्ट लगाउन पाउँदैनन्। विद्युतीय कार मात्र बनाउनु पर्ने र एक्लै कार एसेम्बल गर्ने मोट्रेक्सको प्रस्ताव रहेको छ। मोट्रेक्सले अब कस्ता प्रतिक्रिया दिन्छ त्यहीअनुसार निर्णय लिने बोर्डले जनाएको छ। 


प्रकाशित : आइतबार, भदौ २६ २०७९११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend