शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटा टियागो ईभी यही महिना सार्वजनिक हुने, कम मूल्यमा विद्युतीय कार खोज्नेका लागि उपयुक्त विकल्प

एकपटकको फुल चार्जमा ३१० किलोमिटर रेन्ज

सोमबार, भदौ २७ २०७९
टाटा टियागो ईभी यही महिना सार्वजनिक हुने, कम मूल्यमा विद्युतीय कार खोज्नेका लागि उपयुक्त विकल्प

२५/३० लाख मूल्यमा टियागो ईभी नेपाली बजारमा आएमा त्यसले विद्युतीय कार सेगमेन्टमा ठूलै बेन्चमार्क कायम गर्नेछ। यसको मुख्य कारण विश्वसनीय ब्रान्डको ३० लाख रुपैयाँभन्दा कम मूल्यको विद्युतीय कार कुर्ने नेपाली उपभोक्ताको संख्या निकै ठूलो छ।  

काठमाडौं- विद्युतीय कार उत्पादनमा आक्रामक बनेको टाटा मोटर्सले तुलनात्मक रुपमा सस्तो मूल्यको विद्युतीय कार ल्याउने भएको छ। टाटा मोटर्सले टियागो ह्याचब्याक कारलाई विद्युतीय भर्सनमा ल्याउने भएको हो। 

टियागो ईभीलाई भारतकै सस्तो विद्युतीय कार हुने अनुमान गरिएको छ। टाटाको विद्युतीय कार सिरिजमा टियागो ईभी आएमा अर्को उत्पादन थपिनेछ। 

टाटा मोटर्सले २०१८ को अटो एक्सपोमा पहिलोपटक टियागो ईभी सोकेस गरेको थियो। २०२० मा भारतीय बजारमा बिक्रीका लागि आउने अनुमान गरिएको यो कार हालसम्म आउने नआउने निश्चित थिएन। तर अब भने टाटा मोटर्सले टियागो ईभी उत्पादन गर्ने तय गरेको छ। 

यो कार विद्युतीय सवारी सेगमेन्टमा भारतकै सबैभन्दा सस्तो र गुणस्तरीय कार हुने अनुमान धेरैले गरेका छन्। ह्याचब्याक सेगमेन्टको टियागोको विद्युतीय भर्सन भारतीय बजारमा १० लाख भारुभन्दा कममा आउने अनुमान गरिएको द टाइम्स अफ इन्डियाले लेखेको छ। 

टाटाले हाल भारतीय बजारमा नेक्सन ईभी, नेक्सन ईभी म्याक्स र टिगोर ईभी बिक्री गर्दै आएको छ। टाटाले आगामी ५ वर्षमा १० वटा विद्युतीय सवारी बजारमा ल्याइसक्ने जनाएको छ। 

टाटा मोटर्सले आफ्नो विद्युतीय कारको पोर्टफोलियोमा एउटा नयाँ कार टियागो ईभी थप गर्ने तय भएको टाटा मोटर्सका (प्यासेन्जर भेहिकल) प्रबन्ध निर्देशक शैलेश चन्द्रले इकोनोमिक टाइम्सलाई बताएका छन्। ‘विद्युतीय कार बजारको लिडरका हिलाबले टाटा मोटर्स नेक्स्ट फेजका लागि काम गरिरहेको छ,’ उनले भने। 

टाटा मोटर्सले टियागो ईभी यही सेप्टेम्बर महिनाको अन्त्यसम्ममा भारतीय बजारमा यो कार सार्वजनिक गर्ने बताएको छ। टाटा मोटर्सले २०३० सम्ममा आफूले बिक्री गर्ने कुल प्यासेन्जर कारको ३० प्रतिशत विद्युतीय हुने बताएको छ। यो योजनाले सरकारी लक्ष्यलाईसमेत सहयोग पुग्ने टाटा मोटर्सको भनाइ छ। 

टियागो ईभी पेट्रोलियम इन्जिनकै डिजाइनमा आउने भएपनि इन्टेरियर र ग्रिलमा भने परिमार्जग हुनेछ। यद्यपी टाटा मोटर्सले हालसम्म टियागो ईभीका बारेमा थप विशेषता सार्वजनिक गरिसकेको छैन। 

टाटाले टियागो ईभीमा टिगोर ईभीकै सहर पावर ट्रेनमा ल्याउन सक्छ। तर टियागो ईभीमा केही कम हुन सक्छ किनकी यो कार मूल्यका हिसाबले सस्तो रेन्जमा आउनेछ। 

टियागो ईभी बजारमा आएसँगै विद्युतीय कार किन्ने उपभोक्ताका लागि धेरै वटा छनौटको विकल्पसमेत हुनेछ। यस्तो विकल्प भारतीय उपभोक्ताका लागि मात्र नभइ नेपाली उपभोक्तालाई समेत उपलब्ध हुनेछ। 

नयाँ आउने टियागो ईभीमा २६ किलोवाट आवरको ब्याट्रि र ७४ बीएचपी पावर र १ सय ७० एनएम टर्क जेनेरेट गर्ने विद्युतीय मोटर हुनेछ। यो कारले एक पटकको फुल चार्जमा ३१० किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ। 

टाटाका विद्युतीय कार नेक्सन ईभी, टिगोर ईभी नेपाली बजारमा पनि उपलब्ध छन्। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले भारतमा सार्वजनिक भएलगत्तै टाटा नेक्सन ईभी नेपाल ल्याएको थियो। हाल टाटा नेक्सन ईभी नेपालमा सर्वाधिक बिक्री हुने विद्युतीय कारमा पर्छ। त्यस्तै टिगोर ईभी पनि उल्लेख्य संख्यामा बिक्री भइरहेको कम्पनीले जनाएको छ। 

सस्तो मूल्यमा भारतीय बजारमा आउने टियागो ईभी नेपाली बजारमा समेत आउने छ। २५/३० लाख मूल्यमा टियागो ईभी नेपाली बजारमा आएमा त्यसले विद्युतीय कार सेगमेन्टमा ठूलै बेन्चमार्क कायम गर्नेछ। यसको मुख्य कारण विश्वसनीय ब्रान्डको ३० लाख रुपैयाँभन्दा कम मूल्यको विद्युतीय कार कुर्ने नेपाली उपभोक्ताको संख्या ठूलो छ।  


प्रकाशित : सोमबार, भदौ २७ २०७९०३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend