शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पप्पुले अलपत्र पारेकाे तीनकुने पुल निर्माणमा ७ कम्पनीको आवेदन, टेकू पुल अझै अलमलमा

मंगलबार, असोज १९ २०७८
पप्पुले अलपत्र पारेकाे तीनकुने पुल  निर्माणमा ७ कम्पनीको आवेदन, टेकू पुल अझै अलमलमा
सांकेतिक तस्बिर

३ वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी पप्पु कन्स्ट्रक्सनसँग आयोजनाले २०७१ असारमा ठेक्का सम्झौता गरेको थियो। ८६ मिटर लामाे तीनकुने पुल निर्माणकै क्रममा अनुगमन गर्दा मापदण्डअनुसार र सम्झौता गर्दाको स्पेसिफिकेसनअनुसार नभएको भन्दै ठेक्का नै तोडिएको थियो।

काठमाडौं- पप्पुले निर्माणकाे ठेक्का पाएर अलपत्र पारेकाे तीनकुने पुल निर्माणमा ७ कम्पनीले चासाे देखाएका छन्। पप्पु कन्स्ट्रक्सनले पुल निर्माण नगरेपछि सरकारले ठेक्का ताेडेर नयाँ टेन्डर आह्वान गरेकाे थियाे। 

२ वटा मोटरेवल पुल ठेक्का सम्झौता भएको ७ वर्षसम्म पनि निर्माण हुनसकेका छैनन्। काठमाडौंस्थीत तीनकुने र टेकूमा पुल बनाउन २०७१ मा निर्माण कम्पनीसँग सम्झौता भएकाे थियाे। 

तर तीनकुने पुल भने चालु आर्थिक वर्ष २०७८/७९ मा निर्माणमा जाने गरी प्रक्रिया सुरु गरिएको छ। टेकू पुलको भने मुद्दा अझै टुंगो नलाग्दा कहिले पुनः टेन्डर आह्वान गरी निर्माणमा जाने विषय अन्योलमै छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टेकू पुल निर्माणका लागि पुन: नयाँ टेण्डर आह्वान गरिसकेको छ। 

आयोजनाले साउनमा तीनकुने पुल निर्माणका लागि आह्वान गरेको टेन्डरमा ७ वटा निर्माण कम्पनीले आवेदन दिएका छन्। आयोजना प्रमुख गुरु अधिकारीले ७ वटा कम्पनीले उपलब्ध गराएको सो आवेदनको मूल्यांकन भइरहेको जानकारी दिए। उक्त आवेदन २ सातामा अध्ययन सम्पन्न गरेर आर्थिक प्रस्ताव माग गरिने उनको भनाइ छ। उनका अनुसार तीनकुने पुल यही वर्ष निर्माणमा जानेछ।

३ वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी पप्पु कन्स्ट्रक्सनसँग आयोजनाले २०७१ असारमा ठेक्का सम्झौता गरेको थियो। ८६ मिटर लामाे तीनकुने पुल निर्माणकै क्रममा अनुगमन गर्दा मापदण्डअनुसार र सम्झौता गर्दाको स्पेसिफिकेसनअनुसार नभएको भन्दै ठेक्का नै तोडिएको थियो। आयोजनाले २०७५ असारसम्ममा तीनकुनेको पुल बनाइसक्ने गरी निर्माण कम्पनीसँग २१ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

तीनकुने पुल गुणस्तरीय नभएको भन्दै ठेक्का ताेडेर नयाँ ठेक्काको प्रक्रिया सुरु गरिएको छ। तीनकुने पुल निर्माणका लागि प्रक्रिया सुरु गरिए पनि टेकू पल भने कहिले बन्छ, अन्योलमै छ। ६२ मिटर लम्बाइको उक्त पुल भने बनेर पनि प्रयोगमा आउन नसकेको हो। 

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले उच्च अदालतको निर्णय पर्खिएको बताए। निर्माण सम्पन्न भइ हस्तान्तरण मात्रै गर्न बाँकी रहेको टेकू पुलमा प्राविधिक समस्या र तोकिएको मापदण्ड नपुगेको भन्दै कार्यालयले ठेक्का तोड्न भने पछि निर्माण कम्पनी पप्पु अदालत गएको थियो । 

कम्पनीले पुल गुणस्तरीय छ भन्ने दाबी गर्दै आएको छ। कार्यालयले ठेक्का तोड्न, पुल भत्काउन र नयाँ टेन्डर आह्वानका लागि तयारी अवस्थामा रहे पनि मुद्दा नटुंगेकोले अहिले कुनै काम हुन नसकेको उनको भनाइ छ। अदालतको निर्णय आएसँगै उक्त पुल निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरिने उनले बताए।

प्राविधिक त्रुटीका कारण निर्माण सम्पन्न भइसकेको टेकू पुल २०७५ देखि प्रयोगविहिन अवस्थामा छ। टेकू पुल पनि २०७१ असारमा २० करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो।


प्रकाशित : मंगलबार, असोज १९ २०७८०७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend