शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चार्जिङ स्टेसनको उपयुक्त विकल्प बन्न सक्छ ‘सोलार ट्री’ 

बिहीबार , भदौ २३ २०७९
चार्जिङ स्टेसनको उपयुक्त विकल्प बन्न सक्छ ‘सोलार ट्री’ 

कम्पनीले सोलार ट्रीमा सोलारबाट पैदा भएको विद्युत संचय गर्न एआईमा आधारित इनर्जी स्टोर एन्ड म्यानेजमेन्ट सिस्टम (ईएमएस) प्रविधि प्रयोग गरेको छ। यो प्रणालीले पावरको नियन्त्रण र नियमन गर्नेछ। 

काठमाडौं- विद्युतीय सवारी प्रयोगकर्ताहरूको सबैभन्दा ठूलो चासो र चिन्ता सवारीले कति माइलेज दिन्छ र चार्जिङ पूर्वाधार उपलब्ध छ/छैनमै केन्द्रित हुने गरेको छ। 

पेट्रोलियम सवारीसाधनका लागि हरेक सहर चोकचोक तथा राजमार्गमा पेट्रोल पम्प बनाइएको छ। विद्युतीय सवारीको प्रयोगले बल्ल रफ्तार लिने क्रममा रहेको छ। त्यो पनि धेरैजसो त युरोपेली देशहरूले धेरै प्राथमिकता दिएका कारण। 

तथापी विश्वभर शून्य प्रदूषण गर्ने विद्युतीय सवारीको प्रयोग जबरजस्त बढ्दै गइरहेको छ। सवारी उत्पादक कम्पनीहरूले आफ्नो सवारी बिक्री गरिरहेका हरेक बजारमा चार्जिङ पूर्वाधार निर्माणलाई विशेष जोड दिएका छन्। यतिमात्र होइन लामोसमय मैनप्रायः बसेको अमेरिकी सरकारले पनि विद्युतीय सवारीका लागि चार्जिङ पूर्वाधार निर्माण गर्न अर्बौं डलर लगानी गर्ने घोषणा गरिसकेको छ। 

छिमेकी देश भारतले पनि विद्युतीय सवारी उत्पादनलाई उच्च प्राथमिकतामा राख्ने गरि नीति बनाएर कार्यान्वयन गर्ने चरणमा रहेको छ। नेपाल सरकारले पनि विद्युतीय सवारीलाई प्राथमिकता दिँदै आयातमा लाग्ने कर सहुलियत दिएको छ। त्यस्तै विद्युत प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनासँग मिलेर चार्जिङ स्टेसन निर्माण गरिरहेको छ। 

चार्जिङ स्टेसनलाई सहज हुनेगरि लन्डनको एक कम्पनीले ‘सोलार ट्री’ सार्वजनिक गरेको छ। लन्डनको सोलारबोटानिक ट्रीज नामक कम्पनीले सोलार ट्रीको प्रोटोटाइप सार्वजनिक गर्दै पहिले यो प्रोजेक्टलाई विद्युतीय सवारीको लागि आवश्यक पर्ने चार्जिङ स्टेसनमा प्रयोग गर्ने बताएको हो। 

सोलारबोटानिकका अनुसार सोलार ट्री विश्वको पहिलो पात आकारको थ्रीजी नानोटेक्नोलोजीमा आधारित छ। रुखको जस्तै आकारमा रहेको यो सोलार स्टेसनको माथिल्लो भागमा रहेको प्लेट चार्ज भएर ५ किलोवाट पावर उत्पादन गर्नेछ। 

कम्पनीले सोलार ट्रीमा सोलारबाट पैदा भएको विद्युत संचय गर्न एआईमा आधारित इनर्जी स्टोर एन्ड म्यानेजमेन्ट सिस्टम (ईएमएस) प्रविधि प्रयोग गरेको छ। यो प्रणालीले पावरको नियन्त्रण र नियमन गर्नेछ। 

सोलारबोटानिकका अनुसार पहिलो पुस्ताको सोलार ट्री २०२३ बाट बजारमा उपलब्ध हुनेछ। ठूलो संख्यामा उत्पादन भएपनि सोलार ट्री सहज रुपमा सबैले किन्न सक्ने दाबी कम्पनीले गरेको छ। यद्यपी यसको मूल्यबारे भने कम्पनीले खुलाएको छैन।  

कम्पनीले सोलार ट्री पहिलो चरणमा धेरै विद्युतीय कार बिक्री हुने बजारमा उपलब्ध गराउने बताएको छ। यो ट्री घरायासी, व्यवसायीक क्षेत्र तथा सार्वजनिक कार पार्किङ सबैका लागि उपयु्क्त हुनेछ। 

सोलार ट्री नेपाली बजारमा समेत आएमा चार्जिङ स्टेसन सहज रुपमा धेरै ठाउँमा उपलब्ध हुनेछ। विश्व बजारमा बिक्रीका लागि सार्वजनिक भएको केही समयपछि उपयुक्त देखिएमा नेपाली बजारमा समेत आउने छ।   


प्रकाशित : बिहीबार , भदौ २३ २०७९०३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend