शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

'स्थानीयको ज्यानको सुरक्षा गर्न कंक्रिट वाल बनाउँदै छौँ'

आइतबार, असोज १७ २०७८
'स्थानीयको ज्यानको सुरक्षा गर्न कंक्रिट वाल बनाउँदै छौँ'

भोट माग्न जाँदाका प्रतिबद्धतासँगै जनताले भोगेका कष्ट हटाउन सिंगो नगरपालिका संयन्त्र परिचालित भइरहेको छ । जनताकै चाहनाअनुसार हामीले काम गरिरहेका छौँ।

चितवनको राप्ति नगरपालिका मेयर प्रभा बरालसँग स्थानीय पूर्वाधारका विषयमा गरिएको कुराकानीको सारांस

नगरपालिकाको नेतृत्व गरेपछि हालसम्म तपाईंले गरेको महत्वपूर्ण काम के हुन्? 

राप्ती नगरपालिकाको दक्षिणी भेगमा चितवन राष्ट्रिय निकुञ्ज छ । यो नगरपालिकाका लागि गौरवको विषय पनि हो । तर, त्यहाँका जीवजन्तु बस्तीभित्र पसेर स्थानीयको जनधनमा क्षति पुर्याउँदा  वन्यजन्तु– मानिसबीच द्वन्द्व सिर्जना भएको अवस्था थियो । यो समस्या समाधान गर्न त्यस क्षेत्रमा हामीले कंक्रिट वाल बनाउने निर्णय गर्यौँ । स्थानीयको ज्यानको सुरक्षा र खेतीबालीको संरक्षण गर्न कंक्रिट वाल बनाउनुबाहेक अरू कुनै विकल्प थिएन । सोहीअनुसार संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा यो परियोजना अघि सारिएको हो । अहिले कंक्रिट वाल निर्माण अन्तिम चरणमा पुगेको छ । 

यो परियोजनाबाट राप्तीको कति जनसंख्या प्रत्यक्ष लाभान्वित हुन्छ ? 

राप्ती नगरपालिकाको दक्षिण भेगमा रहेको वडा नम्बर १, ३ र ६ का बासिन्दालाई प्रत्यक्ष रूपमा लाभ दिएको छ । सँगै सडकमा हिँड्ने बटुवा र छेउछाउका अरू वडाले पनि राहत पाएका छन् । अब अप्रत्यक्ष रुपमा भने धेरै लाभ तथा परिवर्तनका आधार यो पूर्वाधारले तय गर्दछ जस्तो लाग्दछ ।

यो परियोजनामा नगरपालिकाको पनि लगानी छ कि समन्वय मात्र हो ?

यो परियोजनामा नगरपालिकाको प्रत्यक्ष लगानी रहेको छ । नगरपालिकाको ३० प्रतिशत हाराहारी लगानी यस परियोजनामा रहेको छ । लगानीको हिसाबमा भन्ने हो भने हामीले वडा तहसम्मको सहभागिता उक्त परियोजनामा लगाएका छौँ ।

चुनाव बेला स्थानीयलाई यो परियोजना निर्माणको आश्वासन दिनुभएको हो ?

निकुञ्जबाट हात्ती, गैंडा बस्तीमा पसेर जनतालाई दुःख दिएको म आफैँले देखेकी छु । जनताले पाएको दुःख र भोगेका कष्ट आफैँले नजिकबाट महसुस गरेकी छु । भोट माग्न जाँदा गरेका प्रतिबद्धता एकातर्फ राखेर भन्ने हो भने जनताले भोगेका कष्ट हटाउनु नै हाम्रो पहिलो प्राथमिकता हो । त्यसका लागि हामी लागिपरेका छौँ । 
 
तपाईंले यो परियोजनाबाट अरू कुनै लाभ देख्नुभएको छ ? 
कंक्रिट वाल बनेपछि यो बहुउपयोगी हुने देखेका छौँ । विद्यार्थीका लागि यो वाल निकुञ्जको अध्ययन र अवलोकनमा उपयोग गर्न सकिन्छ । कंक्रिट वाल पूरा भएपछि त्यहाँका सबै भित्तामा विभिन्न जनावरका चित्र बनाएर भित्तालाई नै पूरै निकुञ्जको तस्बिरको रूपमा प्रस्तुत गर्न सकिन्छ । छेउका घरमा होमस्टे पनि सञ्चालन गर्न सकिने भयो । त्यसका लागि हामीले पहल गर्नेछौँ । 

परियोजना बनाउनमा निर्माण व्यवसायीबाट कत्तिको सहयोग पाउनुभएको छ ?

यो परियोजना हामीले खण्ड–खण्डमा विभाजन गरेर निर्माण व्यवसायीलाई जिम्मा लगाएका छौँ । कुनै स्थानमा निर्माण व्यवसायीको ढिलासुस्ती देखिएको छ भने कतै स्थानीयले नै जमिनका कारण अवरोध गरेको पाइएको छ । तर, चाँडै परियोजना सम्पन्न हुनेमा विश्वस्त छौँ । 

 


प्रकाशित : आइतबार, असोज १७ २०७८०६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend