काठमाडौं- पछिल्ला केही सातायता सेयर बजारमा सुधारको अपेक्षा गरिए पनि अवस्था भने स्थिर देखिएको छ। ठूलो अंकको वृद्धि र ठूलो अंकको गिरावट दुवै नभएको बजार उही बिन्दु वरपर घुमिरहेको छ।
बुधबारको कारोबारमा बजार व्यापक उतारचढावमा रह्यो। सुरुवाती कारोबारको केही समय उछाल देखिएको बजारले निरन्तर उही गति समात्न सकेन। बुधबार २.८७ अंकको झिनो वृद्धिसँगै बजार २०५७.८५ बिन्दुमा पुगेको छ। पछिल्लो केही समययता कारोबार रकममा पनि सुधार देखिन सकेको छैन। बुधबार १ अर्ब ५२ करोड रुपैयाँको कारोबार भयो।
बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन नसकेको विश्लेषकहरू बताउँछन्।
यो साता आइतबार ७.७२ र सोमबार ७.३८ अंकको गिरावट देखिएको सेयर बजारमा मंगलबार उतारचढावका बीच १.८१ अंकको वृद्धि देखिएको थियो। केही दिनको उछाल र केही दिनको गिरावटबीच उतारचढाव भइरहेको बजार अहिले भने स्थिरजस्तै बनेको छ।
चलखेलमा रमाउने ठूला लगानीकर्ताहरूले बजार बढाउँदा बढेको बजारमा उत्साही भएर पस्ने र बजार ओरालो लाग्दा आत्तिएर मेसो नपाउने साना लगानीकर्ता मारमा परिरहेको विश्लेषकहरू बताउँछन्। बढेको बिन्दुमा बजार प्रवेश गरेर अतालिएका साना लगानीकर्तामाझ भ्रम छर्ने र छोटो समयका लागि उतारचढाव बनाइरहने गर्नाले बजारले सुधारको स्थायी आधार नभेटेको उनीहरूको भनाइ छ।