आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

उपभोक्ता समितिमार्फत बाटो खनेका महिलालाई ऋणको भार

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ८ २०७९
images
उपभोक्ता समितिमार्फत बाटो खनेका महिलालाई ऋणको भार

टिपर मालिकले ग्राभेल खसालेको रकम उपभोक्ता समितिबाट असुल गर्न ४५ दिनअघि कागज गरेको थियो। उक्त म्याद आज सकिँदैछ।

images
images

टीकापुर- कैलालीको भजनीमा उपभोक्ता समितिमार्फत काम गरेका महिला यतिखेर घरबाट रकम तिर्नुपर्ने भएपछि समस्यामा छन्। भजनी नगरपालिका-२ पल्टुपुरका सडक निर्माण उपभोक्ता समितिका महिला काम गर्दा खर्च भएको भन्दा कम रकम पालिकाबाट पाएपछि समस्यामा परेका हुन्।

images
images
images

सिमलको रुखदेखि खडक बुढाको घरसम्म बाटो ग्राभेलका लागि नगरपालिकाले ५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। महिलाले त्यहाँ बाटो ग्राभेल गर्दा पालिकाबाट ३ लाख १ हजार रुपैयाँमात्रै भुक्तानी पाएका छन्। बाटो बनाउँदा खर्च भएको १ लाख १५ हजार रुपैयाँ तिर्न बाँकी रहेपछि उनीहरु यतिखेर समस्यामा छन्।

images
images

उपभोक्ता समितिमा स्थानीय ११ महिला छन्। महिलाले बाटो बनाउँदा टिपरलाई मात्र ३ लाख ९० हजार र जेसिबीलाई १२ हजार रुपैयाँ तिर्न बाँकी छ। अन्य काम गर्दाको खर्चको हिसाब छैन। सुरुआतमा नगरपालिकाका प्राविधिकले सडक नापेर गर्नु भने जति नै आफूहरूले काम गरेको उनीहरुले बताएका छन्।

images
images

प्राविधिकले बनाएको स्टिमेटअनुसार काम गरे पनि रकम कम भुक्तानी दिँदा समस्या भएको उपभोक्ता समितिकी अध्यक्ष इन्द्रा धामी बताउँछिन्। 'हामीले भनेअनुसार काम गर्‍यौँ', उनले भनिन्, 'पहिला त्यही नापेको थियो, ठीक छ यति ग्राभेल गर्नु भनियो, पछि रकम भुक्तानी दिँदा कम काम भयोे, रकम घट्छ भनेर थोरै दिए। प्राविधिकले नापेर बनाउन भने जति बाटो बनाएका हौँ।'

पालिकाका प्राविधिकले दुःख दिएको अध्यक्ष धामीको आरोप छ। पालिकाले भुक्तानी कम दिएपछि ग्राभेल हालेको रकम तिर्न नसक्दा विपन्न बस्तीका महिला तनावमा छन्। महिलालाई रकम तिर्न ताकेता गर्दै टिपर मालिकले कागज गराएर गाई भैँसी उठाउने भनेपछि उनीहरु अब रकम कसरी तिर्ने भन्ने पीरमा रहेको धामी बताउँछन्। 'टिपरलाई ९० हजार रुपैयाँ तिर्न बाँकी छ। हामीसँग ४५ दिनको कागज गरिएको छ। आज ४५ दिन पुग्दैछ', उनले पीडा सुनाइन्, 'अब कहाँबाट ल्याएर तिर्ने?, बाटो बनाउँदा ऋणमा डुब्यौँ।'

महिलाले टिपर मालिकलगायतलाई गरी अझै १ लाख १५ हजार तिर्न बाँकी छ। उपभोक्ता समितिका सचिव तारा बोहरा बुढा अब बाख्रा बेचेर भए पनि ऋण तिनुपर्ने वाध्यता आइलागेको बताउँछन्। उनले भनिन्, 'निकै समस्यामा छौँ। बाख्रा पाल्नेले त्यही बेचेर तिर्ने सोच बनाएका छौँ।' ६ सय २० मिटर ग्राभेल गरेको स्थानीय बताउँछन्। पालिकाले हिसाब गरेर चार सय ८५ मिटर बाटोको कामको मात्र भुक्तानी दिएको स्थानीय मनबहादुर बुढाले बताए। सो क्रममा उनीहरुले श्रमदानसमेत गरेका थिए। 'माग सम्बोधन नगरे महिला अब विकासका काममा हात हाल्न डराउने छन्', उनले भने। 

टिपर मालिकले ग्राभेल खसालेको रकम उपभोक्ता समितिबाट असुल गर्न ४५ दिनअघि कागज गरेको थियो। उक्त म्याद आज सकिँदैछ। ९० हजार तिर्नुपर्ने भनी बनाइएको कागजमा ऋणीमा उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई राखिएको छ भने स्थानीय भल्मन्सा बलबहादुर बुढालाई साक्षी राखिएको बुढा बताउँछन्। 'मेरै घरमा कागज गरियो, कागजमा के लेखिएको छ हामीले हेर्न पाएनौँ', उनले भने, 'उपभोक्ता समितिलाई ऋणी बनाइएको छ। मलाई साक्षी राखिएको छ।'

स्टिमेटअनुसार छ सय २० मिटर सडक ग्राभेल गर्नुपर्ने छ तर चार सय ८५ मिटरमा ग्राभेल गरिएको भजनी नगरपालिकाले जनाएको छ। नगरपालिकाका सबइञ्जीनियर भावना विष्टले कामअनुसारको पालिकाबाट भुक्तानी भएको तर नभएको कामको भुक्तानी दिन नसकिने बताइन्। 'उहाँहरुले काम गरेअनुसार भुक्तानी दिइएको छ। रकम नपुगेको बारे मलाई थाहा छैन', उनले भनिन्, 'हामीले नापेर भुक्तानी दिने हो। त्यहीअनुसार दिएका छौँ।' रासस


प्रकाशित : बुधबार, भदौ ८ २०७९०७:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend