काठमाडौं- नीतिगत साथ नपाउँदा ओरालो लागेको भनिएको सेयर बजारमा पछिल्लो समय उही बिन्दु वरपर उतारचढावको श्रृंखला दोहोरिरहेको छ।
गएको साता उतारचढावका बीच समग्रमा ३०.४९ वृद्धि देखिएको सेयर बजारमा यो साताको पहिलो कारोबारमा आइतबार ७.७२ अंकको गिरावट देखिएको थियो। सोमबार पनि ७.३८ अंकको गिरावटसँगै बजार २०५३.१६ बिन्दुमा झरेको छ। जहाँ १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ। सोमबार ४७ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको मूल्यमा गिरावट आएको छ भने १६ कम्पनीको मूल्य स्थिर रहेको छ।
२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार 'क्रयास' नजिक पुगिसकेको थियो। त्यसयता निरन्तरको खबरदारी र केही नीतिगत परिवर्तनका कारण लगानीकर्ता उत्साहित देखिए पनि बजारले सुधारको स्थायी आधार भेट्न सकेको छैन। केही दिनको उछाल र केही दिनको गिरावटबीच बजारमा उतारचढाव भइरहेको छ।
अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै जाँदा पुँजी बजारले भने अपेक्षाकृत बाटो समात्न सकिरहेको छैन। पुँजी बजारमा जोडिने लगानीकर्ताको संख्या बढेर बहुपक्षीय चासोमा परिरहँदा पनि बजारको उतारचढाव स्वभाविक हुन सकिरहेको छैन।
चलखेलमा रमाउने ठूला लगानीकर्ताहरूले बजार बढाउँदा बढेको बजारमा उत्साही भएर पस्ने र बजार ओरालो लाग्दा आत्तिएर मेसो नपाउने साना लगानीकर्ता मारमा परिरहेको विश्लेषकहरू बताउँछन्। बढेको बिन्दुमा बजार प्रवेश गरेर अतालिएका साना लगानीकर्तामाझ भ्रम छर्ने र छोटो समयका लागि उतारचढाव बनाइरहने गर्नाले बजारले सुधारको स्थायी आधार नभेटेको उनीहरूको भनाइ छ।
विश्लेषकहरूका अनुसार बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन सकेको छैन।
नियामकीय साथ मिलेको भनिएको बजारमा पछिल्लो समय सुधारको आश देखिए पनि बजार अझै जोखिमपूर्ण अवस्था नै रहेको विश्लेषकहरू बताउँछन्। फेरि पनि बजारको अवस्था अप्राकृतिक देखिँदै गएको उनीहरूको भनाइ छ।