शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टेस्लाले उत्पादन गर्‍यो ३० लाखौँ विद्युतीय कार, १० वर्षमा १० करोड कारको योजना

शनिबार, साउन २१ २०७९
टेस्लाले उत्पादन गर्‍यो ३० लाखौँ विद्युतीय कार, १० वर्षमा १० करोड कारको योजना

अमेरिकामा २ वटा तथा चीन र जर्मनीमा १/१ वटा गरि हाल टेस्लाका ४ वटा गिगाफ्याक्ट्री सञ्चालनमा रहेका छन्।

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले उत्पादन सुरु गरेयता ३० लाख वटा कार उत्पादन गरेको छ। टेस्लाका लगानीकर्ताहरुको शुक्रबार भएको वार्षिक बैठकमा सीईओ एलन मस्कले कम्पनीले हालै ३० लाखौँ कार उत्पादन गरेको बताएका हुन्। 

२००४ मा टेस्लाले आफ्नो कारको प्रोटोटाइप सार्वजनिक गरेपनि २००८ मा विद्युतीय कार उत्पादन सुरु गरेको थियो। २०१२ देखि भने टेस्लाले कार उत्पादनलाई बढाउन थालेको थियो। उक्त बैठकमा मस्कले भनेका छन्, ‘आजभन्दा १० वर्षअघि हामीले ३ हजारभन्दा कम कार उत्पादन गरेका थियौँ। त्यसको १० वर्षपछि अहिले हामीले ३० लाख कार उत्पादन गर्ने सफलता हात पारिसकेका छौँ।’ 

टेस्लाको अमेरिकामा रहेको पहिलो प्लान्टबाट २० लाख कार उत्पादन भएको हो भने बाँकी १० लाख कार गिगाफ्याक्ट्री सांघाई, बर्लिन र टेक्ससबाट उत्पादन भएको हो। यी सबै प्लान्टबाट हुने उत्पादन संख्यालाई बढाउने नीति टेस्लाले लिएको छ। 

tesla ev product chat.PNG

टेस्लाको कार बिक्री तथ्यांक निक्कै लाभलाग्दो रहेको छ। छोटो समयमा टेस्लाले विद्युतीय कारको विश्व बजारमा नयाँ मानकसमेत कायम गर्न सफल भएको छ। 

टेस्लाको आगामी योजना १० वर्षमा १० करोड कार उत्पादन गर्ने रहेको सीईओ मस्कले बताएका छन्। २०३० देखि टेस्लाले वार्षिक २ करोड वटा कार उत्पादन गर्ने योजना सार्वजनिक गरिसकेको छ। १० वर्षमा टेस्लाले १० करोड कार उत्पादन गर्न करिब १२ वटा गिगाफ्याक्ट्री चाहिने बताएको छ। 

अमेरिकामा २ वटा तथा चीन र जर्मनीमा १/१ वटा गरि हाल टेस्लाका ४ वटा गिगाफ्याक्ट्री सञ्चालनमा रहेका छन्। यी सबै प्लान्टमा उत्पादन संख्या बढाउने निर्णय कार्यान्वयनको चरणमा रहेको छ। अबको ८ वर्षपछि वार्षिक २ करोड कार उत्पादन गर्न के के चाहिने र कसरी काम गर्ने भन्ने विस्तृत योजना टेस्लाले तयार गरिरहेको छ। उक्त योजना अबेको केही समयपछि सार्वजनिक हुने मस्कले वार्षिक बैठकमा भनेका हुन्। 

टेस्लाका कारको माग संसारभर नै बढ्दै गएको छ। पूर्णतः विद्युतीय कार मात्र उत्पादन गर्ने गरि स्थापना भएको टेस्लाले परम्परागत कार उत्पादकहरुलाई पनि विद्युतीय कार उत्पादनमा जानुपर्ने दबाब सृजना गरिरहेको छ। आईसी इन्जिनयुक्त कारले प्रदूषण बढाएको भन्दै विश्वभर यसको विकल्पमा जाने लहर नै चलिसकेका छ वा भनौं विश्व यसमा सहमत भइसकेको छ। 

टेस्लाका कार विश्वका विभिन्न देशका साथै नेपाली सडकमा समेत गुडिरहेका छन्। टेस्लाले उत्पादन गरेका आधा दर्जनभन्दा बढी मोडलमध्ये टेस्ला मोडल एक्स, मोडल वाई र मोडल थ्री नेपाली बजारमा उपलब्ध रहेका छन्। 

टेस्लाले २०२१ मै बजारमा ल्याउने भनेको साइबर ट्रक हालसम्म उत्पादन सुरु गरेको छैन। टेस्लाले २०२० देखि करिब १ लाखभन्दा बढी उपभोक्तासँग १ हजार अमेरिकी डलर लिएर साइबर ट्रक बुकिङ गरेर बसेको छ। केही परिमार्जनसहित २०२३ मा भने साइकर ट्रक बजारमा आउने दाबी कम्पनीले गरेको छ। 


प्रकाशित : शनिबार, साउन २१ २०७९०८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend