काठमाडौं- सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने सिजनमै सेयर बजार डिप्रेस भएको छ। चार वाणिज्य बैंकहरूले अपेक्षाकृत लाभांश घोषणा गरिरहेका छन्। सेयर बजारलाई लक्षित गर्दै अधिकांश बोनस सेयरलाई प्राथमिकता दिएका छन्।
तर लाभांश घोषणा गरेको दिन कम्पनीको शेयर मूल्यमा गिरावट आइरहेको छ। सबैभन्दा तल्लो बिन्दुमा रहेका वाणिज्य बैंकहरूको सेयरमा हौसिएका लगानीकर्ताहरूले हरेक दिन नोक्सान बेहोर्दै छन्। मूल्य घट्ने वित्तिकै अवसरको रुपमा सेयर खरिद गर्नेहरू दिन दिनै आफ्नो पोर्टफोलियो घटेको हेरेर बसिरहेका छन्। बजार बुलिस ट्रेण्डमा छ भन्ने विश्लेषणलाई लगानीकर्ताहरूले पनि कतै वियरिस ट्रेण्डमा गएको त होइन भन्ने अनुमान लगाउन थालेका छन्।
गएको वर्ष सेयर बजार जसरी उकालो लागेको थियो अहिले त्यसरी नै घटिरहेको छ। यस अवधिमा नाफा हुनेले बिक्री गरेर बाहिरिरहेका छन् भने थोरै नोक्सान हुनेहरूले पनि बिक्री गरेर स्टप लसको सिद्धान्त पछ्याइरहेका छन्। कारोबार रकम हेर्दा सेयर बजार अझै केही समय सुधार हुने अवस्थामा छैन। दोस्रो बजारको गति दोस्रो बजारमा हुने कारोबार रकमले धेरै हदसम्म निर्धारण गर्छ। यदि कारोबार रकम बढ्यो भने स्वभाविक बहुसख्यक लगानीकर्ताको मनोविज्ञान अब बजार बढ्छ भन्ने हुन्छ।
बजार सुधार हुन्छ भन्ने थाहा हुँदै हुदै पनि डराएर शेयर बिक्री गर्नेहरू हाबी हुँदा सूचक थप तल झरेको विश्लेषकहरू बताउँछन्। उनी भन्छन् 'नडराउन पनि कसरी, होल्ड गर्दा गर्दै पोर्टफेलियो आधा भइसक्यो।' दोस्रो बजारमा एकदमै राम्रो भनिएका कम्पनीको सेयर मूल्यमा पनि भारी गिरावट देखिन्छ। राम्रो लाभांश दिन्छ भन्ने थाहा हुँदा हुँदै पनि लगानीकर्ताहरू सेयर किन्न समेत डराइरहेका छन्।
किन डराए लगानीकर्ता
पहिलो कारण हो नसोचिएको हिसाबल सेयर बजार तल झरिरहेको छ। दुई दिन बजार बढ्दा सात दिन घट्छ। दुई दिन बढ्यो भने सेयर किन्यो डिम्याट खातामा सेयर आउँदा किनेको भन्दा धेरै तल झरिसकेको हुन्छ। यसले गर्दा पनि लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन्। हौसिएर खरिद गरेकाहरू पनि नोक्सानमा रहेकाले उनिहरू डराएका हुन्।
दोस्रो कारण हो दसैँ अगाडी सेयर बजार बढ्दैन भन्ने मनोविज्ञान। यस्तो मनोविज्ञान निर्माणकर्ता भने ब्रोकरहरू हुन्। उनीहरूले दसैँ अगाडि सेयर नकिन्नु बजार अझै तल झर्छ भनेका छन्। यसले गर्दा मास साइकोलोजि नै बजार तल झर्छ भन्ने भएको छ। सेयर बजारमा मास साइकोलोजीले सबैभन्दा धेरै काम गर्छ।
तेस्रो कारण हो बजारमा अहिले ठूला लगानीकर्ता छैनन्। ठूला लगानीकर्ताहरू साउनमै सेयर बिक्री गरेर बाहिरिसकेका छन्। ठूला लगानीकर्ताले बोराको बोरा पैसा लिएर बारिएको हुँदा सेयर बजारको तरलता खुम्चिएको छ। बजार जति धेरै कारोबार हुन्छ त्यसले त्यहि अनुसार उतारचढाव सिर्जना गर्छ। साना तथा मध्यम किसिमका लगानीकर्ताले न त सेयर बिक्री गर्न भ्याएका छन् न त उनीहरू थप सेयर खरिद गर्न सक्ने अवस्थामा छन्। यसले गर्दा भर्खरै आएका तथा बजार तल झरेको मौका कुरेर बसेकाहरूले बाहेक खासै सेयर खरिद गरिरहेका छैनन्।
चौथो कारण हो बैंकिङ तरलता। बैंकहरूमा तरलता अभाव हुँदा बैंकहरू थप कर्जा विस्तार गर्न सक्ने अवस्थामा छैनन्। यस महिना निक्षेपको व्याजदर बढाएका बैंकहरूले अर्को महिना कर्जाको व्याजदर पनि बढाउने छन्। निक्षेपको व्याजदर बढाउने वित्तिकै आधार व्याजदर बढ्छ जसले गर्दा कर्जाको व्याजदर स्वत बढ्छ। यसले अर्कोमा बजारलाई थप हिट गर्नेछ।
पाँचौ कारण अस्थिर सरकार। अझै पनि राजनीतिक अन्योलता कायमै छ। मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। यसले पनि लगानीकर्ताहरूको कन्फिडेन्स बढाउन सकेको छैन।