आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

ऋण नपाउँदा अप्ठ्यारोमा पुष्प व्यवसाय

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, साउन १४ २०७९
images
ऋण नपाउँदा अप्ठ्यारोमा पुष्प व्यवसाय

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ। अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ।

images
images

काठमाडौं- बैंकबाट सहजरुपमा ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय विस्तार गर्न समस्या भएको छ। लामो समय कोरोना महामारीको सामना गरी विस्तारै लय लिन लागेको उक्त व्यवसाय विस्तारका लागि वातावरण नबन्दा व्यवसायी मारमा परेका छन्।

images
images
images

लामो समयदेखि कलङ्कीमा नर्सरी सञ्चालन गर्दै आएका श्याम उप्रेतीले व्यवसाय जेनतेन धाने पनि आर्थिक समस्याका कारण विस्तार गर्न नसकेको बताए। कोरोना महामारी अघि सहजरुपमा ऋण उपलब्ध हुने गरेको भए पनि अहिले विभिन्न बहानामा नपाउँदा लगानी बढाउन नसकेको उनले दुःखेसो पोखे।

images
images

सामान्यतया नर्सरी सञ्चालनका लागि ५० लाखदेखि एक करोड रुपैयाँसम्म लगानी गर्नुपर्ने व्यवसायी बताउँछन्। लगानी बढाउन नपाएकै कारण पछिल्लो समय फूलको उत्पादनमा कमी आएको छ। कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो। खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो। 

images
images

पुष्प व्यवसायीका अनुसार फूलको व्यापार भने आशाअनुरुप हुन सकेको छैन। कोरोना महामारीको समयमा भन्दा अहिले केही गतिविधि बढे पनि विगतको झैँ लय लिन अझै नसकेको फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए। व्यवसाय विस्तार गर्न नसक्दा कारोबार कम भएको छ। गत आर्थिक वर्षमा तीन अर्बको कारोबार गर्ने लक्ष्य लिएको यस व्यवसायमा दुई अर्ब बराबर मात्र कारोबार भएको अनुमान गरिएको छ।  

हाल खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छन् भने अझै पनि नौ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको अध्यक्ष तामाङले जानकारी दिए। पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ। मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ। अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको समय भएकाले फूल बढी प्रयोग हुने गर्दछ। फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ। नेपालमा हाल करिब पाँच सय प्रजातिको फूल रहेको भए पनि व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूलको मात्र उत्पादन र बिक्रीवितरण हुँदै आएको छ। नेपालमा झण्डै १५७ हेक्टरमा एक हजार व्यवसायीले यसको खेती गर्दै आएका छन्। रासस


प्रकाशित : शनिबार, साउन १४ २०७९०९:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend