शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

स्वावलम्बी अर्थतन्त्र स्थापित गर्न राष्ट्रपतिको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २८ २०७९
स्वावलम्बी अर्थतन्त्र स्थापित गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले चुलिँदो व्यापार घाटा नियन्त्रण गर्न आयात प्रतिस्थापन गरी स्वावलम्बी अर्थतन्त्रको निर्माण नगरेसम्म नेपालको संविधानले परिलक्षित गरेको समाजवादोन्मुख अर्थतन्त्र स्थापित हुन नसक्ने बताएकी छिन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार, २०७७/७८ वितरण गर्न मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यसका लागि मुलुकमा उपलब्ध साधन र स्रोतको सदुपयोगद्वारा कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नु पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिइन्। 

उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्दै रोजगारीको सिर्जना तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्नु हाम्रो अर्को प्राथमिकता हुनुपर्ने बताइन्। स्रोत, साधन र अवसरमा विपन्न वर्ग एवं युवाको पहुँच सुनिश्चित गरी समतामूलक राज्य व्यवस्था निर्माण गरेर मात्र समाजवादको सपना साकार बनाउन सकिने जनाइन्।

'कुनै पनि मुलुकको राजनीतिक–आर्थिक प्रणाली निश्चित सैद्धान्तिक अवधारणामा आधारित रहेको हुन्छ। नेपालको संविधानले पनिसार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता मार्फत स्वदेशमा उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा आर्थिक वृद्धि हासिल गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रसहितको समाजवाद उन्मुख शासन प्रणाली स्थापना गर्ने लक्ष्य लिएको छ' राष्ट्रपति भण्डारीले भनिन्, 'आज पुष्पलालका योगदानको चर्चा गरिरहँदा सामाजिक न्यायमा आधारित आर्थिक समृद्धितर्फका हाम्रा पाइला समाजवादको सैद्धान्तिक अवधारणासँग सङ्गीत राख्छन् कि राख्दैनन् भनेर समीक्षा गरिनुपर्दछ भन्ने मलाई लाग्दछ।'

नेपालको लोकतान्त्रिक एवं वामपन्थी आन्दोलनको इतिहासमा पुष्पलाल श्रेष्ठको भूमिका सदैव अविस्मरणीय रहेको पुष्पलालबाट हरेक पुस्तालाई प्रेरणा प्राप्त भएको राष्ट्रपतिको भनाइ थियो। रासस


प्रकाशित : मंगलबार, असार २८ २०७९१३:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend