शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेक्सन ईभीको डार्क एडिसन नेपाल आयो, ५ तस्बिरमा हेर्नुहोस् यस्तो छ 'लुक्स'

सोमबार, असार २७ २०७९
नेक्सन ईभीको डार्क एडिसन नेपाल आयो, ५ तस्बिरमा हेर्नुहोस् यस्तो छ 'लुक्स'

नेपाल आएको उक्त डार्क एडिसन कम्पनी थापाथली स्थित सोरुममा समेत राखेको छ। 

काठमाडौं- टाटा मोटर्सको नेक्सन ईभीको डार्क एडिसन काठमाडौं आइपुगेको छ। टाटाले नेक्सन ईभीको रेगुलर एडिसनभन्दा भिन्न रुपमा डार्क एडिसन उत्पादन गरेको थियो। भारतमा केही समयअघि सार्वजनिक भएको डार्क एडिसन हालै नेपाल भित्रिएको हो। 

नेपाल आएको उक्त डार्क एडिसन कम्पनी थापाथली स्थित सोरुममा समेत राखेको छ। 

सवारी उत्पादकहरूले नियमित उत्पादन भइरहेकै मोडललाई केही विशेष बनाएर सीमित संख्यामा उत्पादन गर्ने गरेका छन्। यस्तो मोडललाई ‘स्पेसल एडिसन’ भनिन्छ। डिजाइन र प्लेटफर्म समान भए पनि स्पेसल एडिसनमा केही युनिक विशेषताहरू समावेश गरिएको हुन्छ र त्यसले उपभोक्तालाई आकर्षित गर्छ। 

nexon EV3.jpg

राम्रो बिक्री भएका मोडलहरूको स्पेसल एडिसन (विशेष संस्करण) सबैजसो कार उत्पादकले ल्याउने गरेका छन्। स्पेसल एडिसन ल्याउनका लागि उपभोक्ताले समेत आग्रह गर्ने गरेको पाइन्छ। राम्रो चलेको मोडल नै किन्ने मन लागेका तर रेगुलरभन्दा केही फरक होस् भन्ने चाहना राखेका उपभोक्ताको रोजाइमा स्पेसल एडिसन हुन्छ। उत्पादन कम्पनीले त्यहीअनुसार रंग, सिट, इन्टेरियरलगायतमा केही विशेष सुविधा थप गरेर स्पेसल एडिसन बजारमा ल्याउँछ। 

टाटा मोटर्सले पनि आफ्नो सर्वाधिक माग भएको नेक्सन एसयूभीको विद्युतीय भर्सन नेक्सन ईभीको स्पेसल एडिसन सार्वजनिक गरिसकेको थियो। सप्लाइ चेनलगायतका कारण उत्पादन सीमित हुँदा भारत तथा नेपालमा समेत नेक्सन ईभी किन्न चाहनेले केही महिना कुर्नुपर्ने अवस्था रहेको छ। 

यसैका बीच टाटा मोटर्सले नेक्सन ईभीको विशेष संस्करण ‘नेक्सन ईभी डार्क एडिसन’ बजारमा ल्यायो भने उक्त संस्करण नेपाली बजारमा समेत काठमाडौं आइपुगेको हो। 

nexon EV1.jpg

नेपाली बजारमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पनि नेक्सन ईभीको डार्क एडिसन ल्याएको हो। भारतमै अत्याधिक माग भएकाले नेक्सन ईभीको डार्क एडिसन उत्पादक कम्पनी टाटाले लामो समयदेखि नेपालका लागि आपूर्ति गर्न सकिरहेको थिएन। तर अब भने नेपाली उपभोक्ताले उक्त कार चढ्न पाउने भएका छन्। 

नेक्सन ईभी डार्क एडिसनमा पहिलेकै मोडलमा जस्तै ३०.२ किलोवाट आवरको ब्याट्री र पीकपावर ९५ किलोवाट क्षमताको मोटर हुनेछ। एआरएआईका अनुसार फुल चार्जमा नेक्सन ईभीले ३१२ किलोमिटर रेन्ज दिन्छ। डार्क एडिसनमा पनि रेन्ज भने समान नै हुनेछ।

डार्क एडिसनको नेक्सन ईभीमा पावर, ब्याट्री, रेन्ज, मोटरलगायतका विशेष्ता समान भएपनि यसमा इन्टेरियर डिजाइनमा डार्क थिमका लेदर सिटहरू उपलब्ध छ। बाहिरी आवरणको रंगसमेत कालो नै रहेको छ। नियमित नेक्सन ईभीभन्दा यो कार देख्दा भिन्दै र निक्कै आकर्षक देखिन्छ। 

nexon EV2.jpg

यो एडिसन १६ इन्चको प्रिमियम ब्ल्याक अलोय ह्वीलमा आउनेछ। सबै इन्टेरियर पार्ट नै डार्क थिममा डिजाइन गरिएको छ। यसमा साटन ब्ल्याक ह्युम्यानिटी लाइन समावेश गरिएको छ। सिट बेल्ट पनि साटन ब्ल्याक नै रहेको छ।

नेक्सन इभीको डार्क एडिसनमा पनि सिग्नेचर एलइडी टेल ल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, बडी कलर डोर ह्याण्डल जस्ता विशेषता समावेश गरिएको छ। 

हाल नेपालमा उपलब्ध टाटा नेक्सन इभीको ब्ल्यु, ह्वाइटलगायत रङमा आइरहेका छन्। हाल नेपाली बजारमा नेक्सन ईभीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँदेखि ४१ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ। नयाँ आउने डार्क एडिसनको भने मूल्य भने रेगुलरको तुलनामा केही बढी हुने कम्पनीको भनाइ छ।  

nexon EV4.jpg

टाटा नेक्सन ईभी तीनवटा एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स भेरियन्ट उपलब्ध छ। यसमा डार्क एडिसन पनि थपिएको छ। 

विद्युतीय कारको सबैभन्दा चुनौती भनेको ग्राउन्ड क्लियरेन्स हो। यसमा नेक्सन ईभी अब्बल देखिएको छ। नेक्सन ईभीमा २ सय ५ एमएमको ग्राउन्ड क्लियरेन्स छ। नेपालमा कार किन्ने धेरैको ध्यान ग्राउन्ड क्लियरेन्समा समते जाने गरेको छ। ईभी उपभोक्तालाई ग्राउन्ड क्लियरेन्स, मूल्य तथा आकर्षक डिजाइनले नेक्सन ईभी तिरै तान्ने गरेको छ।


प्रकाशित : सोमबार, असार २७ २०७९१२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend