आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

बिचौलियाको मार छल्न बजार खोज्दै किसान

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १२ २०७८
बिचौलियाको मार छल्न बजार खोज्दै किसान

गोठभरी गाई पालेका विकास पौडेल दिनमा ५० लिटर दूध उत्पादन गर्छन्। विदेशमा केही वर्ष काम गरेर गाउँ फर्किएपछि उनले व्यावसायिक पशुपालन थालेका हुन्। 

बलेवा- गोठभरी गाई पालेका विकास पौडेल दिनमा ५० लिटर दूध उत्पादन गर्छन्। विदेशमा केही वर्ष काम गरेर गाउँ फर्किएपछि उनले व्यावसायिक पशुपालन थालेका हुन्।

बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा रहेको उनको फार्ममा उत्पादन भएको दूध हिउँदमा ढुक्कले बिक्री हुन्छ, वर्षामा भने बजारको समस्या। बिहानको बिक्री गरे बेलुका रोकिन्छ, बेलुकाको बिक्री हुँदा बिहान बजार जाँदैन। 

व्यावसायिक रुपमा उत्पादन भएको दूध घरायसी प्रयोजनले मात्रै खपत हुँदैन। विकास जस्तै जैमिनी र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा झण्डै एक सय किसानले व्यावसायिक दूध उत्पादन गर्छन्। बजारमा हुने मोलमोलाईले सबैको समस्या उस्तै छ। बानपा-१२ अमलाचौरमा एकल रुपमा दैनिक २०० लिटर दूध उत्पादन गर्ने लीलाधर शर्माले खोला र सडकमै दूध पोखेका अनेक किस्सा छन्।

किसानको दूध बजारमा पुग्दा बिचौलिया रमाउँछन्। सुख्खा याममा दूधको माग अधिक हुने बजारले बर्खामा भने किसानको दूध फिर्ता गर्छ। 'बजार छैन भनौँं हाम्रै स्थानीय बजारमा समेत पोखराको दूध आउछ, छ भनौँ भने हाम्रो दूध बेलाबेलामा रोकिन्छ, मिल्क होलिडे हुन्छ' किसान विकास पौडेल भन्छन्, 'हामी सङ्गठित हुन सकेनौं, बिचौलियाको मनलाग्दी छ, उपभोक्ताले दूध पाउँदैनन्।' जैमिनीमा व्यावसायिक दूध उत्पादन गर्ने फार्म र किसान समूहले बनाएका सङ्कलन केन्द्र गरेर ११ समूह छन्। 

अमलाचौरका दुई सहकारीका सङ्कलन केन्द्र पनि जैमिनीका किसानसँग जोडिन्छन्। दैनिक झण्डै दुई हजार लिटर दूध उत्पादन हुने जिल्लाको दक्षिण क्षेत्रको दूधमा एक रुपता छैन। सहकारी, समूह र फार्मले उत्पादन गरेको दुध आ-आफ्नै तरिकाले बजार पुर्‍याउने गरेका छन्। बजारमा रहेका डेरी पसलमा सम्झौता गरेर दूध बिक्री गर्ने किसानले कहिले बन्दाबन्दीको मार त कहिले बाढीपहिरोको मार व्यहोर्ने गरेका छन्। असजिलो समयमा बजारमा दूध पुर्‍याउन आफ्नो दूध खरिद गर्नेले बहाना बनाएर रोकिदिने गरेको किसान प्रेम पौडेलको गुनासो छ। 

किसानका समस्या देखेको जैमिनीले किसानलाई सङ्गठित गर्न थालेको छ। किसानले आफै बजार खोज्ने, उत्पादित दूधलाई एकद्वार प्रणालीबाट बजारमा पुर्‍याउने र मूल्यमा समेत एकरुपता कायम गर्न नगरपालिकाले किसान समूह बनाएको छ। छिमेकी नगरपालिकाको एक वडाका किसानलाई समेत सहभागी बनाएर नगरले १३ वटा दूध उत्पादक तथा सङ्कलन केन्द्रका प्रतिनिधि सम्मेलित समूह निर्माण गरेको जैमिनी नगरपालिका पशु शाखाका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए।

'सधैंँ बजारको समस्या, किसानलाई एकैखालको समस्या, अब त्यो समस्या टार्न किसान आफै सक्रिय हुनेछन्' उनले भने, 'बजारको खोजी र किसानको दूध एकै ठाउँमा सङ्कलन गरेर बिक्री गर्नका लागि पहल थालेका छौं।' अमलाचौरको कालीगण्डकी दुग्ध उत्पादक सहकारीका मुक्ति आचार्यको नेतृत्वमा समूह गठन भएको छ। 

एघार सदस्य रहेको समूहका सचिवमा जैमिनी-२ दमेकका किसान नन्दलाल सापकोटा र कोषध्यक्षमा जैमिनी-१ कुश्मीशेराका दिनानाथ आचार्य छन्। अन्य सबै फार्म र संकलन केन्द्रका प्रतिनिधि सम्मेलित समिति बनेकाले स्थानीय बजार र पोखरामा समेत नियमित दूध पठाउन सक्नेगरी बजारको व्यवस्थापन गर्ने उनले बताए। 

समूह बनेर बिचौलिया छल्ने र बजार खोज्ने भएपछि किसानमा आशा पलाएको छ। 'दूध बेचे पनि समयमा पैसा नआउने समस्यान थियो, अब त्यो पनि अन्त्य होला' किसान गुरुदत्त आचार्यले भने। जैमिनी नगरपालिकाले नगरप्रमुख पशु पल्टन परियोजना र वडा नं १० राङ्खानीमा भैसि प्रबद्र्धन कार्यक्रम समेत सञ्चालनमा ल्याएकाले दुधको उत्पादन थप बढ्ने आँकलन छ।

बलेवा र जैमिनी क्षेत्रमा किसानले व्यावसायिक पशु पालनको काम थालेको धेरै वर्ष भयो। तर बजारको समस्याका कारण पेशाबाट नै बिस्थापित हुने अवस्था आएको जानउँदै बजारका खोजीमा किसान जुटेका हुन्। रासस


प्रकाशित : मंगलबार, असोज १२ २०७८०७:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend