शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

यो वर्ष भारतमा ५० हजार विद्युतीय कार बेच्ने टाटाको लक्ष्य, नेपालमा कति आउला?

मंगलबार, असार २१ २०७९
यो वर्ष भारतमा ५० हजार विद्युतीय कार बेच्ने टाटाको लक्ष्य, नेपालमा कति आउला?

सिप्रदीले नेक्सन ईभीको डार्क एडिसनसमेत नेपाली बजारमा ल्याउँदै छ। कम्पनीका अनुसार नेक्सन ईभी डार्क एडिसन यसैसाता आइपुग्ने छ।

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्स विद्युतीय कार उत्पादनमा निक्कै आक्रामक देखिएको छ। हाल टाटाले भारतीय बजारमा नेक्सन ईभी, टिगोर ईभी र एक्सफ्रेस-टी गरि तीनवटा विद्युतीय कार बिक्री गर्दै आएको छ। २०२३ को मार्च ३१ म अन्त्य हुने यो आर्थिक वर्षमा टाटाले भारतमा ५० हजार विद्युतीय कार बिक्री गर्ने लक्ष्य लिएको छ। 

आर्थिक वर्ष २०२१/२२ मा टाटाले भारतमा १९ हजार १ सय ५ वटा ईभी बिक्री गरेको थियो। यो त्योभन्दा अघिल्लो वर्षको तुलनामा ३ सय ५३ प्रतिशत धेरै हो। अहिले पनि भारतमा विद्युतीय सवारीको बिक्री निक्कै कम छ। तथापी त्यसमा टाटाको हिस्सा सबैभन्दा धेरै रहेको छ। 

सेमिकन्डक्टरलगायत अन्य सामानको आपूर्ति सहज हुने अवस्था आएकाले टाटाले यो आर्थिक वर्षमा विद्युतीयका साथै समग्र प्यासेन्जर कारको बजार बढ्ने अपेक्षा कम्पनीले गरेको टाटा मोटर्सका अध्यक्ष एन चन्द्रशेखरनले बताएको रोयर्टले लेखेको छ। कम्पनीले खरिद गर्ने कच्चा पदार्थको मूल्य स्थिर भएको खण्डमा लिइएको लक्ष्य पूरा गर्न अप्ठेरो नहुने उनले बताएका छन्। 

भारत सरकारले लिएको वातावरण प्रदूषण र कार्बन कटौतीको नीतिमा टाटा मोटर्स पूर्णतः सहयोगी भूमिकामा रहने कम्पनीले जनाएको छ। विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा इन्धन आयात कम हुने र देशमा मुख्य सहरमा भइरहेको प्रदूषण कम गर्न समेत सहयोगी हुने विश्वास टाटा मोटर्सको छ। 

भारत सरकारले २०३० सम्म बिक्री हुने प्यासेन्जर कार मध्ये ३० प्रतिशत विद्युतीय हुने अनुमान गरेको छ। हाल भारतमा बिक्री हुने समग्र कार मध्ये विद्युतीयको हिस्सा करिब १ प्रतिशतमात्र रहेको छ। 

नेपाली बजारमा समेत टाटाको विद्युतीय कार लोकप्रिय हुँदै गएको छ। केही महिनाअघि टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बजारमा ल्याएको नेक्सन ईभी करिब ६ सय भन्दा बढी संख्यामा बिक्री भइसकेको छ।

त्यस्तै कम्पनीले सेडान सेगमेन्टको टिगोर ईभी समेत बिक्री सुरु गरिसकेको छ। टाटा मोटर्सले मागअनुसार सप्लाई दिने हो भने नेपाली बजारमा नेक्सन ईभी ठूलो संख्यामा बिक्री हुनसक्छ।  

सिप्रदीले नेक्सन ईभीको डार्क एडिसनसमेत नेपाली बजारमा ल्याउँदै छ। कम्पनीका अनुसार नेक्सन ईभी डार्क एडिसन यसैसाता आइपुग्ने छ। नेपालमा अहिलेपनि नेक्सन ईभी किन्न चाहनेले केही महिना कुर्नुपर्ने अवस्था छ। संसारभर देखिएको सप्लाई चेन समस्याका कारण टाटाको मात्र होइन सबैजसाृे ब्रान्डका विद्युतीय कार खरिद गर्न चाहनेले केही समय कुर्नु पर्ने अवस्था छ।


प्रकाशित : मंगलबार, असार २१ २०७९०८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend