शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

धनुषामा किसानलाई मल अभाव

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ९ २०७९
धनुषामा किसानलाई मल अभाव

धानबाली लगाउने बेला मल नपाउँदा किसान बर्सेनि मार खेप्दै आएका छन्। कुल ७६ हजार ५३१ हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा करिब ५५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गर्छन्।

धनुषा- धनुषाको औरही गाउँपालिका-३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसके। दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनी निरास भएर रित्तो हात घर फर्किए। 

'धानको बीउ छर्ने बेला मल पाउन सकिएको छैन', उनले भने, 'गहुँको याममा जसोतसो मल पाइएको थियो, अहिले त डिलर चहार्दाचहार्दै निरास बनेको छु।' धानको याममा मल नपाएपछि कसरी खेती गर्ने भन्ने चिन्तामा डुबेको पण्डितको दुःखेसो छ।

धान छर्ने तयारीमा रहेका धनुषाधाम नगरपालिका-४ का श्याम यादव पनि मल नपाएपछि निरास बनेका छन्। 'गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाएँ, तर मल पाउन सकिन', उनले भने, 'कृषि सामग्री कार्यालयमा जाँदा गाउँको डिलरमा जानुभन्छ, डिलरमा जाँदा मल छैन भन्छन् ।' मल नपाएपछि बाली लगाउनै समस्या भएको उनको भनाइ छ। 

धनुषा र महोत्तरीका किसानलाई मल अभाव भएको छ। धानबाली लगाउने तयारीमा जुटेका किसान समयमा पर्याप्त डिएपी मल नपाउँदा निरास बनेका छन्। धानबाली लगाउने बेला मल नपाउँदा किसान बर्सेनि मार खेप्दै आएका छन्। कूल ७६ हजार ५३१ हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा करिब ५५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिने कृषि ज्ञान केन्द्रका सुचना अधिकारी राजेन्द्रप्रसाद यादवले बताए। 

जनकपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा बर्सेनि डिएपी र युरिया मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएपछि किसान मार खेप्दै आएका छन्। धनुषामा बर्सेनि रासायनिक मलको माग बढ्दै जाँदा आपूर्ति भने घट्दै गएपछि यस्तो अवस्था आएको प्रमुख बेचन साहले बताए। चालु आर्थिक वर्ष २०७८/७९ मा केन्द्रले धनुषा र महोत्तरीका लागि युरिया पाँच हजार मेट्रिक टन र डिएपी चार हजार ५०० मेट्रिक टन माग गरेपनि हालसम्म डिएपी दुई हजार ४९५ मेट्रिक टन र युरिया चार हजार ११४ मेट्रिक टन मात्र प्राप्त भएको प्रमुख साहले बताए।

'डिएपी सबै बिक्री भइसकेको छ, युरिया ५५ मेट्रिक टन गोदाममा मौज्दात छ', उनले भने। गत आवमा ६ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी मल माग गरेकामा युरिया तीन हजार २०० मेट्रिक टन र डिएपी चार हजार ५०० मात्र आपूर्ति भएको थियो। यस वर्ष ६०० मेट्रिक टन मल ढुवानी समस्याका कारण आउन नसकेको प्रमुख साह बताउँछन्। रासस


प्रकाशित : बिहीबार , असार ९ २०७९०५:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend