शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

पाल्पाका किसानले पाए धानको बीउ 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ३० २०७९
पाल्पाका किसानले पाए धानको बीउ 

पाल्पा- उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ। चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो।

नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन धानको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए। सो बीउले यहाँका करिब ८ हजार ५ सय रोपनी क्षेत्रफलमा पुग्ने उनले बताए।
   
सरकारले तोकेको मूल्यका आधारमा ५० प्रतिशत अनुदानमा प्रतिकिलो ७८ रुपैयाँ पर्ने सावित्री र साँवा मन्सुली धानलाई ३९ रुपैयाँ, बहुगुडी २ जातको ४१ र सुनौलो सुगन्ध जातको ५२ रुपैयाँमा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमति दिई कृषि सहकारी, समूह र कृषकलाई उपलब्ध गराएको कृषि प्राविधिक प्रज्वल केसीले बताए। 
  
रामपुर-६ को सातबिसे सेरामा करिब २ सय रोपनी क्षेत्रफलमा धान बालीमा कृषि ज्ञानकेन्द्र पाल्पामार्फत बीजवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ।

गत वर्ष वितरण गरिएको उन्नत जातको बीउ यस वर्ष किसानले प्रयोग गरेको पाइएको छ। अनुदानमा उन्नत जातको धानको बीउ पाउँदा किसान खुसी छन्। एग्रोभेटमा प्रतिकिलो १०० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भइरहेको धान नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएपछि किसानलाई आर्थिक भार कम परेको तुलसी रेग्मीले बताए। 
 
गत वर्ष करिब २० टन धानको बीउ वितरण गरिएको थियो। धान उत्पादनको पकेट क्षेत्र मानिएको रामपुरमा करिब एक हजार ८०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। उन्नत जातको बीउ पाउन थालेपछि पानी कम हुने सुक्खा क्षेत्रमा पनि किसानले खेती गर्न थालेका छन्। रासस


प्रकाशित : सोमबार, जेठ ३० २०७९०६:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend