शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

जडिबुटीको ट्रेडमार्क संसारका २० देशमा दर्ता भइसक्यो, नेपालमा चार वर्षदेखि फाइल अड्कियो 

सोमबार, जेठ ३० २०७९
जडिबुटीको ट्रेडमार्क संसारका २० देशमा दर्ता भइसक्यो, नेपालमा चार वर्षदेखि फाइल अड्कियो 

नेपालबाहिरका सरकारले नेपाल हर्ब्सलाई मान्यत दिइसकेका छन्। तर नेपाल सरकारले अझै यसको प्रक्रिया टुंगो लगाएको छैन। 

काठमाडौं- नेपाल सरकारले प्रत्येक ल्याउने बजेटमा एउटा कुरा सायद कहिलै छुटेको छैन। त्यो हो लगानीको वातावरण बनाउने। प्राकृतिक स्रोतमा आधारित उद्योग व्यवसाय प्रबर्द्धन गर्ने र लगानीको वातावरण बनाउने कुरा बजेटमा मात्र होइन मन्त्रीहरूको पनि नियमित भाषण हो। 

बजेट भाषण गर्दा प्रत्येक अर्थमन्त्रीले वाचन सुमधुर सुनिने यो वाचा व्यवहारमा भने कहिलै लागू भएको छैन। उद्योग तथा व्यापारका लागि सहज वातावरण बनाएर विदेशी लगानीकर्ता ल्याउने त परको कुरा स्वदेशीहरूले नै सरकारबाट त्यस्तो वातावरण पाएका छैनन्। 

मन्त्रीहरूले वाचन गरिहने भाषण र व्यवहारमा उल्टो देखिने एउटा उदाहरण हो नेपाली जडिबुटीको ट्रेडमार्क। नेपालमा जडिबुटीको व्यापार गर्नेहरूको संगठन नेपाल हर्ब्स एण्ड हर्बल एसोसिएसनले सामूहिक पहिचानका लागि ट्रेडमार्क दर्ता गर्ने अग्रसरता पाँच वर्ष पहिले नै लिएको थियो। 

नेपालको जडिबुटीलाई विश्व बजारमा पहिचान दिनका लागि एसोसिएसनले ट्रेडमार्क लिन खोजेको थियो। यसका लागि नेपालसहित संसारका मुख्य बजारमा दर्ताको प्रयास गरिएको एसोसिएसनका महासिचव बिक्रम राईले बताए। 

नेपाल बाहिरका सरकारले नेपाल हर्ब्सलाई मान्यत दिइसकेका छन्। तर नेपाल सरकारले अझै यसको प्रक्रिया टुंगो लगाएको छैन। 

‘सरकारी अवधरोध यति धेरै छ कि कुरै छैन। हाम्रो संघबाट हामीले एउटा ट्रेडमार्क दर्ता गर्न खोजेका थियौं। नेपाल हर्ब्स भन्ने। यो कुनै व्यक्ति वा व्यावसायिक फार्मका लागि होइन। थिएन। यो हामीले नेपाल बाहिर २० भन्दा बढी मुलुकमा दर्ता पनि गरिसकेका छौं। जसलाई सम्बन्धित देशका सरकारले यो लोगोलाई नेपाली हो भनेर मान्यता दिने छौं भनिसक्नुभएको छ। विदेशी सरकारले नेपाली ट्रेटमार्कलाई मान्यता दिइसकेका छन्। तर नेपालमा भने दर्ता गर्न पाएका छैनौं। विगत चार वर्षदेखि हामी यही कुरामा लागेका छौं। यसमा हामीले विभिन्न विज्ञहरूलाई ल्यायौं। अरु देशमा दर्ता भइसक्यो नेपालमै रोकिएको छ’ उनले भने। 

नेपालबाहिर दर्ता भइसकेपनि नेपालमा नहुँदा तेस्रो मुलुकमा पठाउने उत्पादन नेपाल हर्ब्स लोगो टाँस्न नपाएको उनले बताए। 
यो नेपालका सबै व्यवसायीहरूले उपयोग गर्न पाउनेगरी प्रक्रिया अघि बढेको छ। यसको एउटा विधान पनि छ त्यही अनुसार प्रयोग गर्न पाउने भनिएको थियो। तर त्यो अहिलेसम्म उद्योग विभागले दर्ता गरेको छैन। नेपालको जडिबुटी भारत गएर लोगो लागेर गएपछि महंगो भएको र यसले गर्दा नेपाली उत्पादनले मूल्य पनि नपाएको राईले गुनासो गरे। 

नेपाली जडिबुटीको एकल पहिचान भएपछि विश्वबजारमा व्यापार गर्न सहज हुने उनको भनाइ छ। तर सरकारले यसमा चासो नदिँदा काम रोकिएको उनको भनाइ छ। 

‘यदि यसको पहिचान भयो भने यहाँ प्रशोधन उद्योग पनि खुल्छन्। फेरि यो पहिचानले गर्दा कुनै एउटा कम्पनी वा उद्योगको एकाधिकार पनि हुन दिँदैन’ राईले भने। 

एसोसिएसनले मागेको ट्रेड मार्कले गर्दा सामूहिक पहिचान हुने भएकाले कुनै निश्चित शक्ति समूहले यसलाई रोक्न खोजेको व्यवसायीहरूले आरोप लगाएका छन्। 


प्रकाशित : सोमबार, जेठ ३० २०७९११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend