शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चीन सरकारले विद्युतीय गाडीमा अनुदान दिने भएकोले नेपालको मूल्यसँग तुलना गर्न मिल्दैन : सीजी मोटर्स

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २७ २०७९
चीन सरकारले विद्युतीय गाडीमा अनुदान दिने भएकोले नेपालको मूल्यसँग तुलना गर्न मिल्दैन : सीजी मोटर्स

काठमाडौं- चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपालमा उच्च गुणस्तर र सस्तो मूल्यमा इलेक्ट्रिक कार उपलब्ध गराएको जनाएको छ।

अत्याधुनिक फिचर्सहरूमा उपलब्ध चिनियाँ इलेक्ट्रिक कार निटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ। निटा ब्रान्ड चिनको अग्रणी मोटर उत्पादक कम्पनी होजोन अटोमोवाइलले उत्पादन गर्दै आएको छ। निटा भीमा उपलब्ध फिचर्स रहेका अन्य इलेक्ट्रिक कारको न्यूनतम मूल्य नेपाली बजारमा ४० लाखभन्दा माथि रहेको छ। 

निटा भीको मूल्यका सम्बन्धमा सामाजिक सञ्जालमा भइरहेका केही टिकाटिप्पणीप्रति सीजी मोटर्स र कार उत्पादक कम्पनी होजोन अटोमोबाइलको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुवै कम्पनीले यस सम्बन्धमा सुनियोजित रुपमा भ्रम श्रृजना गरि उपभोक्ताहरूलाई गुमराहमा पार्ने कोशिस गरिएको भन्दै यथार्थता सार्वजनिक गरेको जनाएका छन्। 

सामाजिक सञ्जालमा चिनियाँ बजारमा उपलब्ध मूल्यसँग तुलना गर्दै यसको मूल्य नेपालमा धेरै रहेको र आधिकारिक बिक्रेताले उच्च नाफा राखिएको जस्ता विषयलाई प्रचार गरिएको छ। उत्पादक र नेपालका लागि आधिकारिक बिक्रेता दुवै कम्पनीले गलत नियतका साथ कसैले तयार गरेको कन्टेन्टले बजारमा भ्रम श्रृजना गर्ने कोशिस भएको भन्दै वास्तविकता सार्वजनिक गरेका हुन्। 

सामाजिक सञ्जालमा भ्रम श्रृजना गर्नुअघि विद्युतीय कारको मूल्य निर्धारण र उत्पादक देशमा उपलब्ध सेवा सुविधाबारे जानकारी हुनु अत्यन्त जरुरी रहेकोमा दुवै कम्पनीले जोड दिएका छन्।

प्रेस विज्ञप्तिमा भनिएको छ- पहिलो, नेपालमा सरकारले विद्युतीय कारमा आइसी इन्जिनयुक्त कारको तुलनामा कर सहुलियत दिएको छ। त्यसबाहेक अन्य कुनै सहुलियत उपलब्ध छैन। तर चीनमा भने सरकारले विद्युतीय कार खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष रुपमा नगद सहुलियत दिएको छ। यसरी दिइएको सहुलियत चिनबाट निर्यात हुने कारमा लागु हुँदैन। 

दोस्रो, चीनमा विद्युतीय कार उत्पादक कम्पनीलाई चीनको केन्द्र सरकार र प्रान्तीय सरकारहरुले विभिन्न किसिमका छुट तथा सहुलियत दिएका छन्। जसका कारण उत्पादित वस्तुको मूल्य कम हुन्छ र त्यसको लाभ चिनियाँ उपभोक्ताले प्राप्त गर्छन् । उदाहरणकोलागि  जेठ १५ मा सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा नेपालमै कार उत्पादन/एसेम्बल गर्ने कम्पनीलाई ५ वर्षसम्म आय करमा ४० प्रतिशत छुट दिने उल्लेख छ। यसरी दिइने विभिन्न किसिमका छुटले उत्पादक कम्पनीको लागत कम हुने र त्यसको फाईदा नेपाली उपभोक्ताले पाउँने हुन्छ। तर निर्यात प्रयोजनका लागि भने यस्ता छुटहरु दिइएको हुदैन।  

तेस्रो, चीनले कार्बन उत्सर्जन कम गरेबापत विद्युतीय कारमा अतिरिक्त सुविधा दिँदै आएको छ। यस्तो सुविधा नेपाल आउने कारले पाउँदैनन्। चौथो, चीनमा बायाँ (लेफ्ट ह्याण्ड ड्राईभिङ) बाट गुड्ने गाडी प्रचलनमा छन्। नेपाललगायत अधिकांश एसियाली देशमा दायाँ (राईट ह्याण्ड ड्राईभिङ) बाट गाडी गुडाउने नियम रहेको छ। आरएचडी गाडी डिजाइन गर्न आरएन्डडी (रिसर्च एन्ड डेभलप्मेन्ट) मा लगानी गर्नुपर्ने हुन्छ । यसरी गरिने लगानी समेत कारको लागतमा जोडिन जान्छ।

उदाहरणका लागि टेस्लाले उत्पादन गर्ने कार आरएन्डी बापत प्रतिकार करिब ११ सय अमेरिकी डलर पर्ने गरेको तथ्यांक छ। त्यसैले आरएचडीमा समेत आएन्डडीको लागत जोडिँदा कारको मूल्य केही थपिएको हुन्छ। त्यसैगरि नेपाली बजारमा उपलब्ध निटा भीको प्रतिस्पर्धी कारको तुलनामा यसको मूल्य (सीआइएफ भ्यालु) करिब समान नै रहेको छ। यसरी हेर्ने हो भने उक्त कारको नेपाली बजारमा मूल्यको तुलनामा निटा भीको बजार मूल्य २ लाख रुपैयाँ कम देखिन्छ। 

चीन सरकारले चिनियाँ उपभोक्ताका लागि विद्युतीय कारमा दिएको अनुदान एवं सहुलियत जोड्दा ५ देखि ६ हजार अमेरिकी डलर हुन्छ। यस्ता विषय अहिलेको इन्टरनेटको जमानामा जोकोहीले सहजै गुगल गरेर हेर्न सक्छ। त्यसैले निटा भीको चिनियाँ मूल्य नेपालमा तोकिएको मूल्यबारे अनावश्यक भ्रम छर्नुपूर्व चिनियाँ सहुलियत बारे अध्ययन गर्न हामी विनम्र आग्रह गर्दछौँ। निटा भीको मूल्यबारे फैलाईएको अफवाहको पछि नलाग्न होजोन र सीजी मोटर्सले उपभोक्ताहरुलाई अनुरोध गरेका छन्। 


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९०५:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend