शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

कृषकका गुरु टीकाराम

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज ९ २०७८
images
कृषकका गुरु टीकाराम

बागलुङ नगरपालिका-४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बिताएका छन्। उनले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हात मात्रै हालेका छैनन्, सफलसमेत भइसकेका छन्, त्यसैले उनलाई कृषिका गुरुसमेत भनिँदै आइएको छ। 

images
images

गलकोट- बागलुङ नगरपालिका-४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बिताएका छन्। उनले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हात मात्रै हालेका छैनन्, सफलसमेत भइसकेका छन्, त्यसैले उनलाई कृषिका गुरुसमेत भनिँदै आइएको छ। 

images
images
images

६५ वर्षका सापकोटाले अहिले पनि अधिकांश समय खेतबारीमै बिताउँछन्। बिहानै उठेर तरकारी बारीमा नगएसम्म सापकोटाको मन मान्दैन। सापकोटा भन्छन्, 'चिनीभन्दा मिर्सी गुलियो, तर मिर्सीभन्दा पनि कृषि गुलियो, म कृषिको गुलियोमा भुलेको छु जति कृषि गर्‍यो उतिनै सन्तुष्टि हुन्छ, कृषि पेसा जति गरे पनि धित नमर्ने कर्म रहेछ।'

images
images

विसं २०४२ देखि व्यावसायिक सोचसहित कृषि कर्ममा लागेका सापकोटा अहिले कृषिबाटै लाखौँ आम्दानी गर्न सफल भएका छन्। अरुको जग्गा बन्दकी लिएर व्यावसायिक कृषि सुरु गरेका सापकोटाले अहिले आफ्नै पाँच रोपनी जग्गामा खेतिपानी गरिराखेको बताउँछन्।

images
images

'कृषि गरेरै तीन वटा छोरी र चार छोरालाई पालनपोषण, पढाइदेखि विदेश पठाउनका लागि कृषिबाटै भएको आम्दानी गरेको हुँ', उनले भने, 'चार छोरालाई जापान पठाएको छु, अहिले उनीहरु पनि कमाउँछन्।' पहिले उनीहरुलाई १२ कक्षासम्म पढाएर जापान आफैँले कृषिबाट कमाएको पैसाले पठाएको सापकोटा बताउँछन्। आफूले कृषि गरेर जग्गा खरिद गरेको र अहिले त्यो जग्गालाई बेच्दा रु दुई करोड बढी पर्ने सापकोटाको भनाइ छ।

सुरुमा तरकारी खेती गर्न तरकारीलाई थाक्रा राख्न बास र डोरी किन्ने पैसा नभएर सन्जिबलको थाक्रा र चामलको बोराको डोरी बनाएर कृषि सुरु गरेको विगत आफ्नो लागि स्मरणीय रहेको उनको भनाइ छ। अहिले आफूले कृषिको बारेमा गाउँमा सबैलाई सिकाउने र बिरुवा वितरणसमेत गरेको सापकोटाले बताए।

बागलुङ नगरपालिकाबाट रु ५० हजार अनुदान लिएर नेट हाउस बनाएर विभिन्न तरकारीको नर्सरी गर्नुभएका सापकोटाले त्यसबाट रु ४० हजारको बिरुवा बिक्री गरिसकेको बताउँछन्। केही बिरुवा गाउँका कृषक साथीलाई निःशुल्कसमेत बाँडेको उनको भनाइ छ।

अहिले एकै सिजनमा ४० हजार रुपैयाँको काक्रो, एक हजार ३ सय बोटबाट ५० हजार रुपैयाँको गोलभेँडा, बन्दा, काउली ५० हजार रुपैयाँको बिक्री गरेको सापकोटा बताउँछन्। एक सिजनमा आफूले तीनदेखि चार लाख रुपैयाँसम्मको तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेको सापकोटाको भनाइ रहेको छ। अहिले उनको खेतबारीमा करेला, घिरौला, बोडी, काउली, बन्दा, टमाटर, चिचिन्नो, फर्सी, काक्रो, खुसार्नी, भ्यान्टा, साग, केरालगायत तरकारी फलफूल छन्।

बागलुङ बजारको नजिक भएकाले तरकारी बेच्न बजारको समस्या नभएको सापकोटाको भनाइ छ। तर तरकारी बेच्न समस्या नभए पनि बिचौलीयाको कारणले आफूले भने जति मूल्यमा तरकारी बिक्री गर्न नपाएको सापकोटाको गुनासो छ। दिनरात नभनी कृषि गरेर उत्पादन गरेको तरकारी सस्तोमा दिनुपर्दा कृषक मारमा परिरहेको सापकोटा बताउँछन्।

'नेपालमा कृषि गर्ने मानिसका लागि धेरै राम्रो सम्भावना र अवसर छ, नगरपालिकाले पनि कृषकलाई अनुदान समय समयमा दिएको छ', उनले भने, 'तरकारीको बजारको भाउ र कृषकले बेच्दा पर्ने मूल्यमा धेरै अन्तर पर्ने भएकाले यस विषयमा पनि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।'

अब आफूलाई आवश्यक पैसा पुगे पनि कृषि कर्मको धित नमरेको उनी बताउँछन्। 'छोराछोरी आफ्नो आफ्नो खुट्टामा उभिसकेका छन्, कृषिले मेरो जीवन परिवर्तन गरिदियो', उनले भने, 'अब थप समय मिलाएर अन्य कृषकलाई समेत कसरी कृषि गरेर सफल कृषक बन्न सकिन्छ भनेर सिकाउने योजना छ।' रासस


प्रकाशित : शनिबार, असोज ९ २०७८०७:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend